Comments Add Comment

जलविद्युत विकास कम्पनीले बैंकलाई आठ अर्बसम्म पुनरकर्जा दिने

६ भदौ काठमडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले बैंकहरुलाई जलविद्युतमा लगानी गर्न दीर्घकालीन पुनरकर्जा दिने भएको छ ।

बैंकहरुले जलविद्युत आयोेजनामा लगानी गर्दा लिएको व्याजदरमा तीन प्रतिशत व्याजअन्तर (स्प्रेड) राखेर थोक कर्जा तथा पुनरकर्जा सुविधा उपलब्ध गराउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले जानकारी दिए । जसअनुसार कुनै बैंकले जलविद्युत आयोजनामा ७ प्रतिशत ब्याजदरमा लगानी गर्दा उक्त बैंकलाई जलविद्युत विकास कम्पनीले ४ प्रतिशत ब्याजदरमा  Jalbidhut-bikas-compunyकर्जा उपलब्ध गराउने छ ।

नेपाल राष्ट्र बैंकले पनि बैंकहरुलाई ६ महिनाका लागि सस्तो दरमा पुनरकर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । ‘जलविद्युतमा लगानी गर्दा चार/पाँच वर्षसम्म प्रतिफल आउँदैन, त्यसैले हामीले तीन देखि पाँच वर्षसम्मका लागि पुनकर्जा सुविधा उपलब्ध गराउने भएका हौ’ रौनियारले भने ।

कम्पनीले १० देखि १५ मेगावाटसम्मका जलविद्युत परियोजनामा लगानी गर्न चाहने बैंकहरुका लागि यो सुविधा उपलब्ध गराउने छ । एक परियाजनाका लागि ४० करोड र दुई वा सोभन्दा बढी आयोजनाको समुहमा १ अर्ब रुपैयाँसम्म पुनरकर्जा सुविधा उपलब्ध गराइने रौनियारले जानकारी दिए । यस्तो सुविधामा कम्पनीले तत्कालै आठ अर्ब रुपैयाँसम्म लगानी गर्नसक्ने उनको भनाई थियो ।

कम्पनीको यो सुविधाको उपयोग गर्न बैंकले विभिन्न क्राइट एरिया पुरा गर्नुपर्छ । विगत तीन वर्षदेखि खुद नाफामा रहेको, निस्क्रीय कर्जा ५ प्रतिशतभन्दा बढी नभएको, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतभन्दा बढी नभएको, यसअघि जलविद्युतमा प्रवाह गरेको कर्जा शतप्रतिशत असल भएको, राष्ट्र बैंकले व्यवस्थापन टेकओभर नगरेको र राष्ट्र बैंकको अन्य कारवाहीमा नपरेको बैंकले मात्रै यो सुविधाका लागि कम्पनीमा आवेदन दिनसक्ने रौनियारले बताए ।

जलविद्युत आयोजनाहरुमा रकमको अभाव हुन नदिने उदेश्यले तत्कालीन सरकारले ०६८ साउनमा यो कम्पनीको स्थापना गरेको थियो ।

कम्पनीले हालसम्म नबिल बैंकले लिड गरेको ४० मेगावाटको मिस्त्री खोला, लक्ष्मी बैंकले लिड गरेको २३.५ मेगावाटको शोलुखोला, प्राइम बैंकले लिड गरेको २७ मेगावाटको दोर्दीखोला र २७ मेगावाटको खानीखोलामा २ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ ।

त्यसैगरी ८२ मेगावाटको तल्लो शोलु, ३० मेगावाटको न्यादीखोला, २५ मेगावाटको कावेली ‘बी’, २१ म्ोगावाटको हेवाखोला, २० मेगावाटको बाग्मती र १८ मेगावाट उत्पादन क्षमताको माथिल्लो शोलु जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धमा अध्ययन भइरहेको सीइओ रौनियारले जानकारी दिए ।

त्यस्तै, कम्पनीले क्रस बोर्डर प्रसारण लाइन स्थापना गर्ने कम्पनी पावर ट्रेड कम्पनी नेपालमा १४ प्रतिशत -६ करोड रुपैयाँ) इक्वीटी सेयरमा लगानीसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment