
१ मंसिर, बारा । पशुबलीकै कारण विश्वप्रसिद्ध बाराको गढीमाई मेला सोमबारदेखि सुरु भएको छ । बाराको बरियापुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा मेला लाग्ने गर्दछ । पशुबली दिइने यो मन्दिरमा दुई साताअगाडि देखि नै मेला भर्न आउनेको भीड सुरु भएको छ ।
सोमवारबाट सुरु हुने यो मेला एक महिनासम्म लाग्ने मेला लाग्छ । गढीमाई मेला हेर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्दछन् भने छिमेकी राष्ट्र भारतबाट पनि उत्तिकै संख्यामा भक्तजनहरुको भीड लाग्ने गर्छ ।
मेलाका लागि बरियारपुरको मन्दिरआसपासका खेतमा टहराहरु निर्माण गरिएका छन् भने मन्दिर आसपासका क्षेत्रका विभिन्न पसलहरु राखिएका छन् ।
हजारौं पशुको बली दिइने यो मेलामा पशुबली रोक्न पशुअधिकारकर्मीहरु तथा विभिन्न क्षेत्रबाट आवाज उठ्ने गरेको छ । गढीमाई मन्दिरमा पशुबली दिने पुरानो प्रचलनलाई परिर्वतन गर्ने तर्फ सोंच्नुपर्ने बुद्धिजीवीहरुको भनाई छ । तर बली प्रथालाई रोक्नुपर्ने सर्वत्र चर्चा भए पनि पुरानो धार्मिक परम्परा भन्दै मन्दिर ब्यवस्थापन समितिले भने बली नरोकिने प्रष्ट्याएको छ ।
देशविदेशबाट लाखौंको संख्यामा हिन्दु धर्मावलम्बीहरु आउने यस मन्दिरमा यो वर्ष १५ हजार भन्दा बढी राँगाको बली चढ्ने अनुमान समितिको छ । सोमवारदेखि सुरु यो मेलामा मंसिर ११ गते पञ्चबली दिएर बली चढाउन सुरु गरिने मेला व्यवस्थापन समितिले जनाएको छ ।
मेलामा हरेक वर्षजसो झैं झगडा हुने भएकाले मेलालाई शान्तिपूर्ण र ब्यवस्थित गर्न भन्दै मेला अवधिभर बरियापुरमा मदीरा र मासु बिक्री तथा प्रयोगमा निषेध गरिएको छ ।
प्रतिक्रिया 4