Comments Add Comment

‘इकु’को वैवाहिक जीवन टुट्यो, तेस्रो व्यक्ति छिरेको आरोप

eku-and-jaya

विजय आवाज

‘मेरी बास्सै’ सिरियलबाट एकाएक चर्चा आएका कलाकार सुलेमान शंकर ‘इकु’को वैवाहिक जीवनमा विश्राम लागेको छ । करिब पाँच महिना अगाडिदेखि इकू र पत्नी जया केसीवीचको वैवाहिक जीवनमा विश्राम लागेको हो ।

‘इकु’ पात्र ‘हिट’ भएपछि सुलेमानले यसै नाममा चलचित्र पनि बनाएका थिए । पहिलो चलचित्रबाट राम्रो कमाइ गरेका उनले यसको ‘सिक्वेल’ पनि बनाए । ‘इकु ब्याक एगेन’ चलचित्रमा उनले पत्नी जयालाई पनि अभिनय गराएका छन् ।

चलचित्रको दुनियाँमा इकुले पत्नीलाई पनि आफूसँगै अगाडि ल्याउन चाहन्थे । तर, उनले सोचजस्तो भएन ।

इकु र जयाले बिहे गरेको दिन असार १७ गते नै अलग हुने निर्णय गरेका हुन् । उनीहरुले ०६६ साल असार १७ गते बिहे गरेका हुन् । यो जोडीले असार २२ गते सम्बन्धबिच्छेद पत्रमा हस्ताक्षर गरेर अलग हुने निर्णय गरेको हो ।

इकु र जयाले प्रेम विवाह गरेका हुन् । सुलेमानले एक वृत्तचित्रको प्रदर्शनीका क्रममा जयालाई पोखरामा भेटेका थिए । यसपश्चात बढेको  निकटता विवाहमा परिणत भएको थियो ।

इकुको चलचित्रको करिअरमा साथ दिँदै आएकी जयाले आखिर उनलाई छोड्ने निर्णय गरिन् । जयाको जीवनमा अर्को पुरुष पात्रको प्रवेश भएसँगै यो जोडीमा खटपट सुरु भएको  इकूको दाबी छ । इकुले अलग हुनुको कारणबारे अनलाइनखबरसँग विस्तृतमा यसरी खुलाए  :

'इकु २'मा जयाको साथमा सुलेमान शंकर

‘इकु २’मा जयाको साथमा सुलेमान शंकर

जब मैले ‘इकु २’ बनाएँ, मेरो लगानी नराम्रोसँग फस्यो । त्यसपछि नै जया मसँग टाढा भएको जस्तो लाग्छ । पैसा फसेपछि म ‘इकु २’ प्रदर्शन गर्नका लागि मलेसिया पुगें । म मलेसिया गएपछि दुई हप्तासम्म हाम्रो फोनमा राम्रैसँग कुरा भयो । उनी मलाई चाडै आउनु, म तपाइविना बस्न सक्दिँन जस्तो कुरा गर्थिन् ।

आमा बिरामी भएकाले पनि उहाँको हेरचाह गर्छिन् भनेर मैले जयालाई मलेसिया लगिँन । तर, दुई हप्तापछि मलाई जया मसँग टाढा हुन थालेको अनुभूति भयो । मैले उनलाई तिमी पनि मलेसिया आउनु, म भिसा पठाइदिन्छु भनेको थिएँ । तर भनेजस्तो भएन ।

म मलेसिया पुग्दा उनको जीवनमा अर्को एक पात्रको प्रवेश भैसकेको रहेछ । मैले उनीहरु एकसाथ होटलमा बसेको कुरा पनि थाहा पाएँ । उनी मसँग रोइन् । मैले पनि ठिकै छ सुध्रिन्छौ भने एकपटकलाई माफी दिनुपर्छ भन्ने ठानें ।

फेरि म अर्कोपटक कार्यक्रमको सिलसिलामा दुबई पुगेको थिएँ । जया, दुई हप्ता घरबाट नै हराइछन् । फेरि त्यही केटासँग उनी बसेको थाहा पाएँ । मैले अति भयो भन्दै कुरा गर्दा उनले अब यस्तो गर्दिँन, भन्दै क्षमा मागिन् । कहिले त्यही केटासँग जान्छु भन्ने त कहिले सुध्रन्छु भन्ने उनको तरिका थियो ।

दुई पटकसम्म माफी दिएपछि म सहन नसक्ने अवस्थामा पुगेको थिएँ । मैले अब अति नै भयो, हामी एकसाथ बसेका पनि छैनौं, हामी मुस्ताङ जाउँ भने । यति भनेर हामी पोखरा गयौं । पोखराबाट मुस्ताङ जाने बेलामा उनले रिचार्ज कार्ड छुट्यो, लिएर आउँछु भनिन्, तर, आइनन् ।

पछि खोज्दै जाँदा एउटा केटासँग पोखराको होटलमा बसेको थाहा भयो । म अति नै भयो भन्दै पोखराबाट काठमाण्डौ फर्कँदै थिएँ । जयाले फोन गर्दै-‘तिमी लिन नआएको खण्डमा आत्महत्या गर्छु भनिन् ।’ मेरो मन फेरि पग्लियो ।

प्लेन क्यान्सिल गर्दै म उनलाई लिन गएँ । अब पूर्णरुपमा सुध्रन्छु, यस्तो गर्दिंन भनेपछि मैले उनलाई काठमाण्डौ लिएर आएँ ।

गत वर्ष यस्ता घटनापछि सम्बन्ध केही राम्रो भएको थियो । तर, जब म कार्यक्रममा जान्थें, उनी केटासँग बस्न थाल्थिन् । फोन गर्दा नउठाउने, साथीकोमा छु भन्ने बानीले फेरि मलाई हैरान बनायो ।

बिहे गरेको दुई वर्षसम्म हाम्रो सम्बन्ध राम्रो थियो । तर, यसपछि हाम्रो सम्बन्धमा निक्कै खटपट भयो । कतारमा बस्ने एक युवकसँग जयाको पाँच वर्षदेखि नै प्रेम रहेछ । हामी विगत दुई वर्षदेखि एकसाथ सुतेका पनि थिएनौं । उनी र म अलग-अलग स्थानमा सुत्थ्यौं ।

पहिलो वर्ष हामीले बिहेको एनिभर्सरी मनायौं । मैले ३ वर्ष राम्रोसँग एनिभर्सरी मनाउन नपाएकाले यस वर्ष राम्रोसँग मनाउनुपर्छ भन्ने सोचेको थिएँ । तर, एनिभर्सरीको तीन दिन अगाडिदेखि उनी एकाएक हराइन् ।

मसँग पैसा चाहियो भने मात्रै भेट्ने, हैन भने मतलबै नगर्ने बानी थियो उनको । हामीले सिटी सेन्टरमा बिहेको पाचौं वर्ष पनि मनायौं । नयाँ जीवनको सुरुवात अब गर्नुपर्छ भन्ने मलाई लागेको थियो । मैले राति एकसाथ सुतौं, अब बच्चाको पनि योजना बनाउनुपर्छ भनेको थिएँ । तर, उनले मेरो कुरा मानिनन् ।

रातको २ बजे उठ्दा जयाले त्यही कतारमा बस्ने केटासँग भाइबरमा कुरा गरिरहेको देखेँ । मैले उनको मोबाइल खोसेर हेर्दा त्यसमा ‘आई लभ यू’, ‘मेरो बुढा’ जस्ता शब्द लेखिएका थिए । त्यसपछि हाम्रो झगडा भयो । हामीले राति नै डिसिजन गर्‍यौं र अलग हुने निर्णय गर्‍यौं । असार २२ गते हामीले डिभोर्स पेपरमा हस्ताक्षर गरेका हौं ।

मेरो र जयाको फोनमा कुरा नभएको चार महिनाभन्दा धेरै भैसक्यो । उनी कतार जान्छु भन्दै थिइन्, खै कहाँ छिन् मलाई थाहा भएन । मैले त उनलाई चार पटकसम्म माफी दिएको थिएँ । तर, नसुध्रिएपछि के गर्नु ? मैले उनलाई आफ्नो तरिकाले जीउँछु भनेपछि स्वतन्त्रतापूर्वक छाडिदिएको छु ।

जयाको तस्बिर काठमाण्डौ क्रेजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment