Comments Add Comment

जिशिअसहित ६ जना विरुद्ध मुद्दा दायर

१८ कात्तिक, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झोले विद्यालय खडा गरी सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा सिराहाका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित छजना विरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आव २०६६/६७ देखि २०७०/७१ सम्म पटक-पटक रु १० लाख ५० हजार दुरुपयोग गरेको अभियोगमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले तत्कालीन जिल्ला शिक्षा अधिकारी राजेन्द्रप्रसाद ठाकुर, तत्कालीन कायममुकायम जिल्ला शिक्षा अधिकारी कुमारी अम्बिका साह, कार्यक्रम अधिकृत गुदर महत्तो, शारदा प्रावि जिझौलका प्रधानाध्यापक सफल यादव, उनका बाबु रामविनय यादव र स्रोत व्यक्ति राजेन्द्रप्रसाद यादवमाथि सरकारी रकम दुरुपयोग गरेको अभियोग लगाइएको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको कारबाहीको माग गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सिराहाको जिझौल-५ मा रहेको शारदा प्राविको नाममा उनीहरुले झोले विद्यालय खडा गरेका थिए ।

यस्तै, आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत वरिष्ठ प्राविधिक दीलीपकुमार मिश्रले सेवा प्रवेशका क्रममा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा मंगलवार नै विशेष अदालतमा मुद्दा दायर गरेको छ । मिश्रले बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटना भारतबाट सन् १९९० मा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको आयोगले जनाएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment