Comments Add Comment

तातोपानी नाका नखोलिए व्यवसायी टाट पल्टिन्छन् : महासंघ

Fncci-final

२८ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले सुनकोशीको पहिरोका कारण अवरुद्ध रहेको तातोपानी नाकाको यातायता तत्काल सुचारु नभए व्यवसायीहरु टाट पल्टने बताएका छन् ।

राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले पहिरोका कारण बन्द रहेको तातोपानीको बाटो चाँडो खोल्न सरकारसँग माग गरेको छ । चीनसँगको एकमात्र व्यापारिक नाका तातोपानी बन्द हुँदा सरकारले दैनिक २ देखि ५ करोड रुपैयाँसम्म राजश्व गुमाउँदै आएको महासंघ अध्यक्ष पाण्डेले पत्रकार सम्मेलनमा बताए ।

‘व्यापारिक मौसमका बेला राजमार्ग अवरुद्ध हुँदा चिनियाँ व्यापारसँग सम्बन्धित व्यवसायीहरु संकटमा पर्न थालेका छन्’ पाण्डेले भने- ‘केही समय अवरुद्ध जारी रहेमा व्यवसायीहरु टाट उल्टिने पक्का छ ।’

महासंघ अध्यक्ष पाण्डेले बाटो खुलाउन सरकारले कुनै पहल नगरेको आरोप समेत लगाएका छन् । सरकारले चाहेमा ३ दिनभित्र पहिरो हटाई राजमार्ग सुचारु गर्न सक्ने अवस्था रहँदा रहँदै पनि बेवास्ता गर्दा अहिलेसम्म अनिश्चितता देखिएको उनको गुनासो थियो ।

६ सय लोड कन्टेनर अलपत्र

पहिरोका कारण लोड भएका ६ सय कन्टेनर तातोपानीमा अलपत्र अवस्थामा रहेको व्यवसायीहरुले गुनासो गरे । जुन कन्टेनरमा अर्बौं रुपैयाँको समान रहेको व्यवसायीहरुको दाबी छ । लोड भएका कन्टेनरहरुमध्ये केहीमा रहेका स्याउ, नास्पाती जस्ता फलफूलहरु कुहिन थालेको पनि उनीहरुले गुनासो गरे ।

पहिरो पन्छाएर बाटो खुलाउन व्यवसायीले सम्पूर्ण सहयोग गर्न तयार रहेको जानकारी दिँदै व्यवसायीहरुले होस्टेमा हैंसे गर्न सरकारलाई आग्रह गरेका छन् । सरकारले राजमार्ग खुलाउन भन्दा पनि छुट्टै ट्रयाक खन्न लागेकोप्रति पनि व्यवसायीहरु आक्रोसित भएका छन् ।

स्वतन्त्र उर्जा उत्पादक संघका कोषाध्यक्ष नरेन्द्र प्रजापतीले पहिरोबाट सबैभन्दा बढी प्रभावित हाइड्रोपावर भएको दाबी गरे । उक्त पहिरोका कारण त्यस क्षेत्रका हाइड्रोपावर कम्पनीमात्र नभई समग्र देशभरी नै प्रभाव परेको उनको भनाई थियो । यहि कारण हाइड्रोमा लगानी गर्न लगानीकर्ता तथा बैंकहरु डराउन सक्ने उनको आंकलन छ ।

६७ मेगावाट विद्युत घाटा

सुनकोशी पहिरोका कारण त्यहाँ रहेका विद्युत उत्पादन गृहहरु ६.५ मेगावाटको टाकु, ३ मेगावाटको भैरवकुण्ड, ४५ मेगावाटको भोटेकोशीको प्रशारण लाइनमा क्षति पुगेको छ भने सानिमा हाइड्रोपावर पूर्ण रुपमा डुब्दा विद्युत उत्पादन बन्द भएको छ । यसबाट मुलुकलाई दैनिक ६७ मेगावाट विद्युत घाटा भएको महासंघले बताएको छ ।

यी हाइड्रोपावरबाट आउने दैनिक ८० लाख आम्दानी पनि गुमेको प्रजापतीले गुनासो पोखे । उनले पानीको सतह घटाएर तत्काल विद्युत गृह सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

नेपाल हिमालय सिमापार व्यापार संघका अध्यक्ष निलकण्ठ उप्रेतीले अडि्कएर रहेको अर्बौं रुपैयाँ बराबरको समान नष्ट भएमा पहिरोबाट सबैभन्दा पीडित व्यापारीहरु हुने गुनासो पोखे । उनले वैकल्पिक मार्ग खुलाए पनि २० टन, १० टन समान बोकेका कन्टेनरहरु हिँडाउन कठिन हुने पनि उनले ठोकुवा गरे ।

वैकल्पिक मार्ग खुलाउनुको सट्टा पहिरोलाई विस्तारै खोलेर पुरानै राजमार्गलाई सुचारु गर्न उप्रेतीले जोड दिएका छन् । वैकल्पिक मार्ग आफ्नो घरबाट जान्छ भनेर स्थानिय टाठाबाठाहरु उक्त मार्ग खोल्न कम्मर कसेर लागिपरेको पनि उनले आरोप लगाए । सरकारले चासो दिएमा निजी क्षेत्रले पहिरो फालेर राजमार्ग खुलाउनका लागि इक्यूपमेन्टहरु उपलब्ध गराउन तयार रहेको पनि उनले बताए ।

नेपाल ट्रक तथा कन्टेनर व्यवसायी संघका अध्यक्ष सम्भुराज तिमिल्सीनाले सडक अवरुद्ध हुँदा आफुहरु मर्कामा परेको बताए । आफ्नो रोजीरोटी कन्टेनर भएको बताउँदै कन्टेनर चल्न नपाउँदा खान नपाउने अवस्था सृजना हुन लागेको उनको भनाई थियो ।

तातोपानीमा १२ सय वटा कन्टेनर चल्ने गरेको र ती कन्टेनरमा व्यवसायीहरुको २० अर्ब लगानी रहेको उनले बताए । पहिरोले दुई राष्ट्रबीचको सम्बन्ध विच्छेद गराएको बताउँदै उनले तत्काल बाटो नखुलाएमा नेपालको दशैं महंगो पर्न जाने ठोकुवा समेत गरे ।

पहिरो पीडितलाई ३ लाख सहयोग

यसैवीच  उद्योग वाणिज्य महासंघले सुनकोशीका पहिरो पीडितलाई ३ लाख रुपैयाँ नगद सहयोग दिने घोषणा गरेको छ । महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोगार्थ छुट्टै कोष स्थापना गरेको जानकारी दिँदै सोही कोषमार्फत उक्त रकम पीडितलाई हस्तान्तरण गर्ने बताए ।

सिन्धुपाल्चोकको विपत्तिमा महासंघले आफ्ना जिल्लागत, वस्तुगत, एशोसियट संघ एवं उद्योगीहरुलाई समेत सहयोगका लागि अपील गरेको छ । महासंघका सदस्यहरुबाट नगद तथा जिन्सी समानहरु संकलन भइरहेको र प्रभावित क्षेत्रमा वितरण कार्य पनि जारी रहेको अध्यक्ष पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment