Comments Add Comment

सेवा विस्तार तथा गुणस्तर सुधारमा टेलिकमको जोड, डाटामा लगानी बढाउने

NTC Programme Lunch 2071-5-15 (2)
टेलिकमकाे यस वर्षका कार्यक्रमका बारेमा जानकारी दिँदै निमिक्त प्रबन्ध निर्देशक बुद्धिप्रसाद अाचार्य, प्रवक्ता कुणकेशरी प्रधान लगायत

१५ भदौ, काठमाडौं । नेपाल टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि यस वर्ष करिव १८ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

टेलिकमले इन्टरनेट सेवा विस्तार तथा गुणस्तर सुधारलाई विशेष जोड दिने जनाएको छ । ‘पछिल्लो समय इन्टरनेट डाटा सेवामा प्रतिस्पर्धा बढेको छ, टेलिकमलाई डाटा सेवामा प्रतिस्पर्धी बनाउन चाहान्छौंं’ टेलिकमका निमिक्त प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले भने- ‘इन्टरनेट सेवामा यति लगानी गर्ने भनेर रकम विनियोजन नगरे पनि लगानीको प्राथमिकता यहि हुनेछ ।’

टेलिकमले यस वर्ष वाईम्याक्स सेवा विस्तारका लागि ४० करोड रुपैयाँ लगानी गर्ने निमिक्त प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए । थ्रिजी सेवा ७५ जिल्लामा पुगे पनि शहर केन्द्रीत रहेको बताउँदै उनले यसलाई देशका कुना काप्चासम्म विस्तार गर्न जोड दिइने बताएका छन् ।

वाईम्याक्स प्रविधिमार्फत हटस्पट स्थापना गरि वाईफाई सेवा वितरण गर्ने कार्यलाई पनि टेलिकमले जोड दिने भएको छ । यस वर्ष यो सेवा मुलुकका ७५ वटै जिल्ला सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्रहरुमा सञ्चालनमा ल्याउने टेलिकमकी प्रवक्त गुणकेशी प्रधानले बताइन् ।

हटस्पट सेवा देशैभर

‘एकपटक पासवर्ड लिएपछि ग्राहकले सोही पासवर्डबाट अन्य ठाउँमा पनि इन्टरनेट चलाउन पाउन भन्ने हाम्रो अपेक्षा हो’ निमिक्त प्रबन्ध निर्देशक आचार्यले भने- ‘यही कुरालाई ध्यानमा राखेर हामीले हटस्पट इन्टरनेट सेवा विस्तार आक्रमक रुपमा अगाडी बढाउँछौं ।’

परम्परागत टेलिफोन सेवाको तुलनामा मोबाइल तथा डाटा सेवाको माग बढ्दै गएपछि टेलिकमले आगामी दिनमा डाटा सेवाको विस्तारका लागि वायरलाइन/वायरलेस ब्रोडब्यान्ड सेवालाई थप प्रबर्द्धन गर्ने भएको छ ।

शहरी क्षेत्रका ग्राहकहरुलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न राजधानी लगायत मुलुकका मुख्य-मुख्य शहरहरुमा ‘फाइबर टु दी होम’ सेवा जडानलाई विशेष जोड दिने बताइएको छ । यसै योजनाअनुरुप टेलिकमले छिट्टै दरबारमार्ग र काठमाडौं प्लाजामा सेवा सञ्चालन सुरु गर्ने भएको । यो सेवा सञ्चालन पश्चात गुणस्तरीय भ्वाइस तथा डाटा सेवा उपलब्ध हुनेछ ।

एडीएसएलकाे क्षमता विस्तार

टेलिकमले यसै वर्ष एडीएसएल इन्टरनेट सेवाको क्षमता समेत विस्तार गर्ने प्रवक्ता प्रधानले बताइन् । उनका अनुसार यस आर्थिक वर्षमा एडीएसएल सेवाको थप ३२ हजार २ सय २७ लाइन वितरण गर्ने कार्यक्रम तय गरिएको छ । एडीएसएल सेवामा ग्राहकहरुबाट आउने गुनासाहरु कम गर्ने गरी गुणस्तर सुधार गर्ने प्रतिवद्धता टेलिकमले जाहेर गरेको छ ।

NTC Programme Lunch 2071-5-15 (3)
टेलिकमका निमिक्त प्रबन्ध निर्देशक अाचार्य, प्रवक्ता प्रधानसहित अन्य उच्च अधिकारीहरू

इन्टरनेट डाटा सेवाको गुणस्तर सुधार गरि टेलिकमले यस वर्ष १५ देखि २० लाख इन्टरनेट ग्राहक थप्ने लक्ष्य राखेको निमिक्त प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए । आगामी आर्थिक वर्षमा ण्प्रगतीको आधार डाटा सेवा लिने ग्राहकलाई बनाउने उनको भनाई थियो ।

साढे २२ लाख टेलिफाेन वितरण गर्ने

टेलिकमले यसै वर्ष २२ लाख ५८ हजार १८३ लाइन टेलिफोन वितरण गर्ने जनाएको छ । जसमध्ये जिएसएम सेवातर्फ २० लाख मोबाइल, सिडिएमए सेवातर्फ २ लाख, ल्यान्डलाइन्तर्फ २५ हजार ९ सय ५६ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य राखिएको छ ।

मोबाइल सेवाप्रति ग्राहकहरुको बढ्दो रुचीलाई ध्यानमा राखी मुलुकभर गुणस्तरीय थ्रिजी सेवा उपलब्ध गराउन थप बीटीएस जडान कार्यलार्य तिब्रता दिने प्रवक्ता प्रधानले बताइन् । नारायणी र जनकपुर अञ्चलका तराइका जिल्लाहरुमा विद्यमान पुराना उपकरणहरुलाई थप क्षमतायुक्त नयाँ उपकरणहरु मार्फत प्रतिस्थापन गरिने भएको छ ।

मोबाइल सेट निर्माता तथा विक्रेता कम्पनीहरुसँग बन्डलिङ गरेर समेत मोबाइल सेवाको विक्री वितरणलाई थप तिब्रता दिने टेलिकमको योजना छ ।

अाइपी सीडीएमए ग्रामिण क्षेत्रमा

टेलिकमले यस आर्थिक वर्षमा आइपी सीडीएमए सेवाको विस्तार गरी ७५ जिल्लाकै ग्रामीण क्षेत्रमा सेवा पुर्‍याउने लक्ष्य राखेको छ । डाटा सेवाको बढ्दो मागलाई सम्बोधन गर्न टेलिकमले आइपी सीडीएम मोबाइल सेट तथा डाटा कार्ड निर्माता कम्पनीसँग सहकार्य गरी सेवाको बिक्री वितरण गर्ने कार्यलार्इ निरन्तरता दिने जनाएको छ ।

ग्रामीण तथा तथा शहरोन्मुख ग्रामीण क्षेत्रहरुमा नयाँ प्रविधिका ‘नेक्स्ट जेनेरेशन नेटवर्क’ उपकरणहरुबाट भ्वाइस, डाटा र अन्य सेवाहरु प्रदान गरिने भएको छ ।

सबै सेवाका ग्राहकहरुको गुनासालाई केन्द्रीकृत गरी छिटो तथा सरल रुपमा सेवा प्रदान गर्न अत्याधुनिक कस्टोमर कन्ट्याक्ट सेन्टर सञ्चालनमा ल्याउन पनि टेलिकमले जोड दिने भएको छ । कम्पनीका सेवाहरुबारे जानकारी दिन मुलुकका प्रमुख शहरहरुमा कस्टोमर एक्स्पेरियन्स सेन्टर सञ्चालनमा ल्याउने प्रवक्ता प्रधानले बताइन् ।

अधिक तरलता व्यवस्थापन गरिने

टेलिकमले लगानी विविधिकरणको अवधारणा अनुरुप कम्पनीसँग रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्न लगानीका अन्य क्षेत्रहरु पहिल्याई जोखिम न्यूनीकरण हुने गरी उच्च प्रतिफलयूक्त व्यावसायिक क्षेत्रमा लगानी गरिने बताइएको छ ।

असार मसान्तसम्म टेलिकमका टेलिफोन ग्राहक संख्या एक करोड ९ लाख ४ हजार ४ सय ६२ पुगेका छन् । टेलिकमले गत आर्थिक वर्षमा १७ लाख २८ हजार ४ सय २ लाइन टेलिफोन वितरण गरेको छ ।

इन्टरनेट ग्राहक संख्या ४७ लाख

गत असार मसान्तसम्ममा कम्पनीको इन्टरनेट ग्राहक संख्या ४७ लाख ३ सय ५२ पुगेको प्रवक्ता प्रधानले जानकारी दिइन् । यो संख्या २०७० असार मसान्तको भन्दा १४ लाख २२ हजार ६ सय ८५ ले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment