Comments Add Comment

कांग्रेस एमालेको सात प्रदेश उत्तम : ईश्वर पोखरेल

ISHWOR-POKHREL
एमाले महासचिव इश्वर पोख्रेल अन्तरक्रियामा

२ मंसिर, विराटनगर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान जारी गर्ने माघ ८ गतेको डेटलाइनबाट एमाले कुनै पनि हालतमा पछि नफर्किने बताएका छन् ।

नेकपा एमाले मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा महासचिव पोखरेलले देशमा जस्तोसुकै परिस्थिति आइपरे पनि माघ ८ गते नै संविधान जारी भएर छाड्ने ठोकुवा गरे ।

एमाले र कांग्रेसले अघि सारेको सात प्रदेशको साझा प्रस्ताव उत्तम रहेको महासचिव पोखरेलले दाबी गरे । सात प्रदेश नेपालको भौगोलिक बनावट र आर्थिक अवस्थाअनुसार अत्यन्तै सान्दर्भिक भएको उनको जिकिर थियो ।

धेरै प्रदेश राज्यले धान्न नसक्ने भएकाले ७ भन्दा बढी बनाउन नहुने उनले जोड दिए । एमाओवादीले भनेजस्तो जातीय आधारमा प्रदेश निर्माण गरिए त्यसले भविष्यमा ठूलो दुर्घटना निम्त्याउने पोखरेलले बताए ।

जातीय आधारमा प्रदेश निर्माण गरे कालान्तरमा गएर देश गृहयुद्धमा जान सक्छ भन्दै महासचिव पोखरेलले साझा पहिचानका आधारमा राज्यको नामांकन र सीमांकन गर्नुपर्ने बताए ।

सहमति नभए प्रक्रियाबाट

संविधान निर्माणको अन्तिम डेटलाइन माघ ८ नै  भएकाले प्रकृयामा गएर भए पनि माघ ८ मा संविधान जारी हुने पोखरेलले दाबी गरे । ‘सहमतिका लागि अन्तिम प्रयास जारी रहनेछ यदि भएन भने प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने कुरा टुंग्याइने छ,’ उनले भने ।

दोस्रो संविधानसभाको निर्वाचनमार्फत जनताले कांग्रेस र एमालेलाई संविधान बनाउने जिम्मेवारी दिएको उल्लेख गर्दै यदि माघ ८ मा संविधान जारी भएन भने दलहरूबीच जनविश्वास घट्ने बताए ।

एमाले महासचिव पोखरेल पार्टी संगठन सुदृढीकरणबारे एमाले कार्यकर्तालाई सम्वोधन गर्न मंगलबार विराटनगर आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment