Comments Add Comment

सभासद मनोनयनमा कांग्रेसभित्र विवाद

१३ भदौ काठमाडौं । २६ सभासद मनोनयनको विषयलाई लिएर नेपाली कांग्रेसमा चर्किएको विवाद अझै साम्य भएको छैन । सभासद मनोनयन अदालतको फैसलाअनुसार गर्ने वा पुनरावलोकनको सुनुवाइ कुर्ने भन्नेमा विवाद छ ।
Nepali_Congressसमानुपातिकको बन्द सूचीमा परेर सभासद हुन नपाएका र प्रत्यक्ष निर्वाचनमा पराजित प्रभावशाली नेताहरुले बरु केही दिन पर्खेर भने पनि २६ मा आफूलाई पार्न सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवामाथि दबाव दिएका छन् ।
दबाव दिँदै हस्तीहरु
केन्द्रीय नेता दिलेन्द्रप्रसाद बडु, दीपकुमार उपाध्याय, मीना सुब्बा हरिहर विरहीजस्ता कोइरालानिकटका प्रभावशाली व्यक्ति र सुरेन्द्र पाण्डे, डिला संग्रौलाजस्ता देउवानिकट हस्तीले आफूहरुलाई नछुटाउन दबाव बढाएका छन् ।
बडु र उपाध्याय प्रत्यक्ष निर्वाचनमा पराजित हुन् भने विरही, सुब्बा, पाण्डे, संग्रौला समानुपातिकमा परेर सभासद बन्न नपाएका नेता हुन् ।
पैसाको चलखेल
पाण्डेले अनलाइनखबरसँग भने- केही नेताले पैसावाल व्यक्तिलाई सभासद बनाइदिन्छु भनेर बोकेका छन्, सभापति सुशील दाइ निरीह हुनुहुन्छ, त्यसैले उनीहरु अदालतको फैसलाको आडमा हतार-हतार आफ्ना मान्छे सभासद बनाउन खोज्दैछन् ।
नेता उपाध्यायले अदालतको फैसला संविधानको भावना विपरीत भयो भनेर सरकार आफैं पुनरावलोकनका लागि अदालत गएका बेला त्यो मुद्दा विचाराधीन अवस्थामा रहेकाले सभासद मनोनयन गर्न नहुने बताए ।
कोइराला र देउवाले बाँडे
कांग्रेसले पाएको भनिएका ९ सिटमध्ये शेेरबहादुर देउवा पक्षले  ४  सिट र संस्थापन पक्षले ५ सिट बाँड्ने सहमति सभापति सुशील कोइराला र देउवाबीच भएको एक नेताले बताए ।
देउवाले पार्टी सभापति कोइरालालाई ४जनाको नाम बुझाइसकेका छन् । तर, अदालतको फैसलाअनुसार मनोनयन गर्दार् दुबै पक्षले छानेका नाम अयोग्य हुने भएकाले अर्को लिष्ट पनि बन्न लागेको छ ।
यसअघि देउवाले बुझाएका नामहरुमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, महिला संघकी अध्यक्ष डिला संग्रौला, वरिष्ठ अधिवक्ता हरिहर दाहाल र वीरगञ्जका व्यवसायी अनिल रुगंटा थिए ।
यीमध्ये पाण्डे र संग्रौला समानुपातिकको बन्द सूचीमा रहेकाले अदालतको फैसला अनुसार उनीहरु सभासद हुन पाउँदैनन् । संस्थापन पक्षबाट प्रवक्ता दिलेन्द्र बडू, दीपकुमार उपाध्याय, वरिष्ठ पत्रकार हरिहर विरही, पुरुषोत्तम बस्नेत, लक्ष्मण घिमिरे र मीना सुब्बाको नाम आउन लागेको थियो ।
तर, अदालतको फैसलाअनुसार प्रत्यक्ष निर्वाचन हारेका बडु र उपाध्यायका साथै समानुपातिकको बन्द सूचीमा परेका विरही र सुब्बा सभासद हुन अयोग्य छन् ।
कोइराला पक्षमै किचलो
संस्थापन पक्षबाट सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले पर्यटन व्यवसायी राजेन्द्र बजगाईको नाम राख्न दबाब दिएपछि कोइराला पक्षमै समस्या थपिएको छ । प्रधानमन्त्री कोइराला भने बजगाईको नाम राख्न चाहँदैनन् ।
सोमबारसम्म मनोनयन ?
सरकारले आउँदा सोमबारभित्रै संविधानसभामा रिक्त २६ को मनोयन गर्ने  सम्भावना रहेको स्रोतले जनाएको छ ।  नेकपा एमाले र एकीकृत माओवादीले प्रधानमन्त्री कोइरालालाई नाम बुझाउनेवित्तिकै मन्त्रीपरिषदको बैठक बस्ने र नाम अनमोदन गर्ने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
रिक्त २६ मध्ये कांग्रेसले ९, एमालेले ८ र एकीकृत माओवादीले ४ सिट पाउने भएका छन् । बाँकी ५ सिट राप्रपा, राप्रपा नेपाल र साना दलले पाउने भएका छन् । तीमध्ये राप्रपा र राप्रपा नेपालले एक/एक सीट पाउने छन् भने लोकतान्त्रिक फोरम, तमलोपा, फोरम नेपालले पनि एक/एक सिट पाउने छन् । राप्रपा नेपालले नपाएको अवस्थामा मात्रै सद्भावना पार्टीले एक सिट पाउने सम्भावना रहेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment