सिर्जनशील अराजकताको आयु १५ वर्ष भएछ । राजन मुकारुङसँगको मेरो भेट पनि लगभग त्यसबेलैको होला । उहाँको जीवनपथको यात्राका डोबहरु धेर थोर मैले हेरेको छु ।
सिर्जनशील अराजकता र पहिचानको प्रश्न
सिर्जनशील अराजकता । तीनवटा शब्द त्यसका वरिपरि थिए । एउटा सिर्जनशील थियो, अर्को अराजकता थियो र अर्को नश्लीय चेतना थियो । त्योबेला सनातनी सौन्दर्यशास्त्र, समाजशास्त्र वा मार्क्सवादको दृष्टिकोणबाट हेर्दा ती अत्यन्त अन्तरविरोधी कुरा लाग्थे ।
नारायणजी सरकारी मार्क्सवाद भन्नुहुन्छ । सरकारी मार्क्सवादका नियम पद्दति छन् । त्यसलाई अलिकति संकुचित दृष्टिकोणले भन्दा पिंजडावद्ध पनि छ । त्यसभित्रबाट हेर्दाखेरि सिर्जनशीलता र अराजकताको संगति कहीँ पनि हुँदैन ।
नश्लीय चेतना र नश्ल भन्नेवित्तिकै दक्षिण अफ्रिकाको नश्लवाद बुझिन्थ्यो । दक्षिण अफ्रिकाको नश्लवाद भनेको त जातिवाद हो । त्यसैले सिर्जनशील अराजकताको सन्दर्भ, त्यसको पृष्ठभूमिमा रहेको अभिप्राय र त्यसका कर्ताहरुको आग्रहलाई पर्वाहै नगरिकन नेपालका सनातनी चिन्तक, सर्जक र समालोचकहरुले तिनीहरुलाई जातिवादी, सदभाव विरोधी, विखण्डनवादी अनेक कुरा भने । जुनबेलामा यो विचार अथवा दर्शनको प्रक्षेपण गरियो, त्यतिबेलाको परिवेश अहिलेको जस्तो फराकिलो, उदार र विमर्शमय थिएन ।
अहिले गणतन्त्रको स्थापनापछि बहुल प्रवृति भएको नेपाल संघीयतामा जाने संकल्प नै भइसकेपछि पहिचानको मुद्दाका बारेमा कुरा गर्न अहिले अलिकति सजिलो छ । यद्यपि अहिले पनि एक त पहिचानको सही ढंगले परिभाषा भएको छैन । र, पहिचान प्रदान गर्न नचाहने तत्वहरुले यसलाई विभिन्न किसिमले अपव्याख्या र अपभ्रंशित गरेका छन् ।
पहिचानमा खासगरी दुईवटा कुरा थिए, एउटा इतिहासको उत्खनन गर्ने । इतिहासको उत्खनन गर्दा नेपालको ऐतिहासिक सामाजिक सन्दर्भमा नेपालका सीमान्तीकृत जातिहरु, खासगरी जनजाति, मधेसी आदि इत्यादि कसरी उत्पीडनमा परे, उनीहरुमाथि कहाँनेर भेदभाव भयो, तिनका के-के कुराहरु दमित भए, तिनका के-के कुारहरु अपमानित भए, केके कुराहरु अपहरित भए, त्यसलाई हेर्ने ।
नम्बर दुई, उत्पीडित जातिहरुले नेपालको इतिहासमा के भूमिका खेले, नेपालको सभ्यतामा, संस्कृतिमा र सामाजिक सदभावमा केके योगदान गरे ? यसलाई हेर्नु थियो । उत्खनन र आफ्नो इतिहासमा भएका गौरवमय तत्वहरुको खोजी जसलाई अस्थित्व भनिएको थियो ।
कवि उपेन्द्र सुब्बाको जाँ…. जीन्दगी
उपेन्द्र सुब्बा हेर्दा र बोल्दा ‘लाटो’जस्तो देखिनुहुन्छ । तर, मान्छे चौपट्टै बाटो हो । उहाँले भन्नु भो, दुईजना टाठाबाठाहरुले सिर्जनसील अराजकताको आन्दोलन सुरु गरे । दुईवर्षपछि मलाई मलाई भर्ती गरे । मलाई भर्ती गर्दा भन्नुपर्ने कुरा सकिएका थिए । मलाई तिनले जुवामा नारे ।
यो अभिव्यक्तिभित्र ठूलो बठ्याइँ छ । त्यो बठ्याइँ के हो भने यो चिन्तनमा सिर्जनाको दृष्टिकोणबाट ती दुईजनाको भन्दा मेरो ठूलो योगदान छ भनेको हो । हाङयुग अज्ञात र राजन मुकारुङले अत्यन्त क्लिष्ट नेपालीमा भाषाको संस्कृतीकरण गर्ने पुरेतहरुलाई गाली गर्दै त्यतिकै क्लिष्ट भाषामा आफ्नो दर्शन प्रक्षेपण गर्नु भो । वहाँहरुको त्यो सिर्जनशील अराजकता अन्तरगत जुन शास्त्र आयो, त्यो वासुदेव त्रिपाठीको भन्दा कठिन भाषामा थियो । सौभाग्यवस उपेन्द्रलाई धन्यवाद भन्नुपर्छ, यिनले त्यसो गरेनन् ।
तर, उपेन्द्रले यो आन्दोलनको मर्म र सार अभिव्यक्त गर्ने गरी कविता लेखे । त्यो कविताको चार हरफ म तपाईहरुलाई सुनाउँछु ।
म त लेखिदिन्छु
जाँ….. जीन्दगी ।
के के नमिलेको
के के नपुगेको ।
सिर्जनशील अराजकताको मर्म यही हो । मैले यो भनिरहँदा तपाई जनजातिहरुलाई खासै अश्लीलता बोध नहुने यो भनिरहेको सुनिरहेको थेगोजस्तो लाग्न सक्छ । तपाई जो गैरजनजाति हुनुहुन्छ, यो कविताभित्रको कडा संस्कृत शब्द तपाईलाई दिगमिग लागिसक्छ । तपाईलाई अप्ठ्यारो भइ नै सक्यो । नेपाली समाज यही हो ।
नेपालको सौन्दर्यशास्त्र, सौन्दर्य चेतना, विधि अथवा समीक्षकका जेजति मानकहरु छन्, ती मानकहरु विराट समाजको एउटा जातिका उच्च तहका केही मानिसहरुले बनाएका छन् । समाजका धेरै कुराहरु त्योभन्दा बाहिर छन् । संस्कृति बाहिर छ । भाषा बाहिर छ । सम्वेदना बाहिर छ र आग्रह, अपेक्षा अनि सपनाहरु बाहिर छन् ।
यो कविताले प्रक्षेपण गर्न खोजेको आग्रह के हो भने यो नेपालमा तिमीमात्रै छैनौ । मानक तिम्रोमात्रै होइन । मूल्य प्रणाली तिम्रोमात्रै होइन । यही समाजमा हामी पनि छौं । हाम्रो मानक छ । हाम्रो मूल्य प्रणाली छ । हामी पनि यो विराट राज्यभित्र हामी पनि समाहित हुन चाहन्छौं । त्यसको अंश भागको हामी दाबी गर्छौं । सिर्जनशील अराजकताको समग्र सार भनेको यति नै हो । यसलाई तपाईले विषद् व्याख्या गर्नुभयो भने सबै कुरा बुझिन्छ ।
राजन मुकारुङ : ओढारगमनको विपक्षमा
राजन मुकारुङको पछिल्लो पुस्तक ‘फेरिँदो सौन्दर्य’ मा धेरै कुराहरु छन् । सामान्यतः अधिकांश लेखकहरुको भूमिका सर्जकको हुन्छ । तिनले जगतलाई हेर्छन्, वोध गर्छन्, ग्रहण गर्छन्, जगतका बारेमा एउटा विम्व बनाउँछन् र इतिहासको खास सन्दर्भमा त्यसलाई ‘लोकेड’ गरेर त्यसलाई अभिव्यक्त गर्छन् । ती सर्जकहरु हुन् । सबै सर्जकहरु चिन्तक, समीक्षक र मिमांशक हुँदैनन् । तर, राजन मुकारुङमा तीनवटै विशेषता छन् । उहाँ सर्जक हुनुहुन्छ, उहाँ आलोचक हुनुहुन्छ र उहाँ चिन्तक पनि हुनुहुन्छ । उहाँको आफ्नो विशिष्ट चिन्तन, दर्शन र आग्रह छन् ।
मुकारुङ केही कुराहरुलाई जबरजस्त निषेध गर्नुहुन्छ । नित्सेको शुन्यवादसँग उहाँको असहमति छ । आजको बजार पूँजीवाद जो मत्स्य न्यायमा आधारित छ, त्यो वृद्ध पूँजीवादको कुटील आवरणमा आएको जुन उत्तरआधुनिकतावाद छ, त्यसलाई उहाँ निषेध गर्नुहुन्छ । त्यसप्रति उहाँको अस्वीकृतिभाव छ ।
सिसिफसको कथा, जो अधोगतिको कथा हो, निराशाको कथा हो, जो पश्चगमनकै कथा हो, त्यसलाई उहाँ निषेध गर्नुहुन्छ । त्यतिमात्र होइन, उहाँले देश सुब्बाको आदिवासी भन्ने उपन्यासमा पहिचानका नाममा ओढारतिर, जंगलतिर जाने जुन आग्रह छ, त्यसलाई पनि उहाँ निषेध गर्नुहुन्छ । यसरी उहाँको निषेधको एउटा लामो श्रृंखला छ ।
त्यसपछि उहाँको स्वीकृतिमा दुईवटा कुरा देखिन्छन् । एउटा मुन्धुमी मान्यता र अर्को मार्क्सवाद । उहाँ मुन्धुमी मान्यता नै मार्क्सवाद हो भन्नुहुन्छ । त्यसलाई अर्को ढंगले मार्क्सवाद नै मुन्धुमी मान्यता हो भन्न पनि सकिएला । मैले चाँहि यो बुझेको छैन । यो सन्दर्भ पहिलोपटक मैले राजन मुकारुङको पुस्तकमा पढिरहेको छु । यो बुझ्नुपर्ने हुन्छ ।
तर, धेरै कुराको अस्वीकृति र केही कुराको स्वीकृतिका वीचमा के देखिन्छ भने उहाँ जीवनप्रति सकारात्मक हुनुहुन्छ । उहाँ प्रगतिशील दृष्टिकोण राख्नुहुन्छ । आफ्नो जाति समुदायबाट पहिचानका वीचमा कसैले पश्चगमन, ओढारगमनको आग्रह गर्छ भने त्यसमा उहाँको कठोर विमति छ । राजन मुकारुङको पहिचानको आग्रह र त्यसको अभिष्ट प्रगतिशील छ । पश्चगामी छैन । यथास्थितिमा अड्किने खालको पनि छैन ।
मुकारुङका अन्तरविरोधी विचार
‘फेरिँदो सौन्दर्य’मा दुई-तीन थरिका रचना छन् । सँगसँगै केही अन्तरविरोधी कुराहरु पनि छन् । उहाँले विशिष्ट कृतिका रुपमा सिरिसको फूललाई मनपर्ने कृतिका रुपमा अघि सार्नुभएको छ । सँगसँगै चिना हराएको मान्छेको पनि चर्चा छ । इन्द्रबहादुर राईको ‘मार्क्सवादी चिन्तन साहित्यको अपहरण’को पनि चर्चा छ ।
सिरिसको फूलबारे : मोहनविक्रम सिंहले पारिजातको सिरिसको फूलका बारेमा भनेको म सम्झन्छु । अभिप्राय उहाँको, शब्द मेरो- ‘सबैभन्दा राम्रो कृति सिरिसको फूल हो, सबैभन्दा नराम्रो कृति पनि सिरिसकै फूल हो ।’
शिल्प शैलीको दृष्टिकोणबाट, भन्ने तरिकाको दृष्टिकोणबाट विभिन्न उपकरणको माध्यमले पाठकमा प्रभाव पार्ने माध्यमको दृष्टिकोणबाट सिरिसको फूल गजपको कृति हो । तर, चिन्तनको दृष्टिले, जीवनलाई हेर्ने दृष्टिले यो धेरै गतिलो कृति होइन । यसले जीवनका सबै मूल्यहरुलाई निषेध गर्छ ।
जीवन निराशामात्र होइन । निराशा जीवनको एक अभिन्न अंग हो । तर, निराशा जीवनको मूलवृत्ति होइन । तपाईमा निराशामात्र छ भने तपाईमा गर्ने एउटामात्रै काम बाँकी रहन्छ, त्यो हो आत्महत्या । जवसम्म तपाई आत्महत्या गर्नुहुन्न, के कुरा बुझिन्छ भने तपाईमा जीजीविषा छ । तपाईमा यो जीवनलाई राम्रो र समुन्नत बनाउने आग्रह छ, चेष्टा छ ।
इन्द्रबहादुर राईबारे :
इन्द्रबहादुर राई नेपाली साहित्यका छुट्टै एउटा आयाम हुन् । उनका योगदानमाथि मेरा कुनै प्रश्न छैनन् । तर, जहाँसम्म राजन मुकारुङको पुस्तकमा उल्लेख गरिएको जुन चिज छ, यसले कम्युनिष्टहरुलाई निन्दा गर्छ । मार्क्सवादलाई निषेध गर्छ । समाजका प्रगतिशील प्रवृत्तिहरुलाई निषेध गर्छ ।
राजनले यो कृतिलाई पनि सकारात्मक ठाउँमा राख्नुभएको छ । उहाँले व्याख्या गर्न नभ्याएको हो भने व्याख्या हामी सुन्दै जाऔंला । तर, यसलाई सकारात्मक कृतिहरुको लहरमै राखिएको हो भने यो कुराचाँहि विचारणीय छ ।
चिना हराएको मान्छेबारे : चिना हराएको मान्छे, यो किताब सबैभन्दा बढी बिकेको भनिन्छ । साहित्यका असल कृतिहरु सधैं बिक्छन् । तर, बिक्रीको आँकडा र अंकको आधारमा साहित्यिक कृतिको उत्कृष्ठताको मापन काँहि पनि हुँदैन ।
खासगरिकन बजार आतंक चलेका बेलामा के बिक्छ ? केही सेलिब्रेटी नाम गरेका अनुहार बेचिन्छन् । विज्ञापनबाजी बेचिन्छ । सेन्सेसन बेचिन्छ । कपट जालझेल तिगडम यी सब कुरा बेचिन्छन् । चिना हराएको मान्छे कुनै गम्भीर कृति नै होइन ।
एक त त्यो जसको नाममा छ, त्यो उनले लेखेकै होइन होला । त्यो त कुनै लेखन्दास भर्ती गरेर लेखिएको माल हो । त्यो कथ्यको हिसाबले, ऐतिहासिक सन्दर्भको हिसाबले, मूल्यको हिसाबले, समयको गति र धडकनको हिसाबले त्यो कुनै कामको चिज होइन । किन बिक्छ ? त्यो बजार आतंकका कारणले बेचिइरहेको छ ।
गम्भीर साहित्य कुनै पनि समाजमा सीमान्तीकृत हुन्छ । गम्भीर चिन्तन, गम्भीर विवेचना, गम्भीर सिर्जना जहिले पनि सीमान्त हुन्छ । सीमान्तका विभिन्न पत्रहरु हुन्छन् । सीमान्तभित्र पनि अति सीमान्तहरु हुन्छन् । दलित अति सीमान्त हो । जनजाति अति सीमान्त हो । मधेसी पनि अति सीमान्त हो । त्यसकारण कृतिहरुलाई सन्दर्भित गर्दा गम्भीर लेखकले त्यसलाई म कहाँ राख्दैछु र पाठकलाई त्यसले के भावना सम्प्रेषण गर्छ भन्ने कुरा विचार गर्नुपर्छ ।
सबै चिज पढ्नुपर्छ । ज्ञानका सबै शास्त्रहरुप्रति उदार हुनुपर्छ । व्यापकरुपमा पठन गरिनुपर्छ । तर, आफ्नो दृष्टिकोण त हुनुपर्छ । जस्तो राजन मुकारुङले भन्नु भो, मेरो दृष्टिकोण भनेको एउटा मुन्धुम हो, एउटा मार्क्सवाद हो । यो कुरामा अडिने हो भने मूल्य प्रणालीमाथि चिन्तन गर्दा ठीक अथवा बेठीक, लोकोपयोगी अथवा हानिकारक विचार गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
मदन पुरस्कार र मुकारुङको फुर्क्याइँ
चाखलाग्दो छ । सिर्जनशील अराजकताका नायक । मतुवाली । राजन मुकारुङ लोकसेवा पास गरेको लेखक हुनुहुन्छ । मदन पुरस्कार त पड्काउनु भो नि । साहित्यमा जसले मदन पुरस्कार पाउँछ, साहित्यमा लोकसेवा पास गरेको सेक्सन अफिसर ठहर्छ । उहाँ सेक्सन अफिसर भई नै सक्नुभयो ।
तर, त्यो पुरस्कार
पाएपछि उहाँ बडो फुर्किनुभयो । उहाँले भन्नुभो, यो मदन पुरस्कारप्रति बढ्तै दुराग्रही पो भइएछ कि क्या हो ?
मैले ठट्टा गरें, हेर् भाइ प्रत्येक पुरस्कारका आफ्ना अभिष्ट हुन्छन् । त्यसका नियत हुन्छन्, त्यसका दुनर्यित हुन्छन् । कहिलेकाहिँ बाहना मिलाउनका लागि चतुर चाणक्यहरुले दिई आएका भन्दा अलि परका लाई पुरस्कार दिन्छन् । त्यसैले राजन मुकारुङले फुर्किन मिल्दैन ।
साहित्य पुरस्कार पाउनका लागि लेखिँदैन । साहित्यको माध्यमबाट तपाईको एउटा विम्व बनेपछि त्यो विम्वलाई उपयोग गर्न अथवा दुरुपयोग गर्न शक्तिपीठका विभिन्न मालिकहरु उद्त नै रहन्छन् ।
पुरस्कार आफैं नकारात्मक कुरा होइन । पुरस्कार खतरनाक कुरा हो । पुरस्कारको सन्दर्भ, त्यसको चरित्र र त्यसको प्रयोजनको तपाईले हेक्का राख्नुभएन भने तपाईले थाहै नपाइकन त्यो गुठीले पेटमा हालेर तपाईलाई पचाउँछ । जसलाई कोअप्सन भनिन्छ ।
त्यसैले राजन मुकारुङ असल मान्छे हुन् । सिद्धान्तनिष्ठ हुन् । विराट अभियन्ता हुन् । तर, उनले फुर्किन मिल्दैन । यसरी फुर्किँदै गए भने हामीलाई गाह्रो पर्छ ।
यो समाजमा लेखकको संख्या बढेको छ । तर, गम्भीर लेखकहरु, इतिहास र समयको सन्दर्भलाई बुझ्ने लेखकहरु र साहित्यजस्तो मूल्यवान् विषयलाई लोक कल्याणका निम्ति समर्पण गर्न चाहने लेखकहरु बहुत थोरै छन् । ती थोरैमध्ये एउटा राजन मुकारुङ हुन् । हामी राजन मुकारुङलाई फुर्किन दिने छैनौं । राजन मुकारुङ समकालीन नेपाली साहित्यका एकजना सशक्त लेखक हुन् ।
(गतसाता राजन मुकारुङको पुस्तक ‘फेरिँदो सौन्दर्य’को विमोचन कार्यक्रममा बरिष्ठ समालोचक तथा लेखक खगेन्द्र संग्रौलाबाट व्यक्त विचार)
प्रतिक्रिया 4