Comments Add Comment

पर्यटन बोर्ड प्रकरण : के-के निर्णय गर्‍यो १९२औं कालो बैठकले !

नविन अर्याल

५ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको १९२औं बैठकले निकै चर्चा पायो । यसलाई पर्यटन क्षेत्रकै कालो बैठकका रुपमा लिएकाे व्यवसायीहरुले बताएका छन् । गत साउन २ गते बसेको यस बैठकको निर्णयबाट पर्यटन बोर्डमा व्यापक अनियमितता भएको छानविन समितिले ठहर गरिसकेको छ ।

बोर्डले विभिन्न ६ शिर्षकमा एक करोड २१ लाख रुपैयाँ तिर्नुपर्ने दायित्व रहेपनि १९२औं बैठकबाट ७ करोड ४० लाख रुपैयाँ खर्च देखाई रकम निकासा गर्ने निर्णय गरेको थियो । कोरम नपुर्‍याई साढे ७ करोड रुपैयाँ निकासा गरेर उक्त बोर्ड बैठकले रकम हिनामिना गरेको छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

सबैभन्दा हास्यस्पद कुरा १९२औं बैठक एकै दिन एकै समय दुईपटक बसेको माइन्यूट बनाइएको छ । एकपटक गरेको माइन्यूटमा ९ जना सदस्यहरुको नामावली उल्लेख रहेको छ, जहाँ ५ जना सदस्यहरुले मात्र हस्ताक्षर गरेका छन् । अर्को माइन्यूटमा एघारै जनाको नाम उल्लेख गरिएको जहाँ ५ जनाले नै हस्ताक्षर गरको छन् ।

NTB-Buildingयस्ता छन् १९२औं वैठकका निर्णय

१) आव २०७०/०७१ को लागि कार्यकारी समितिबाट पारित बजेट तथा कार्यक्रम अनुसार बोर्डबाट सञ्चालन गरिएका कार्यक्रमहरु तथा प्रगतिको बारेमा कामु कार्यकारी समितिलाई विस्तृत रुपमा प्रस्तुत गर्नुभयो । साथै, आव २०७०/०७१ को स्वकृत बजेट तथा कार्यक्रम अन्तर्गत आएको खर्चको अनुमोदन गर्दै भुक्तानी हुन बाँकी दायित्व संलग्न अनुसूची बमोजिम गर्न समितिले स्वीकृत तथा अनुमोदन गर्‍यो ।

२) महालेखा परीक्षकको कार्यालयबाट नेपाल पर्यटन बोर्डको गत आव २०६९/७० को अन्तिम लेखा परीक्षण सम्पन्न भएपश्चात बोर्डलाई प्राप्त प्रारम्भिक प्रतिवेदन उपर समितिमा छलफल भई वित्तिय विवरण तथा समितिका तर्फबाट प्रतिउत्तर समेत स्वीकृत गर्दै आव २०६९/७० को खर्च तथा खर्च शीर्षकलाई अनुमोदन गरियो । समयमा नै महालेखा परीक्षकको कार्यालयमा जवाफ पठाउन व्यवस्थापनलाई निर्देशन दिइयो ।

३) कामु कार्यकारी प्रमुखले आव २०७०/७१ को अन्तसम्ममा नेपाल पर्यटन बोर्डको विभिन्न बैंकहरुमा रहेको नगद मौज्दातबारे समितिलाई जानकारी गराउनुभयो । त्यसैग्रि सन् २०१४ को मार्चदेखि जुन महिनासम्म नेपाल भ्रमणमा आएका पर्यटकहरुको तथ्याङ्क प्रस्तुत गर्दै पर्यटक आगमनको स्थिति यो वर्षको अन्तसम्ममा करीव ८ लाख पुग्ने प्रक्षेपित तथ्याङ्क प्रस्तुत गर्नुभयो । जनवरी र फेबुअरी महिनाको तथ्याङ्क प्राविधिक कारणले अध्यागमन विभागबाट प्राप्त हुन नसकेकोले प्रस्तुत गर्न नसकिएको जानकारी गराउनुभयो ।

४) पञ्चवर्षीय योजनालाई आधार बनाई नेपाल पर्यटन बोर्डको आव २०७१/०२ का लागि बोर्ड व्यवस्थापनले प्रस्तुत गरेको रु १,०५,१०,८९,००० (टिम्स आम्दानी समेत) प्रस्तावित बजेत तथा कार्यक्रमको लागि प्रत्येक महाशाखा, क्षेत्रीय कार्यालय लगायत अन्य विविध शीर्षकको खर्चको प्रतिशत (संलग्न अनुसूचि बमोजिम) समितिले स्वीकृत गर्‍यो । आव २०७१/०७२ को आम्दानी तथा खर्चको बाँडफाँडको प्रस्तावित स्वरुपलाई पारित गर्दै त्यस आधारमा बोर्डको आर्थिक वर्ष २०७१/०७२ को विस्तृत बजेट तथा कार्यक्रम यथासिघ्र तयार पारी सरोकारवालाहरुसँग १० दिनको समयावधी तोकि लिखित सुझाव माग गर्ने र समयभित्र कुनै सुझाव प्राप्त हुन आए सो को औचित्यसहित र सो समयावधिभित्र कुनै सुझाव प्राप्त नभएमा व्यवस्थापनबाट प्रस्तुत गरिएको बजेट तथा कार्यक्रमलाई अन्तिम मानी स्वीकृतिका लागि आगामी बैठकमा पेश गर्न कामु प्रमुखलाई निर्देशन दिइयो ।

NTB-192th-Baithak
साउन २ गते विहान ८ बजे बसेकाे १९२अाैं बैठकको पहिलाे माइन्यूट ।

५) हाल आव २०७१/०७२ को लागि बजेट तथा कार्यक्रम पारित भई नसकेको अवस्थामा नेपाल पर्यटन बोर्ड आर्थिक विनियम २०७० को विनियम ५(७) ले गरेको व्यवस्था बमोजिम बोर्डको दैनिक कार्य तथा पेश भएको कार्यक्रम सञ्चालनको लागि कुल बजेटको २५ प्रतिशतमा नबढ्ने गरी समितिले पश्की स्वरुप खर्च स्वीकृत गर्‍यो ।

६) नेपाल पर्यटन बोर्डले आव २०६६/०६७, २०६७/०६८ र २०६८/०६९ मा ट्रेकिङ एजेन्सिज एशोसियशन नेपाल (टान) ले प्राप्त गरेको टिम्स वापतको रकमको सम्बन्धमा गरेको लेखा परीक्षणको प्रतिवेदन उपर जवाफ पेश गर्न नेपाल पर्यटन बोर्डले ट्रेकिङ टानलाई लेखेको पत्र टानले प्राप्त गरेको टिम्सवापतको रकमका सम्बन्धमा श्री महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त निर्देशनको बारेमा कामु कार्यकारी प्रमुखले समितिलाई जानकारी गराउनुभयो । टानबाट उक्त लेखा परीक्षण प्रतिवेदन उपर प्राप्त जवाफ तथा प्रस्तुत भएका प्रमाणका आधारमा उक्त लेखापरीक्षण प्रतिवेदनमा दर्शाइएका बेरुजु/कैफियतलाई अन्तिम रुप दिई नियमानुसार कारवाही अगाडी बढाउन व्यवस्थापनलाई निर्देशन दिइयो ।

७) नेपाल पर्यटन बोर्डमा मिति २०७१/१/१७ गतेदेखि २०७१/३/३ गतेसम्म भएको आन्दोलन, धर्ना र घेराउका घटनाहरुको समिक्षा गर्दै र तत्पश्चात बोर्डमा अपनाइएको र लागु गरिएको सुरक्षा व्यवस्था सम्बन्धमा कामु कार्यकारी प्रमुखले समितिलाई जानकारी गराउनुभयो । यसरी आवश्यकता अनुसार कार्यकारी प्रमुख, बोर्डका कर्मचारीहरु र बोर्ड परिसरको सुरक्षा प्रबन्धका लागि गरेको थप सुरक्षा सम्बन्धका लागि हुन आउने खर्चहरु समितिले स्वीकृति तथा अनुमोदन गर्ने निर्णय गर्‍यो ।

८) यस आव २०७०/०७१ मा यस बोर्डको तर्फबाट सम्मानित अदालतहरुमा पेश गरिनुपर्ने प्रतिउत्तर खर्च, कानून व्यवसायीको खर्च लगायत मुद्धासँग सम्बन्धित खर्चहरु समितिले अनुमोदन गर्ने निर्णय गर्‍यो ।

NTB-192th-Baithak-2
साउन २ गते विहान ८ बजे बसेकाे १९२अाैं बैठकको दाेस्रो माइन्यूट ।

९) कामु कार्यकारी प्रमुखले बोर्डको नाममा सम्मानित श्री सर्वोच्च अदालत र पुनरावेदन अदालतमा विचाराधिन मुद्धाहरुका बारेमा समितिलाई जानकारी गराउनुभयो । त्यसैगरि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रबाट बोर्डका विरुद्ध परेका उजुरीहरुका सम्बन्धमा भइरहेको पत्राचार तथा छानविन सम्बन्धमा समितिलाई जानकारी गराउनुभयो ।

१०) बोर्डको कामकाज सम्पादन गर्दा तथा सेवाग्राही/सरोकारवालाहरुसँग संस्थागत र व्यक्तीगत रुपमा समेत कर्मचारीहरुले के कस्तो प्रकृया अपनाउने भन्ने सम्बन्धमा बोर्डको ऐन, नियम र विनियमहरुले गरेको व्यवस्थालाई अझ स्पष्ट गरी बोर्डलाई अनुशासित, मर्यादित र पारदर्शी बनाउनका लागि कामु कार्यकारी प्रमुखले विज्ञहरुको राय समेतका आधारमा तयार पारेको कार्यलय सञ्चालन कार्यविधी (निर्देशिका), २०७१ का सम्बन्धमा समितिलाई जानकारी गराउनुभयो । साथै, यो कार्यविधी (निर्देशिका),२०७१ तत्काल लागू गर्ने सम्बन्धमा गराउनुभएको जानकारीप्रति समितिले समर्थन गर्दै स्वीकृत गर्ने निर्णय गर्‍यो ।

११) बोर्डको क्षेत्रीय कार्यालय पोखरा तथा पर्यटन बोर्डको सूचना केन्द्रहरुको कार्यसम्पादन जनशक्ति अभावका कारणबाट धेरै समयदेखि प्रभावित रहँदै आएको सम्बन्धमा कार्यकारी प्रमुखले समितिलाई जानकारी गराउनुभयो । पोखरा क्षेत्रीय कार्यालयमा रिक्त प्रबन्धक पदमा तत्काल जिम्मेवारी दिने गरी कर्मचारी व्यवस्था गर्न र हाल कायम रहेका ३ वटा बोर्डका सूचना केन्द्रहरुमा कम्तीमा अधिकृतस्तरको कर्मचारी खटाई बोर्डको कार्य सम्पादन गर्न गराउन समितिद्धारा कामु कार्यकारी प्रमुखलाई निर्देशन दिइयो ।

१२) पूर्वाञ्चलको विराटनगर तथा मध्य पश्चिमाञ्चल तथा सुदूर पश्चिमाञ्चलको पायक पर्ने स्थान नेपालगञ्जमा नेपाल पर्यटन बोर्डको क्षेत्रीय कार्यालयहरु तथा आवश्यक पर्यटकीय स्थानहरुमा थप सूचना केन्द्रहरु स्थापना गरी संचालन गर्ने कारबाही अगाडी बढाउन समितिले कामु कार्यकारी प्रमुखलाई निर्देशन दियो ।

NTB-192th-Baithak-3
कोरम नपुर्‍याई निर्णय गरेर निकासा गरिएको ७ करोड ४० लाख रूपैयाँ । १ कराेड २१ लाख रूपैयाँ तिर्नुपर्ने दायित्व रहेकाेमा बैठकबाट ७ कराेड ४० लाख निकासा गरिएकाे थियाे ।

१३) नेपाल पर्यटन बोर्डमा मिति २०७१/१/१७ गतेदेखि २०७१/३/३ गतेसम्म भएको आन्दोलन, धर्ना र घेराउका घटनाहरु तथा विभिन्न सञ्चार माध्ययमा प्रकाशित भएका भ्रामक समाचारहरु तथा त्यसको खण्डनको सम्बन्धमा व्यवस्थापनले सञ्चारमाध्यम मार्फत विभिन्न मितिमा प्रकाशित विज्ञप्ती, सूचना लगायतका कार्यहरु कार्यकारी प्रमुखको आदेशमा गरे गराएको सम्बन्धमा समितिको १९१औं बैठकमा समेत जानकारी गराइसकेको र सो कार्य बोर्डलाई बन्द गराइरहेकोले कामु कार्यकारी प्रमुख लगायत बोर्डका केही कर्मचारी कार्यालय प्रवेश गर्न नसकेको अवस्थामा ठाडो आदेशबाट सम्पादन गरिएका तथा संस्थाको बचाउ गर्ने कार्यमा भएको खर्चहरु समितिले स्वीकृत तथा अनुमोदन गर्ने निर्णय गर्‍यो ।

१४) बोर्डको बैंक खाता सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड, आर्थिक विनियमावली, २०७० को विनियम १०(३) ले गरेको व्यवस्था बमोजिम प्रबन्धक-इन्चार्ज नवीन पोखरेलको हस्ताक्षर थप गर्न गरिएको निर्णयबारे कामु कार्यकारी प्रमुखले समितिलाई जानकारी गराउनुभयो ।

१५) यस बोर्डका वर्तमा अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सशील घिमिरले आफु लामो सेवाबाट केही दिनमा अवकाश लिने जानकारी गराउनुभयो । अध्यक्षको प्रभावकारी एवं कुशल नेतृत्वको समितिले प्राप्त गरेको उपलब्धीप्रति सर्वसम्मतबाट वहाँप्रति कृतज्ञता व्यक्त गर्दै अवकाश पछिको जीवन सुखद र उपलब्धिमुलक रहोस भनी सुभकामना प्रस्ताव पारित गर्‍यो ।

१६) अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई धन्यबाद दिँदै बैठक समापन भएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment