१ मंसिर, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल राज्यलाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनी बनेको छ । सिप्रदी ट्रेडिङ प्रालिका अध्यक्ष सिद्धार्थ समसेर राणा पारिश्रमिकबाट सबैभन्दा बढी आयकर बुझाउने व्यक्ति बनेका छन् ।
एनसेलले नेपाल टेलिकमलाई पछाडि पार्दै राज्यलाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनी बन्न सफल भएको हो । अघिल्लो वर्ष नेपाल टेलिकम सबैभन्दा बढी आयकर बुझाउने कम्पनी बनेको थियो ।
टेलिकम भ्याटमा अगाडि
सोमबार राजधानीमा तेस्रो कर दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभागले एनसेललाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ । सरकारी स्वामित्वमा रहेको टेलिकम सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउने कम्पनी बनेको छ ।
उता सिद्धार्थ समसेर राणा भने लगातार दोस्रोपटक व्यक्तिगत आम्दानीबाट सबैभन्दा बढी आयकर बुझाउने नागरिक बन्न सफल भएका हुन् ।
विभागले कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०७०/७१ मा राज्यलाई धेरै कर बुझाउने व्यक्ति तथा कम्पनीको नाम सार्वजनिक गरेको हो । यही अवसरमा विभागले करमा ठूलो सहभागीता जनाउने एनसेलसहित करिव दुई दर्जन कम्पनीलाई अर्थमन्त्री डा. रामशरण महतको हातबाट सम्मान प्रदान गरेको छ ।
वित्तीय सेवातर्फ नबिल बैंक
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुबाट नबिल बैंक लिमिटेड सबैभन्दा बढी आयकर बुझाउने बैंक बनेको छ । सिप्रदी ट्रेडिङ प्रालि व्यापार व्यवसायबाट सबैभन्दा बढी आयकर बुझाउने कम्पनीमा परेको छ । सिप्रदी ट्रेडिङ सिद्धार्थ राणाको कम्पनी हो ।
निर्यात व्यवसायबाट किरण सुज म्यानुफ्याक्चर प्रालिले सबैभन्दा बढी आयकर तिरेको छ । त्यस्तै, होटल व्यवसायबाट सबैभन्दा बढी आयकर बुझाउनेमा सोल्टी होटल परेको छ ।
छिमेकी लघुवित्त विकास बैंक सबैभन्दा बढी आयकर तिर्ने लघुवित्त कम्पनी बनेको छ भने ओम हस्पिटल एन्ड रिसर्च सेन्टर स्वास्थ्य सेवातर्फ सबैभन्दा बढी आयकर बुझाउनेमा पर्न सफल भएको छ ।
बुद्ध एयर उड्यन क्षेत्रबाट पर्यो
पर्यटन उड्यन क्षेत्रबाट बुद्ध एयर, औषधी उद्योगबाट देउराली जनता फर्मासिटिकल्स, रेमिट्यान्स कम्पनीबाट इन्टरनेसनल मनि एक्सप्रेस (आइएमइ) उत्कृष्ट करदाता भएका छन् ।
त्यसैगरि, लेखापरीक्षकबाट सिएससी एन्ड कम्पनी, कानून व्यवसायीबाट पायोनियर एसोसिएट्स, शिक्षा सेवाबाट काठमाडौं मेडिकल कलेज सबैभन्दा बढी आयकर बुझाउने कम्पनी बनेका छन् ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल डाक्टरहरुमध्येबाट सबैभन्दा बढी आयकर बुझाउने नागरिक बनेका छन् । उनी ओम हस्पिटरल एन्ड रिसर्च सेन्टरमा आवद्ध रहेका छन् ।
तीन संस्था पनि सम्मानित
त्रिशक्ति ट्रेड सेन्टर मूल्य अभिवृद्धि करमा उत्कृष्ट सहभागिता जनाएको भन्दै सम्मानित भएको छ । त्यस्तै, उद्योग वाणिज्य महासंघ, नेपाल बैंकर्स संघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) कर संकलनमा सहयोग पुर्याएवापत सम्मानित भएका छन् ।
डा. रुपबहादुर खड्का उत्कृष्ट कर विज्ञ घोषित भएका छन् । उनी कर पुनरावलोकन आयोगका संयोजक समेत हुन् । अहिले यो आयोगले सरोकारवाला पक्षहरुसँग सुझाव संकलन तथा अध्ययन गरिरहेको छ ।
जीडीपीमा करको योगदान १७ प्रतिशत
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा करको योगदान २०/२२ वर्ष अगाडी ९ प्रतिशतमात्र रहेकोमा अहिले १७ प्रतिशत पुगेको बताए ।
‘त्यतिबेला १२ अर्ब राजश्व उठ्ने गरेको मलाई याद छ, अहिले हामी साढे ४ खर्ब राजश्व उठाउने लक्ष्य राख्न थालिसकेका छौं,’ महतले भने, ‘अर्थतन्त्र जति आधुनिक बन्दै जान्छ, करको दायरा फराकिलो हुँदै जान्छ र प्रत्यक्ष कर बढ्दै जान्छ ।’
मुलुकमा राजश्व बढी उठ्न थालेपछि विदेशी दातृ निकायसँगको परनिर्भरता समेत घट्दै गइरहेको महतले दाबी गरे । ‘२०/२२ वर्ष अगाडी कुल बजेटमा विदेशी ऋण तथा अनुदान सहयोगको हिस्सा ३७ प्रतिशत थियो, अहिले १८ प्रतिशतमा झरेको छ,’ उनले भने, ‘अहिले आन्तरिक राजश्व र ऋण परिचालन बढेको छ ।’
हृयूमन इन्डिकेटर्स बढ्दै छ
अर्थमन्त्री महतले लामो द्वन्द्वका बाबजुत पनि मुलुकले विकासमा राम्रो उपलब्धी हासिल गर्न सकेको दाबी गर्दै अरु विकाससिल राष्ट्रको तुलनामा नेपालको हृयूमन इन्डिकेटर्स राम्रो रहेको र औषत आयु ५४ वर्षबाट बढेर ६९ वर्ष पुगेको बताए ।
उनले कर संकलन चुस्त राख्नुपर्नेमा जोड दिँदै कर चुहावट गर्ने, संकलनमा ढिलाइ गर्ने, कर छल्ने कुनै पनि व्यक्ति वा संस्थालाई नछाड्ने चेतावनी दिएका छन् । राजश्व संकलनमा खटिएका कर्मचारीले पनि करदातालाई अनावश्यक झन्झट र दुख नदिई राजश्व संकन गर्न अर्थमन्त्री महतले आग्रह गरेका छन् ।
‘भ्याट र ट्याक्समा नन फाइल्स ३० प्रतिशत देखिएको छ, यसतर्फ कर्मचारीले ध्यान दिनुपर्यो, किन यति धेरै संख्यामा करदाताहरु ट्याक्स र भ्याट बुझाउन आएका छैनन् ?’ उनले भने ।
सोही अवसरमा विभागका उत्कृष्ट कर प्रसाशकहरुलाई पनि सम्मान गरिएको थियो । यसरी सम्मान हुनेहरुमा विभागका निर्देशकहरु गोपाल प्रसाद घिमिरे, लेखनाथ शर्मा, युज जतन कुमार राई, मदन दाहाल र शिवकुमार पोखरेल रहेका छन् ।
त्यसैगरि, प्रमुख कर अधिकृतहरु अविनाश राई, बद्री प्रसाद गौतम, दुर्गा दत्त भण्डारी, अर्जुन प्रसाद भट्टराई र जनकराज शर्मा पनि कर दिवसमा सम्मानित भएका छन् । त्यस्तै, कर अधिकृतहरु कपिल प्रसाद सुवेदी, नारायण रिजाल, मञ्जु अधिकारी, वेद प्रसाद खनाल पनि सम्मानित भए ।
लेखा अधिकृत किशोर श्रेष्ठ, डाटा इन्ट्री सुपरभाइजर भीम बहादुर विष्ट, खरिदार विद्या राई र कोदयी चौधरी, कार्यलय सहयोगी राजु थापा मगर पनि सम्मानित भएका छन् ।
विभागले कर दिवसको अवसर पारेर आयोजना गरेको निबन्ध प्रतियोगितामा सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमिका सरोज पौडेल प्रथम भएका छन भने सुकेधारास्थित बागमती बर्डिङ स्कुलका क्रिष्टल कर्माचार्य द्धितिय र कलंकीस्थित एलआरआई स्कुलकी प्रकृती थापा तृतिय भएकी छिन् ।
प्रतिक्रिया 4