Comments Add Comment

विश्व पर्यटनको आकर्षण बन्दैछ सार्क क्षेत्र

Lumbini
गाैतम बुद्ध जन्मस्थल लुम्विनी ।

३० कात्तिक, काठमाडौं । अनुपम प्राकृतिक विविधताले भरिपूर्ण सार्क राष्ट्र विश्व पर्यटन आकर्षणका लागि महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । विश्वको सर्वोच्च हिमशिखर सगरमाथालगायत आठ हजार मिटरभन्दा अग्ला १४ मध्ये १२ हिमशिखर दक्षिण एसियामैै पर्दछन् ।

प्राकृतिक र जैविक विविधतासँगै भू-परिवेष्टित भूगोल र जल परिवेष्टित विविधताको सङ्गमले यो क्षेत्रलाई अझै आकर्षण थपिदिएको छ । भू-परिवेष्टितमा नेपाल र भुटान छन् भने जल परिवेष्टित माल्दिभ्स र श्रीलङ्का पनि सार्क क्षेत्रमै रहेकाले हिमशृङ्खलाको रोमाञ्चकदेखि समुद्री तटको सौन्दर्यको आनन्द गर्न पाइने भएकाले पर्यटक लोभिने गर्दछन् ।

साहसिक पर्यटन, खेलकुद पर्यटन र विश्व चर्चित पदमार्गले पनि सार्कलाई पर्यटकीय हबका रुपमा विकास गर्दै लगेको पाइन्छ । प्राकृतिक र भौगोलिक विविधता, उच्च हिमाली हिमशिखर, पहाडका अग्ला डाँडाकाँडा, तराईका समथर फाँट तथा समुद्रको सङ्गमस्थल रहेको सार्क क्षेत्र तेस्रो मुलुकका लागि आकर्षणका माध्यम बनेका छन् ।

Pokhara-Bunjy-2
पाेखरा बञ्जी जम्प ।

पूर्वीय सभ्यताको उद्गमस्थल प्राकृतिक सम्पदाले भरिपूर्ण दक्षिण एसियाका आठ  राष्ट्र विश्वका जुनसुकै भागका बासिन्दाका लागि पनि आकर्षणको थलो बनेका छन् । सांस्कृतिक विविधता, अनुपम प्राकृतिक छटा, सांस्कृतिक धरोहर, पुरातात्विक महत्वका कलात्मक मठमन्दिर, पवित्र तीर्थस्थल आदिले पनि सार्कलाई आकर्षण थपेको छ । अनेकौँ विविधता र विशेषताले विश्व पर्यटन मानचित्रमा दक्षिण एसिया सर्वाधिक आकर्षकस्थलको रुपमा रहेको पाइन्छ ।

प्राकृतिक मात्र नभई मानव निर्मित भौतिक संरचना, पूर्वाधार विकास र सडक सञ्जाल विस्तार, औद्योगिकीकरणले सार्कलाई थप आकर्षक बनाउँदै लगेको छ ।     नेपालका पुरातात्विक कलात्मक मठमन्दिर, मूर्तिहरु  र भारतको ताजमहललाई उदाहरण लिन सकिन्छ ।

धार्मिक दृष्टिकोणले हेर्दा सार्क क्षेत्र विश्वका प्रमुख चारैवटा धर्म हिन्दू, बौद्ध, इस्लाम र इसाईको सम्मिश्रणको रुपमा रहेको छ । हिन्दू र बौद्ध धर्मको उद्गमस्थल एसियालाई मानिन्छ भने इस्लाम धर्मको बाहुल्यता रहेका प्रमुख राष्ट्र पनि यसै क्षेत्रमा छन् ।

Tajmahal-final
भारतमा रहेकाे ताजमहल

सार्क क्षेत्र हिन्दू र बुद्धिष्ट धर्मको महत्वपूर्ण स्थल हुन् । नेपालको लुम्बिनी र श्रीलङ्कामा रहेको भगवान् गौतम बुद्धको दाँतको मन्दिर पर्यटकका मुख्य आकर्षक गन्तव्य बनिरहेका छन् । त्यस्तैगरी नेपालको प्रसिद्ध पशुपतिनाथको मन्दिर, भारतका प्रख्यात, बनारस, देहरादुन, काशी, गया, बद्री केदारनाथ आदि रहेका छन् ।

नेपाल, श्रीलङ्का र भारतले तेस्रो मुलुकबाट पर्यटन भित्रयाउन बुद्धिष्ट, हिन्दू सर्किट निर्माणलगायतका साझा प्याकेजका कार्यक्रम पनि अघि बढाएका छन् ।

चाँदीका घेरा झैँ टल्कने हिमाली दृष्य, पहाडका अग्ला, डाँडाकाँडा, हरियो बनजङ्गल, नदीनाला, ताल तलैया, प्राकृतिक मनोरम झरना र तराईका समथर उर्बर फाँट आदि पर्यटक लोभ्याउने माध्यम हुन् । उच्च हिमाली शृङ्खला, काठमाडौँ उपत्यकाको सभ्यता र संस्कृतिको मानवनिर्मित धरोहर, प्राकृतिक रमणीयस्थल पोखरा, लुम्बिनीलगायतका स्थलले स्वदेशी तथा विदेशी पर्यटक तानिरहेका छन् ।

mountain-1
नेपालका सुन्दर हिमश्रृङ्खला

त्यसैगरी, बङ्गलादेशको ढाका, मुन्सीगञ्ज, नारायणगञ्ज आदि पर्यटकीयस्थलहरु हुन यता भारतको हिमाली शृङ्खला, दिल्ली, मुम्बइ, कोलकत्ता दार्जिलिङ, सिक्किम, गोवा नैनीताल त्यस्तै पाकिस्तानको हिमाली शृङ्खला, इस्लामावाद, लाहोर, कराँची, सिन्ध आदि, श्रीलङ्काको कोलम्बो अनुराधापुरा, क्यान्डी नुवारा, भुटानको थिम्पुलगायतका पर्यटकीय स्थलले विश्व पर्यटनलाई आकर्षण गरिरहेको छ ।

यसरी अनेकौँ विविधताले भरिएका दक्षिण एसियाली राष्ट्रहरुमा पर्यटन प्रवर्द्धका प्रशस्त सम्भावनाहरु बढ्दो क्रममा छ । हुन त सार्क क्षेत्रमा पर्यटकीय प्रचुर सम्भावना भए पनि त्यसअनुसारको प्रगति भने हासिल गर्न सकेको छैन । विकसित मुलुक युरोप र अमेरिका तथा एसियाका सम्पन्न शक्ति राष्ट्रहरुमा जसरी विश्व पर्यटन बजारले हिस्सा ओगटेको छ, त्यसअनुरुप अथाह पर्यटकीय सम्भावना भएका सार्क क्षेत्रमा पर्यटकको संख्या बढ्न सकेको छैन ।

संयुक्त राष्ट्र सङ्घीय पर्यटन सङ्घको सन् २०१३ को तथ्याङ्कअनुसार विश्वमा एक अर्ब आठ करोड ७० लाख पर्यटक पुगेका छन् । सन् १९५० मा दुई करोड ५० लाख पर्यटक थिए । सन् २०३० सम्म एक अर्ब ८० करोड ७० लाख पुग्ने अनुमान गरिएको छ ।

Kashi-bharat
भारतको प्रशिद्ध धार्मिकस्थल काशी ।

विश्व पर्यटनको कुल गार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान रहेको छ । सन् २०१३ मा विश्व पर्यटनमा  ११ खर्ब ५९ अर्ब डलरको कारोबार भएको छ । सन् २०१३ मा युरोपमा जाने पर्यटक ५६ करोड ३० लाख पुगेका छन् भने एसिया तथा प्रशान्तमा २४ करोड ८० लाख पुगेका छन् ।

त्यसैगरी अमेरिकामा १६ करोड ७० लाख, अपि|mकामा पाँच करोड ५० लाख र मध्यपूर्वमा पाँच करोड १० लाख पर्यटक पुगेका छन् । सोही अवधिमा दक्षिण एसियामा एक करोड ५० लाख पर्यटक पुगेका छन् । बर्सेनि करिब पाँच प्रतिशतले पर्यटक आगमनमा वृद्धि हुने गरेको पाइन्छ ।

नेपाल पर्यटन बोर्डको सन् २०१३ को विवरणअनुसार नेपालमा आठ लाख पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा बढी भारतबाट एक लाख ८० हजार ९७४ पर्यटक नेपाल आएका छन् ।

Lahore-final
पाकिस्तानको लाहाेर ।

सार्क राष्ट्रमा तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या बढिरहेको छ । भारतमा सन् २०१३ मा ८० लाख पर्यटक विभिन्न मुलुकबाट भित्रिएका थिए । सोही अवधिमा श्रीलङ्कामा १२ लाख ७४ हजार ५९३ पर्यटक पुगेका थिए । सामुदि्रक टापुको देश माल्दिभ्समा सबैभन्दा कम एक लाख मात्र पर्यटक पुगेका छन् ।

सार्क राष्ट्रमध्ये सबैभन्दा सानो भुटान बढी पर्यटनमा आत्मनिर्भर छ । त्यहाँ वाषिर्क ८० हजारभन्दा बढी पर्यटक भित्रने गरेका छन् । त्यहाँको आयआर्जनको प्रमुख स्रोतमध्ये पर्यटन व्यवसाय रहेको छ । भुटानले जैविक विविधता र प्राकृतिक स्रोत साधनको भरपुर सदुपयोग गरेको हुनाले त्यहाँ पर्यटक बढी पुग्ने गरेका छन् ।

सन् १९८६ मा भारतको बेङ्लोरमा भएको दोस्रो सार्क शिखर सम्मेलनले दक्षिण एसियामा पर्यटन प्रवर्द्धनको महत्व दर्साउँदै जनसम्पर्क अभिवृद्धि गर्ने कुरामा जोड दिएको थियो । जसअन्तर्गत जनसम्पर्क अभिवृद्धि गर्ने पर्यटन विकासका निम्ति तालिम सञ्चालन गर्ने, सहुलियतपूर्ण यात्रा दर र यात्रा कुपन प्रणालीको माध्यम अपनाइएको थियो ।

Shree-lanka
श्रीलंकाको पर्यटकीय स्थल ।

सार्क क्षेत्रलाई सामूहिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न विभिन्न साझा प्रयासहरु जस्तैः पूर्वाधार विकास, हवाई सेवाको विस्तार, प्रशासकीय पद्धतिको सरलीकरण, तालिम र संयुक्त बजारीकरण जस्ता माध्यमहरु अपनाउने कुरालाई ११औँ सार्क शिखर सम्मेलनले जोड दिएको थियो ।

पर्यटन प्रवर्द्धनको महत्वमाथि प्रकाश पार्दै १२औँ सार्क शिखर सम्मेलनले दक्षिण एसियाभित्रको पर्यटन विकासले आर्थिक, सामाजिक र सांस्कृतिक फाइदाहरु ल्याउन सक्छ । दक्षिण एसियाभित्र संयुक्त रुपले प्रवर्द्धन गर्न र हवाई सम्पर्कको माध्यमबाट दक्षिण एसियालाई पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको थियो ।

Bhutan
भुटानको पुनखा जिल्ला ।

सार्कले गरेको प्रतिबद्धता र निर्णयहरुको प्रभावकारी पालना नभएकाले सार्क क्षेत्रको पर्यटनले तीव्र गति लिन सकेको छैन । सार्क क्षेत्रमा सिधा हवाई सम्पर्क नहुनु सडक सञ्जाल विस्तारमा कमीलगायतका कारण सार्कभित्रिकै पर्यटक एकअर्का राष्ट्रमा बढ्न सकेका छैनन् । सांस्कृतिक, धार्मिक पक्षहरुको समग्र प्याकेजका कार्यक्रम ल्याउन नसक्नु तथा दक्ष जनशक्तिको विकास नहुनुजस्ता कारणले पनि पर्यटनले उचाइ लिन नसकेको हो ।

आगामी मंसिर १० र ११ गते काठमाडौँमा हुनलागेको १८औँ सार्क शिखर सम्मेलन पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । सम्मेलनलाई अवसरका रुपमा लिएर नेपालले यहाँका पर्यटकीय स्थलहरुको पहिचान गरी धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्वका वस्तु र स्थानीय उत्पादन र रहनसहनको प्रदर्शन गर्नसके नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुको साथै अन्य सदस्य राष्ट्रहरुका लागि पनि उदाहरण बन्न सक्दछ ।

सिवी अधिकारी/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment