Comments Add Comment

साउदीमा विरामी भएर फर्किएका मिजार परिवारलाई क्यानडाबाट सहयोग

३१ असोज, भक्तपुर । साउदी अरब गएका बाबु बिरामी भएर कोमामा पुगेको अवस्थामा फर्किएपछि बिचल्लीमा परेका भक्तपुर चाँगुनारायण गाविस– ७ मिजार गाउँका रामकृष्ण सार्की (मिजार)का तीन बालबालिकालाई क्यानडामा रहेका नेपालीले सहयोग जुटाएर पठाएका छन् ।

क्यानडामा रहेका रुपन्देहीका ईश्वर थापाले त्यहाँ रहेका नेपालीबाट रकम सङ्कलित ५२ हजार २ सय ६५ रुपैंयाँ पठाएका हुन् । क्यानाडाबाट आएका विजय सिंह थापाले सो सहयोग रकम विहीवार परिवारलाई हस्तान्तरण गरेका हुन् ।

रोजगारीका लागि जुत्ता सिलाउने काममा साउदी अरब गएका ४० वर्षीय रामकृष्ण तीन महिना अरबमै थलिएर उपचारै नहुने अवस्थामा फर्किएपछि उनका बालबालिका बिचल्लीमा परेका छन् । थलिएर स्वदेश फर्किएका उनको वीर अस्पतालमा उपचार हुन नसकेपछि घरमै थलिएका छन् ।

मिजार परिवारको दयनिय अवस्थाबारेको खबरपछि एक विदेशी नागरिकले ४५ हजार खातामा जम्मा गरिदिनुका साथै विभिन्न निकायबाट हालसम्म करिब एक लाख ८३ हजार रुपैंयाँ सहयोग सङ्कलन भएको बिरामीका बाबु चतुरेले जानकारी दिए ।

बिरामी भएर रामकृष्ण नेपाल आएदेखि नै गाउँबाट केही चन्दा उठाएर सहयोग गरेको र अन्य निकायबाट सहयोगको अपेक्षा गर्दै स्थानीयले नै बालबालिकाको नाममा नेपाल बैंक लि.भक्तपुर शाखामा १९—१०—१९२८८४ नम्बरको खाता खोलिदिएको स्थानीय रमेश बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment