Comments Add Comment

जीडीपीमा वित्तीय क्षेत्रको योगदान दश वर्षसम्म न्यून

nrb२६ भदौ काठमाडौं । वितेका दश वर्षयता कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा वित्तीय  क्षेत्रको योगदान न्यून छ ।
लगानीका नयाँ क्षेत्र पहिचान नहुनु, लगानीमैत्री वातारणको अभाव र राजनीतिक अस्थिरतालगायतका कारणले जीडीपी वृद्धिदर स्थिर देखिएकाले वित्तीय क्षेत्रको योगदान पनि न्यून भएको राष्ट्र बैंकको रिसर्च विभागका एक अधिकारीले अनलाइनखबरलाई बताए ।
‘आर्थिक वर्ष २०६१/६२ देखि २०७०/७१ सम्म हरेक वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा वित्तीय क्षेत्रको योगदान करिब ३ देखि ४ प्रतिशतको हाराहारीमा मात्रै रहेकाले यस्तो देखिएको हो’ ती अधिकारीले भने ।
यो दशकको वित्तीय क्षेत्रको योगदानलाई विज्ञहरूले स्थिर भएको विश्लेषण गर्दै आएका छन् । यस अवधिमा बैङ्कहरूको सङ्ख्या, बैङ्किङ पहुँच, निक्षेप, कर्जा तथा सापटीलगायत क्षेत्रमा वृद्धि देखिए पनि समग्र योगदानमा भने खासै उन्नति नभएको हो ।
आर्थिक वर्ष २०६१/६२ मा जीडीपीमा वित्तीय क्षेत्रको योगदान ३ दशमलव १ प्रतिशत रहेको थियो । आव २०७०/७१ मा यस्तो योगदान ३.८ प्रतिशतमा पुगेको छ । यस अवधिको औसत योगदान ३.९ प्रतिशत रहेको छ ।
आव २०६४/६५ मा यस्तो योगदान ४.३ प्रतिशत र आव २०६५/६६ मा ४.२ प्रतिशत पुगेको थियो । यो एक दशकै सबैभन्दा बढी हो ।
यस अवधिमा बैङ्किङ क्षेत्रको वृद्धिदर भने केही बढी छ । यद्यपि पछिल्ला वर्षहरुमा यसको वृद्धिदर भने घट्दो छ । राष्ट्र बैंकका अनुसार २०६३/६४ मा ११.३९ प्रतिशत रहेको बैंकिङ क्षेत्रको वृद्धिदर आव २०६४/६५ मा ९.२३ प्रतिशतमा झरेको थियो । २०६५/६६ मा २.०३ प्रतिशतमा झर्‍यो भने २०६८/६९ मा यस्तो वृद्धिदर ३.४७ प्रतिशत रहेको थियो ।
यसअघि नै नेपाली वित्तीय क्षेत्र परिपक्कता (म्याचुरिटी) को अवस्थामा पुगिसकेकाले त्यसपछिका वर्षमा त्यस्तो वृद्धिदरमा धेरैले सुधार नदेखिएको उनको विश्लेषण छ ।
२०६५/६६सम्म राष्ट्र बैङ्कले उदार नीति अवलम्बन गर्दै आएकाले छोटो समयमा धेरै बैङ्क तथा वित्तीय संस्था खुलेकाले वृद्धिदरमा पनि केही सुधार देखियो । तर, चार वर्ष यता राष्ट्र बैङ्कले नयाँ बैङ्क तथा वित्तीय संस्था-लघुवित्त बैङ्क बाहेक) स्थापनामा रोक लगाएको छ । ‘राष्ट्र बैङ्कको उक्त व्यवस्थापछि नयाँ वित्तीय संस्था स्थापना नभएकाले त्यसको असर वृद्धिदरमा देखिएको हो’ उनले भने ।
राजनीतिक स्थिरता नभएकै कारण अपेक्षित रूपमा वित्तीय क्षेत्रको सुधार हुन नसकेको बैंकरहरुले बताउँदै आएका छन् । ‘राजनीतिक स्थिरता नभएसम्म आर्थिक संवृद्धि हुदैन’  एक बैंकरले भने । सुरक्षित कारोबार ऐन कार्यान्वयनमा आए यो क्षेत्रको वृद्धि तीव्ररुपमा अघि बढ्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment