Comments Add Comment

सार्क सम्मेलनलाई गिज्याउँदैछ ठमेल (फोटो कथा)

thamel  (15)
नविन अर्याल
२६ कात्तिक, काठमाडौं । आसन्न सार्क शिखर सम्मेलनको अवसरमा राजधानीलाई रमझम बनाउने काम तिब्र भइरहेका बेला काठमाडौं मुख्य पर्यटकीय क्षेत्र ठमेल भने कुरुप बन्न थालेको छ ।

राजधानीभित्रको अर्को राजधानीका रुपमा लिइँदै आएको ठमेल राजधानीभित्रको कुरुप स्थलका चिनिन थालेको छ । पछिल्ला वर्षहरुमा ठमेलले राजधानीको इज्यत जोगाउने भन्दा पनि राजधानीलाई नै गिज्याउन थालेको स्थानीय बताउँछ ।

तेस्रो मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकमध्ये करिव ८० प्रतिशत पर्यटक ठमेल पुग्ने गर्छन् । पर्यटकहरुको जमघट हुने ठमेल अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिलाउने ठाउँ हो । तर, कुरुप बन्दै गइरहेको ठमेलले नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा कस्तो पुर्‍याउला ?

झिलिमिली, पर्यटकको भिडभाड, सफा-सुन्दर, मन बहलाउने, नेपालको पहिचान झल्काउने, मस्तसँग निस्पिmक्री घुम्न पाइने, दिन बितेको पत्तै नहुनेलगायतका विशेषताहरुबाट ठमेल सुसज्जित हुनुपथ्र्यो ।

दुर्भाग्य भनौं, ठमेल बिग्रेको सडक, सवारीको भिडभाड, सडक पेटीमा पसल, छरिएका बिजुली तथा टेलिफोनका तारले अस्तव्यस्त छ । जथाभावी होर्डिङ बोर्ड, हिउँदमा धुलो उड्ने र बर्षायाममा पानी जम्ने समस्या देखिएको छ । साँघुरो सडकमा मस्तसँग घुम्न नपाइँदैन, कहाँबाट गाडीले हान्छ भनेर डराई-डराई हिँड्नुपर्छ ।

‘अन्तर्राष्ट्रिय जगतमा नेपालको ‘म्यासेज’ पुर्‍याउने ठमेल अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य हुनुपथ्र्यो, तर त्यसो हुन सकिरहेको छैन’ ठमेल विकास परिषदका अध्यक्ष रामशरण थपलिया भन्छन्- ‘ठमेललाई हेर्ने सरकारको दृष्टिकोण परिवर्तन हुन नसक्दा ठमेलको अवस्था सुधारिनुको सट्टा नाजुक बन्दै गएको हो ।’

पटक-पटक ताकेता गर्दा पनि ठमेल क्षेत्रको विकासमा रज्यले उदासीनता देखाएको थपलिया बताउँछन् । ठमेल पुग्ने पर्यटकले बाटोमा छरिएका तार, भत्केको सडक र अव्यवस्थित होर्डिङ बोर्डभन्दा बढी केही देख्न पाउँदैनन् ।

भिडियो

यस विषयमा पटक-पटक नेपाल विद्युत प्राधिकरण, सडक विभाग, पर्यटन मन्त्रालय, महानगरपालिका लगायतका सम्बद्ध निकायलाई झक्झकाउने काम गरे पनि सुनेको नसुन्यै गरेको स्थानीय व्यवसायीहरुको गुनासो छ ।

सरकारले यतिबेला सार्क शिखर सम्मेलनको अवसर पारेर राजधानी सिँगार्ने काम गरिररहेको छ । तर, सम्मेलनमा आउने पाहुना र अन्य पर्यटकहरु पुग्ने ठमेललाई सिँगार्न भने कञ्जुस्याईं गरेको थपलिया बताउँछन् । शायद मोदी ठमेल नजाने भएर हो कि ?

साँघुरो सडक भएका कारण मानिस र गाडी एउटै बाटोमा हिँड्नुपर्ने बाध्यता छ । मानिस हिँड्न भनेर बनाइएका पेटीमा व्यापारीहरुले बिक्रीका लागि समान सजाएर राखेका हुन्छन् ।

ठमेलमा ठूला-ठूला गाडीहरु कुदाएको पर्यटकहरुले मन नपराउने गरेको परिषद अध्यक्ष थपलियाको भनाइ छ । तर, गाडी प्रवेश रोक्ने कसले ? सम्बन्धित निकायको पहलबिना ठमेलमा गाडी चलाउन पाइँदैन भनेर भन्न नसकिने अवस्था रहेको उनले बताए ।

ठमेलको बाटो हुँदै बाहिर जाने सवारीका कारण जाम हुने गरेको छ । ठमेल प्रवेश गर्ने गाडीहरुमा ४० प्रतिशत बाहिर स्वयम्भु, बालाजु, सोह्रखुट्टे लगायतका स्थानमा जाने हुन्छन् । ठमेलमा स्कुलबसदेखि सार्वजनिक सवारी, टि्रपर, रिक्सा, मिनि ट्रक लगायतका गाडीहरु निर्वाध रुपमा चल्ने गरेको देखिन्छ ।

ठमेल: ‘नो भेहिकल जोन’
thamel  (29)‘हामीले बाहिरका गाडी प्रवेश गर्न नदिने भनेर पनि कुरा उठाएका हौं’ थपलियाले भने- ‘हाम्रो कुरा कसले सुन्थ्यो र ?’ विदेशीहरुले ‘ने भेहिकल जोन’ गराउनुपर्छ भनेर सुझाव दिइरहेको उनको भनाइ छ ।

ठमेलमा गाडी भिडले गर्दा पर्यटकको आगमन कम हुन थालेको छ । बाहिर छेउमा पार्किङको व्यवस्था गरेर भित्र मज्जाले घुम्न सक्ने व्यवस्था गर्न सकेमा यहाँको मुहार नै फेरिने व्यवसायी बताउँछन् ।

ठमेलमा बिगि्रएको सडक मर्मतमा पनि कसैले चासो देखाएको छैन । ठमेलको सडकमा ढुङ्गा छाप्न एडीबीसँग सम्झौता पनि भयो, कार्यक्रम स्वीकृत पनि भयो, तर डेढ वर्ष बितिसक्दा पनि काम भएको छैन ।

ठेकेदार बर्खामा हिलो हुने हुँदा ढुंगा छाप्न सक्दैन, व्यवसायीहरु हिउँदमा पर्यटकीय सिजन भन्दै ढुंगा छाप्न दिँदैनन । त्यसमाथि पर्यटकको पनि भिडभाड हुने गर्छ । त्यसो त ढुंगा छाप्दैमा समस्याको समाधान हुने होइन, जबसम्म ढलको निकास नगरी छापिन्छ । ठूला गाडीको प्रवेश निषेध नगर्ने हो भने ढुंगा छापे पनि धुलो-धुलो हुने पक्का छ ।

ठमेलको विकास गर्न भन्दै धेरै संस्थाहरु जन्मिएका छन, तर केही काम गर्न सकेको देखिँदैन । सरकार र संस्थाबीचको समन्वय नहुँदा सोचेजति काम गर्न नसकेको थपलियाको दाबी छ ।

ठमेलमा ३६ सय व्यवसायी र १२ सय घरधनी रहेका छन् । जहाँबाट सरकारले वाषिर्क २१ करोड रुपैयाँ स्थानीय कर उठाउँछ । ठमेलबाट उठ्ने करको केही अंशमात्र खर्च गरे पनि ठमेलको रुप परिवर्तन हुने बताउँछन् व्यवसायीहरु ।

विदेशमा पर्यटकीय क्षेत्र २४ घण्टै खुला हुन्छन् । यहाँ साझ पर्न नपाउँदै सुनसान हुन्छन् । लोडसेडिङका कारण सुरक्षा व्यवस्था चुस्त नहुने भएपछि रातभरि खुला गर्न बन्द गरिएको हो ।

‘यहाँका ८६ प्रतिशत व्यवसायीहरुले हस्ताक्षर गरेर ठमेललाई रातभरी खुला गर्न सहमति दिएका छन्’ थपलियाले भने- ‘सुरक्षा निकायले सुरक्षाको विषय देखाउँदै बन्द गरेका छन् ।’

सरकारले पनि पर्यटकको जमघट हुने ठाउँमा सडक बत्तीको व्यवस्था गरेर ठमेललाई रातभरि खुला गर्नुपर्ने हो । सरकारले एउटा ठाउँलाई रातभरि सुरक्षा दिन नसक्ने भन्ने कुरै आउँदैन । सरकारले सडक बत्ती राखेर भए पनि ठमेललाई रातभरि उज्यालो बनाएर खोल्नुपर्ने व्यवसायीहरुको माग छ ।

‘हामीले १५ देखि २० वटा स्टि्रट लाइट मागेका छौं, ती लाइटहरु मुख्य-मुख्य चोकमा राखेमा उज्यालो हुन्छ र राति हिँड्न सहज हुन्छ, सीसी क्यामेराले पनि काम गर्छन्, सुरक्षा व्यवस्था सहज हुन्छ’ थपलियाले भने- ‘यति गरेर २४सै घण्टा ठमेललाई खुला गर्न सकियो भने जतिवेला पनि फेस्टिवल जस्तै हुन्छ ।’

अस्तव्यस्त हुँदा ठमेलमा भीआइपी पर्यटक भित्र्याउन समस्या पर्ने व्यवसायी बताउँछन् । ठमेलमा भीआइपी पर्यटक आकषिर्त गर्न सबैभन्दा पहिला सडक खुला हुनुपर्छ भने सुरक्षा व्यवस्था पनि चुस्त हुनुपर्छ ।

ठमेललाई कुरुप बनाउने अर्को पक्ष हो अव्यवस्थित होर्डिङ बोर्ड । ठमेलका घरहरुमा यति धेरै होर्डिङ बोर्ड टाँगिएको छ, जसले घरको भित्तो पुरै छोपिएको देखिन्छ । ठमेलजस्तो क्षेत्रमा होर्डिङ बोर्डलाई व्यवस्थित बनाउनेतर्फ पनि सोच्नुपर्ने देखिन्छ ।

परिषदका अध्यक्ष थपलियाले प्राधिकरणले तार र महानगरपालिकाले होर्डिङ बोर्डको व्यवस्थापन नगरे आफै तात्ने दाबी गरे । उनले भने- ‘तारलाई बान्छौं, अव्यवस्थित बोर्ड हटाउँछौं, चरण-चरणमा गरेर ठमेलमा युरोपियन शैलीको डिजिटल विज्ञापन पद्दति अपनाउँछौं ।’

thamel  (22)
ठमेल व्यवसायिक केन्द्र बन्नुपर्छ

ठमेललाई पूर्णतया व्यवसायिक केन्द्र बनाउन सकेमा अहिलेभन्दा धेरै सुधार आउने व्यवसायीहरुको अपेक्षा छ । अहिले ठमेलमा व्यवसाय र बसोबास दुबै हुने गरेको छ । ठमेललाई विभिन्न भागमा विभाजन गरेर फरक-फरक ठाउँमा फरक-फरक वस्तुहरु पाइने व्यवस्था मिलाउनु आवश्यक देखिन्छ ।

यसो गर्न सकिएमा पर्यटकहरुलाई आफुलाई चाहिने वस्तुहरु खरिद गर्न र खान बस्न सहज हुन्छ । ठमेललाई पूर्ण व्यवसायिक केन्द्र बनाउन सकेमा यो सम्भव हुने थपलिया बताउँछन् । फरक मार्गमा फरक बिजनेश गर्ने र त्यसलाई चौबाटोमा सिग्नल बोर्ड टाँगेर जानकारी दिने गरी परियोजना तयार पारेको उनको भनाइ छ ।

रात बिताउने सुविधा छैन

ठूलो संख्यामा पर्यटकहरु ठमेल पुग्ने गरे पनि रात बिताउनका लागि उनीहरु बाहिर जानुपर्ने बाध्यता छ । ठमेलमा पर्यटक बसोबास गर्नेखालका पर्याप्त होटलहरु छैनन् ।

बैशाली होटल, होटल मस्र्याङ्दी, काठमाडौं गेष्ट हाउसलगायतका केही होटलहरु भए पनि त्यो प्रयाप्त नभएको बताउँछन् थपलिया । ठमेलमा सुरक्षा नभएर भन्दा पनि रुम नभएर पर्यटक रात बिताउनका लागि बाहिर जानुपरेको उनको भनाइ छ ।

thamel  (1) thamel  (2) thamel  (3) thamel  (7) thamel  (10) thamel  (12) thamel  (13) thamel  (17) thamel  (24)
thamel  (27)

तस्वीरः श्रीधर पाैडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment