Comments Add Comment

अवार्डको धन्दाः एउटामा सर्वोत्कृट हुने अर्कोमा मनोनयनमै पर्दैन

nai nabhannu
काठमाडौं । चलचित्र विकास बोर्डले प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएकी थिइन् ‘अन्तराल’ कि निर्देशक दीपा बस्नेतले ।
राष्ट्रपति डा. रामबरण यादबको हातवाट दीपाले पुरस्कार लिँदै गरेको तस्बिर सार्वजनिक भए लगत्तै शहरमा हल्ला चल्यो-अब यो वर्ष मुलुकमा हुने सबै अवार्डमा दीपाले बाजी मार्ने भइन् ।’
त्यसपछि पनि एनएफडिसी, नेफ्टा, इन्फा लगायतका अवार्ड सम्पन्न भए तर, कतिपय अवार्डमा दीपा सर्वोत्कृष्ट निर्देशकको मनोनयन मै परिनन् ।
सर्वोत्कृष्ट निर्देशक दीपा मात्रै हैन, राज्यले सर्वोत्कृष्ट अभिनेता भनेर पुरस्कृत गरेको ब्यक्तित्व चलचित्र ‘साँघुरो’का अभिनेता सुशांक मैनालीलाई धेरै अवार्ड आयोजकले सम्झेनन् । राज्यवाटै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी गरिमा पन्त पनि कतै देखिइनन् ।
हङकङ शहरमा अवार्ड सम्पन्न गरेका नेफ्टा र इन्फा अवार्ड आयोजकहरुले ज्यान परेकी सुन्दरीलाई छानी-छानी निम्तो गरे पनि गरिमालाई सम्झेनन् । नेपालमा सम्पन्न फिल्म सम्बन्धी अवार्डलाई कतिपय चलचित्रकर्मीले उत्सव भनेर ब्याख्या गरे पनि कतिपय विधामा अवार्डका बहानामा हुने झेली खेलले केही चलचित्रकर्मी निराश छन् ।
चलचित्र समिक्षक समाजले गरेको अवार्डमा सर्वोत्कृष्टको उपाधि पाएका चलचित्र र निर्देशकले अन्य अवार्डहरुमा सूचीकरण हुने मौका समेत पाएनन् । समाजले ‘बधशाला’ लाई उत्कृष्ट फिल्मको अवार्ड दिए पनि अन्य अवार्डमा बधशाला मनोनयमा समेत परेन । समाजले उत्कृष्ट ठानेका हिरो हिरोइन कोसिश क्षेत्री र ऋचा शर्मालाई पनि अन्य अवार्ड आयोजकले मनोनयनको लायकसम्म मानेनन् ।
पछिल्लो समय एक साताको विचमा दुइटा अवार्ड भए त्यो पनि हङकङ शहरमा । दुईटै अवार्डमा सभागी भएका फिल्म लगभग एउटै थिए तर, अवार्डको नतिजा भने पुरै फरक । नेफ्टामा ‘धन्दा’ सर्वोत्कृष्ट फिल्म घोषित भयो भने इन्फामा सर्वोत्कृष्टको बाजी मार्‍यो ‘नाइ नभन्नु ल-२’ले । सोही फिल्मका निर्देशक विकास आचार्य इन्फाका सर्वोत्कृष्ठ निर्देशक भए भने नेफ्टामा धन्दावाटै सुदर्शन थापाले सर्वोत्कृष्ठ निर्देशकको अवार्ड हात पारे ।
अन्य विधामा पनि त्यस्तो भयो नेफ्टामा अवार्ड पाउनेहरु इन्फामा दोहोरिएनन् ।
जुरी सार्वजनिक गरिंदैन
अवार्डलाई निश्पक्ष, पारदर्शी र जिम्मेवार बनाउन सबै भन्दा निणर्ायक भुमिका ‘जुरी’ को हुने गर्छ । नियम त हरेक अवार्ड आयोजकले अवार्ड सम्पन्न हुनु अगाडी जुरीको नाम सार्वजनिक गर्नुपर्ने हुन्छ तर, नेपालका अवार्ड आयोजकहरु जुरी सार्वजनिक गर्नुलाई अनिवार्य काम ठान्दैनन् ।
कुनै पनि अवार्ड आयोजकले जुरीको नाम गोप्य राखेपछि अवार्डको विश्वसनियतामै शंका हुन्छ । तर, अवार्ड आयोजकलाई त्यसको बिश्वसनीयताप्रति भन्दा पनि अरु नै बिषयमा चासो र चिन्ता भएको देखिन्छ ।
बेतुकका अवार्ड
गोपीकृष्ण टिभी फिल्मीले गरेको एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका थिए ‘झोला’ का निर्देशक यादब भट्टराइले । तर, उनी अवार्ड लिनै गएनन् । कारण उनलाई अवार्ड आयोजकले कार्यक्रममा आउनका लागि गतिलोसँा निम्तै गरेका थिएनन् । ‘जब कुनै अवार्ड कार्यक्रम गर्नेले मनोनयनमा परेका निर्देशकलाई कार्यक्रममा आउने निम्ता त राम्रोसँग गर्दैनन् भने तिनले दिने पुरस्कारमा कसरी विश्वास गर्ने ?’ उनले भने ।
हरेक अवार्डका छुट्टा छुट्टै सर्वोत्कृष्टको मापदण्ड भएकाले नेपालमा हुने अवार्डको हैषियत भए जस्तो लाग्दैन भट्टराइलाई । उनी सोध्छन- ‘ल तपाइ नै भन्नुस् यो वर्ष उत्कृष्ठ भनिएका जोएस पाण्डे, सुदर्शन थापा, विकास आचार्य, दिपा बस्नेत र यादब भट्टराइमध्ये को हो साँच्चै उत्कृष्ट ?’
सामान्य त सर्वोत्कृष्ट फिल्मको उपाधी पाएको फिल्मले राम्रो ब्यापार गर्नुपर्छ । तर, नेपालमा न सर्वोत्कृष्ट फिल्म र निर्देशकको अवार्ड पाएका धेरै फिल्म नचलेको उदहारण प्रसस्त छ ।
कतिपय विधाको अवार्ड आयोजकसंगको निकटताको कारण पनि बाँडिने गरेको गुनासो आउने गरेको छ । त्यसकारण पनि नेपालमा अहिलेसम्म भएका अवार्डको प्रभाव कायम नभएको अवार्ड पाउनेहरु नै स्वीकार्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment