२३ भदौ, काठमाडौं । नेपाली मध्यमवर्गीय परिवारको रोजाइमा ‘इन्ट्री लेभल कार’ पर्ने गरेका छन् । सिमित आयस्रोत हुने व्यक्तिहरुको कार चढ्ने रहर इन्ट्री लेभल कारले पुरा गरिदिन्छन् ।
राजधानीमा जारी अटो मेलामा पनि इन्ट्री लेभल कारको बारेमा जानकारी लिनेहरु धेरै भेटिए । ‘ग्राहकहरुले सस्तो महंगो दुबै कारका बारेमा जानकारी लिए पनि डिल चाहीँ सस्तामा गर्छन्’ सिप्रदी ट्रेडिङका प्रोडक्ट म्यानेजर कैलाश बावु गेलालले भने- ‘नेपालमा अधिकांशको रोजाईमा इन्ट्री लेभल कार पर्छन् ।’
सामान्यतया नेपालमा १४ लाख रपैयाँदेखि २५ लाख रुपैयाँसम्मका कारलाई इन्ट्री लेभल कारका रुपमा लिइन्छ । नेपालमा उपलब्ध सबै ब्रान्डका कारहरुले इन्ट्री लेभल मिट नगरे पनि अधिकांश ब्रान्डका केही मोडल इन्ट्री लेभल मिट गर्ने खालका छन् ।
कतिपय ब्रान्डका सबैभन्दा सस्ता कारहरु नै प्रिमियम रहेको पाइन्छ । कार पारखीहरु ब्रान्डलाई पनि आफ्नो रोजाइमा पार्ने हुँदा उनीहरु मन पर्ने ब्रान्डको सस्तो कार खोज्न आउने गरेको व्यवसायीहरुको अनुभव छ ।
अघिल्ला मेलाहरुमा महंगा गाडी प्रर्दशनीमा राख्ने गरेका कम्पनीहरुले यस पटकको मेलामा सस्ता गाडीहरुलाई प्राथमिकतामा राखेको पाइएको छ ।
मेलामा सहभागी कम्पनीहरुको इन्ट्री लेभल कारहरु यस्ता रहेका छन् ।
टाटा इन्डिका सीआर-फोर
इन्डियन मोटर्स उत्पादक कम्पनी टाटाको मेलामा इन्ट्री लेभलको कार इन्डिका सीआर फोर प्रर्दशनीमा राखेको छ । फुल र सेम अप्सनमा उपलब्ध यो कारको मूल्य क्रमशः २० लाख ७० हजार रुपैयाँ र १९ लाख ६५ हजार रहेको छ ।
हृयाचव्याक सेगमेन्टको यो कार १४०० सीसीको हो । यो गाडीमा एसी, हिटर, पावर स्टेरिङ, फोर डोर पावर विन्डोज, इलेक्ट्रीकल मिरर, की लेश रिमोट कन्ट्रोल, ब्लूटुथ कलेक्ट हुने म्यूजिक सिष्टम लगायतका सुविधाहरु रहेका छन् ।
दशैं-तिहारको अवसरमा कम्पनीले २ तोला सुन, १ वर्षको इन्स्योरेन्स र ३० हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।
होन्डा अमेज
नेपालमा होन्डाको सबैभन्दा सस्तो कार ‘होन्डा बि्रयो’ भएपनि कम्पनीले यो कार मेलामा राखेको छैन् । कम्पनीले मेलामा सस्तो गाडीको रुपमा होन्डा अमेज प्रर्दशनीमा राखेको छ ।
होन्डा अमेज नेपालमा विभिन्न ६ भेराइटीमा उपलब्ध भएपनि सबैभन्दा सस्तो भेराइटीको मूल्य २६ लाख ७५ हजार रुपैयाँ रहेको छ । ११९८ सीसीको यो गाडी सेडान सेगमेन्टको हो । नेपालमा यो कार ५ कलरमा उपलब्ध छ ।
होन्डाको बि्रयो कार इन्ट्री लेभलको कार हो । ४ भेराइटीमा उपलब्ध बि्रयोको सुरुवाती मूल्य २४ लाख ४५ हजार रुपैयाँ रहेको छ । ११९८ सीसीको यो कार पेट्रोल इञ्जिनमा उपलब्ध छ ।
टोयोटा इटिओस लिभा
नेपाली उपभोक्तामाझ प्रिमियम कारका रुपमा परिचित भएपनि इटिओस लिभा टोयोटाको सबैभन्दा सस्तो कार हो । १२ सीसीको यो कारको मूल्य ३३ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
हृयाचव्याक सेगमेन्टको यो कार आकर्षक डिजाइनमा रहेको छ । इटिओस लिभा विभिन्न ७ कलरमा उपलब्ध छ । यसमा १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । ५ जना अटाउने यो कारमा ४५ लिटर पेट्रोल अटाउने ट्यांकी रहेको छ ।
फोर्ड फिगो
अमेरिकन ब्रान्ड फोर्डले मेलामा इन्ट्री लेभलको कार फिगो प्रर्दशनीमा राखेको छ । फिगो पेट्रोल इञ्जिनमा रहेको फिगो १२ सय सीसी र डिजेल इञ्जिनमा रहेको फिगो १४ सय सीसीको हो ।
फिगो नेपालमा पेट्रोल र डिजल गरी ८ भेराइटीमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार पेट्रोल इञ्जिनमा रहेको फिगो १९ लाख ५० हजार रुपैयाँदेखि २४ लाख ५० हजार रुपैयाँसम्म र डिजल इञ्जिन रहेको फिगो २२ लाख ९९ हजार रुपैयाँदेखि २८ लाख ४९ हजार रुपैयाँसम्म पर्छ ।
निशान मार्च
मार्च प्रिमिय हृयाचव्याक कार भएपनि निशानको इन्ट्री लेभल कार हो । यो कारको मूल्य नेपालमा २८ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले दशैं तिहारको अवरमा ३ लाख रुपैयाँ नगद डिस्काउन्ट दिने घोषणा गरेको छ ।
पेट्रोल इञ्जिनयूक्त यो कारमा ४ वटा एयरव्याग रहेका छन् । यो १२ सय सीसीको कार हो । यसमा ४१ लिटर फ्यूल अटाउँछ भने ५ स्पीड म्यानुअल गियर रहेको छ ।
किया पिकान्टो
कियाको सबैभन्दा सस्तो कार पिकान्टो नेपालमा २७ लाख रुपैयाँ ३२ लाख रुपैयाँसम्म पर्छ । नेपालमा पि्रमियम कार भएपनि पिकान्टो कियाको सस्तो कार हो ।
पेट्रोल इञ्जिन रहेको यो कार १२०० सीसीको हो । यसमा की लेश रिमोट कन्ट्रेल, चारवटै पावर विन्डोज, फुल्ली विल्ड म्यूजिक सिष्टम, राजधानीमा प्रतिलिटर १२ किलोमिटर र हाइवेमा १८ किलोमिटर माइलेज लगायतका सुविधाहरु रहेका छन् ।
भक्सवागन पोलो
भक्सवागनले मेलामा पोलो प्रर्दशनीमा राखेको छ । जर्मनीको प्रिमियम कार निर्माता कम्पनीको यो सबैभन्दा सस्तो कार हो । विभिन्न ५ भेराइटीमा उपलब्ध पोलो पेट्रोल इञ्जिनयूक्त कार हो ।
पोलो १२ सय सीसीदेखि १६ सय सीसीसम्म उपलब्ध रहेको छ । इञ्जिन क्षमताअनुसार यो कारको मूल्य २६ लाख ४५ हजार रुपैयाँदेखि ३९ लाख ४५ हजार रुपैयाँसम्म रहेको छ । विभिन्न ६ कलरमा उपलब्ध पोलो आकर्षक डिजाइनमा रहेको छ ।
यसमा वाहिरी तथा भित्री सजावट, सुरक्षा लगायतमा विशेष ध्यान दिइएको छ । नेपालमा पोलोले राम्रो मायाँ पाउन सफल भएको छ ।
हुन्डाई इओएन
हुन्डाईको सबैभन्दा सस्तो कार इओएन हो । यसको मूल्य नेपालमा १६ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
८१४ सीसीको यो कारले नेपाली सडकमा १८ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले बताएको छ । यो पेट्रोल इञ्जिनयूक्त कार हो । यसमा ५ स्पीड म्यानुअल गियर छ ।
सानो आकारमा रहेको यो कार नेपालको ट्राफिक जाम सुहाउँदो रहेको छ । यस कारमा डिजाइन र सुरक्षामा प्रयाप्त ध्यान दिइएको छ ।
डाटचन गो
नेपाली बजारमा पहिलो पटक प्रवेश गरेको जापानीज ब्रान्ड डाटचनले मेलामा इन्टि्र लेभलको कार गो प्रर्दशनीमा राखेको छ । आकर्षक डिजाइनमा रहेको यो कार १२०० सीसी इञ्जिन क्षमताको हो ।
नेपालमा यो कारको मूल्य १९ लाख ७० हजार रुपैयाँ रहेको छ । यो प्रवर्द्धनात्मक मूल्य हो । चार कलरमा उपलब्ध यो कारमा पेट्रोल इञ्जिन रहेको छ ।
डाटसन गो आधुनिक प्रविधि जडान गरिएको फाइभ डोर तथा फाइभ सीट हृयाचव्याक कार हो । पारिवारिक कारको रुपमा निर्माण गरिएको डाटसन गो आकर्षक डिजाइनमा उपलब्ध रहेको छ । गाडीको इन्टेरियर डिजाइनमा समेत विशेष ध्यान दिएको दाबी गरिएको छ ।
स्कोडा र्यापिड
सेडान सेगमेन्टको स्कोडा र्यापिड प्रिमियम कार भएपनि स्कोडाको इन्टि्र लेभल कार हो । र्यापिड १५९८ सीसीको कार हो ।
डिजेल र पेट्रोल दुबै भेराइटीमा उपलब्ध यो कारको मूल्य नेपालमा ३३ लाख २५ हजार रुपैयाँदेखि ४२ लाख ९५ हजार रुपैयाँसम्म रहेको छ । र्यापिड पेट्रोल इञ्जिनमा ३३ लाख २५ हजार रुपैयाँबाट सुरु हुन्छ भने डिजेल इञ्जिनमा ३७ लाख ५५ हजार रुपैयाँबाट सुरु हुन्छ ।
यसमा इन्धन क्षमता ५५ लिटर, स्टोरेज क्षमता ४६० लिटर, ग्राउन्ड क्लियरेन्स १६८ एमएम रहेको छ । र्यापिड म्यानुअल र अटोमेटिक गियरमा पनि उपलब्ध रहेको छ ।
मारुती सुजुकी अल्टो
मारुती सुजुकी अल्टो नेपाली कार बजारमा सबैभन्दा सस्तो कारका रुपमा चिनिन्छ । आठ सय सीसी इञ्जिन क्षमताको अल्टो नेपालमा ३ भेराइटीमा उपलब्ध रहेको छ ।
७९६ सीसीको यो कारको मूल्य १४ लाख ५९ हजार रुपैयाँदेखि १६ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । सानो आकारको यो कारले नेपाली ग्राहकको राम्रो मायाँ पाउन सफल भएको छ ।
अल्टो कारले प्रतिलिटर २२.७४ किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ । सस्तो कार भएपनि यसको भित्री तथा बाहिरी इन्टेरियरमा प्रयाप्त ध्यान दिइएको छ ।
५ स्पीड गियर, ५ जना अटाउने, ३५ लिटरको इन्धन ट्यांकी, ६ वटा आकर्षक कलर, १६० एमएमको ग्रान्उड क्लियरेन्स लगायतका फिचरहरु यस कारमा रहेका छन् ।
फियट पुन्टो इभो
फियट पुन्टो इभो मेलामा सार्वजनिक गरेको कार हो । यो कार फियटको सबैभन्दा सस्तो कार हो । १२ सीसीको यो कारको मूल्य २४ लाख ९५ हजार रुपैयाँबाट सुरु हुन्छ ।
अहिले मेलामा प्रर्दशनीमा राखिएको पुन्टो इभोको मूल्य २६ लाख ९५ हजार रुपैयाँ रहेको छ । यो विभिन्न ४ मोडलमा उपलब्ध हुनेछ ।
पछिल्लो प्रविधि प्रयोग गरिएको पुन्टो इभो डिजेल र पेट्रोल दुबै इञ्जिनमा उपलब्ध हुनेछ । यसले प्रतिलिटर १५।८ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । पुन्टो इभो सरप्राइजिङ, स्माइलिटङ, स्टाइलिस, सिम्पल र स्पीडी कार भएको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया 4