२५ असोज, काठमाडौं । निर्यातयोग्य पहिचान गरी एनटीआइएस कार्यक्रममार्फत प्रवर्द्धन गरेका वस्तुहरुकै निर्यात बढाउन सरकार असफल भएको छ ।
सरकारले सन् २०१०मा विभिन्न १८ वस्तुहरुलाई निर्यातयोग्य वस्तुका रुपमा पहिचान गरि एनटीआइएस कार्यक्रममार्फत प्रवर्द्धन गर्दै आएको छ । गत आर्थिक वर्षमा विभिन्न मुलुकमा २७ अर्ब ४१ करोड २३ लाख रुपैयाँ बराबरको एनटीआइएस वस्तुहरु निर्यात भएको छ ।
गत वर्षको निर्यात अघिल्लो वर्षको तुलनामा जम्मा २ प्रतिशतले मात्र बढी हो । अघिल्लो वर्ष २६ अर्ब ८५ करोड ३५ लाख रुपैयाँ बराबरको एनटीआइएस वस्तुहरु निर्यात भएको थियो ।
सरकारले १८ वस्तुहरुलाई निर्यातयोग्य पहिचान गरेपनि १३ वटा वस्तुहरुमात्र निर्यात भइरहेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांकले देखाउँछ । बाँकी ५ वस्तुहरुको निर्यात शुन्य रहेको छ ।
गत वर्ष दाल, चिया, अदुवाको निर्यात घटेपछि समग्र निर्यात प्रभावित भएको केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले बताए । उनका अनुसार दाल र चिया उच्च निर्यात हुने एनटीआइएस वस्तु हुन् । केन्द्रको तथ्यांक अनुसार गत वर्षमा दालको निर्यात २३.५ प्रतिशतले घटेको छ भने चिया ०.७ प्रतिशत र अदुवा ६६.२ प्रतिशतले घटेको छ ।
गत अार्थिक वर्षमा निर्यात भएका एनटीअाइएस वस्तुहरू
| क्र.स. | आर्थिक वर्ष ०६९/७० | आर्थिक वर्ष ०७०/७१ |
|---|---|---|
| १. | रु. ३,८४,९९,९५,००० | रु. ४,२७,०३,७२,००० |
| २. | रु. २,६७,७३,१९,००० | रु. २,०४,७६,३२,००० |
| ३. | रु. २,०४,३२,२०,००० | रु. २,०२, ९४,३९,००० |
| ४. | रु. १,२७,२९,४७,००० | रु. १,६०,२१,९०,००० |
| ५. | रु. १,३३,२४,५३,००० | रु. ४४,९९,०१,००० |
| ६. | रु. ६०,१३,९६,००० | रु. ८२,२४,९३,००० |
| ७. | रु. ८,७०,३७,००० | रु. १६,१०,३४,००० |
| ८. | रु. २१,००० | रु. १,७६,००० |
| ९. | रु. ११,६३,७५,५४,००० | रु. ११,८३,१५,४६,००० |
| १०. | रु. २,१७,९७,९४,००० | रु. २,८२,१४,५१,००० |
| ११. | रु. ५४,९८,६६,००० | रु. ६५,१७,३७,००० |
| १२. | रु. ४२,७८,३७,००० | रु. ५०,१०,२४,००० |
| १३. | रु. १९,४१,११,००० | रु. २२,३३,६६,००० |
| जम्मा | रु. २६,८५,३५,५०,००० | रु. २७,४१,२३,६२,००० |
वाणिज्य तथा आपूर्ति मन्त्रालय सन् २०१० मा पहिचान गरेका निर्यातयोग्य वस्तुहरुबाट अपेक्षित उपलब्धी हासिल गर्न नसकेपछि यसलाई परिमार्जन गर्न लागेको छ ।
गत वर्ष सबैभन्दा बढी फलाम तथा स्टिलजन्य वस्तुहरुको निर्यात भएको छ । केन्द्रका अनुसार ११ अर्ब ८३ करोड १५ लाख रुपैयाँ बराबरको यस्तो वस्तु निर्यात भएको देखिन्छ । यो निर्यात अघिल्लो वर्षको तुलनामा १.७ प्रतिशतले बढी हो ।
त्यसपछि क्रमशः अलैंची, उनी तथा पश्मिनाका सल, दाल, चिया, औषधी जन्य जडिबुटीको निर्यात उच्च रहेको छ । अलैंचीको निर्यात १०.९ प्रतिशतले बढेको छ भने उनी तथा पश्मिनाको सलको निर्यात २९.४ प्रतिशतले बढेको छ ।
निकै कम मात्रामा निर्यात हुँदै आएको प्राकृतिक महको निर्यात गत वर्ष ७५४.४ प्रतिशतले बढेर १ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो मह २१ हजार रुपैयाँको मात्र निर्यात भएको थियो ।
उनीका वस्तुहरुको निर्यात १७.१ प्रतिशतले बढेको छ भने चाँदीका गहनाको निर्यात १५.१ प्रतिशत, नेपाली कागज तथा वस्तुहरु १८.५ प्रतिशत, तेल ८५ प्रतिशत, चाउचाउ तथा पास्ता ३६.८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया 4