+
+
Shares

व्यंग्य : कांग्रेस, एमाले र राप्रपाको सम्मानजनक एकीकरण

धेरै दलहरुले हाम्रो लोकतन्त्रलाई धान्न धौ धौ परिरहेकोयथार्थ हो । २०४७ को संबिधानमा तीन प्रतिशत थ्रेशहोल्डको व्यवस्थाले गर्दा दलहरूको बन्ध्याकरण हुँदै हुँदै संसदमा जम्माजम्मी आधा दर्जन जति दलमात्र थिए । त्यतिखेर पनि निर्वाचन आयोगमा दर्तावाल दलको सङ्ख्या भने लगभग अहिलेकै जस्तो थियो । तर,जम्मै दर्तावाल दलले संसद भवन टेक्न पाउँदैनथे । तर, अबको नयाँ संबिधानमा थ्रेसहोल्ड राख्ने व्यवस्था विशेषगरी साना दलहरूको विरोधको कारण करीब करीब असम्भव भएकाले दलको सङ्ख्या घटाउने सजिलो उपाय भनेको मन मिल्ने दलहरुको सम्मानजनकएकीकरण नै हो।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १४ गते १८:४२

शैलेश भट्टरार्इ

धेरै दलहरुले हाम्रो लोकतन्त्रलाई धान्न धौ धौ परिरहेकोयथार्थ हो । २०४७ को संबिधानमा तीन प्रतिशत थ्रेशहोल्डको व्यवस्थाले गर्दा दलहरूको बन्ध्याकरण हुँदै हुँदै संसदमा जम्माजम्मी आधा दर्जन जति दलमात्र थिए । त्यतिखेर पनि निर्वाचन आयोगमा दर्तावाल दलको सङ्ख्या भने लगभग अहिलेकै जस्तो थियो । तर,जम्मै दर्तावाल दलले संसद भवन टेक्न पाउँदैनथे । तर, अबको नयाँ संबिधानमा थ्रेसहोल्ड राख्ने व्यवस्था विशेषगरी साना दलहरूको विरोधको कारण करीब करीब असम्भव भएकाले दलको सङ्ख्या घटाउने सजिलो उपाय भनेको मन मिल्ने दलहरुको सम्मानजनकएकीकरण नै हो।
Sailesh-Bhattaraiदलको नाम, झण्डा, चुनाव चिन्ह, संस्थापक, पृष्ठभूमि, लिखित नीति-सिद्धान्त-कार्यक्रम भिन्दा भिन्दै भए पनि पार्टी एकीकरणको लागि सबैभन्दा उर्वर, आकर्षक र भरोसायोग्य दलहरु भनेका नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी यी तीन दल हुन्। अर्थात् यी तीन दलको एकीकरण सजिलो छ । सम्भव छ । न्यायपूर्ण छ । र, उचित पनि छ ।
तथापि २०४७ सालपछिको करीव एक दशकसम्म काङ्ग्रेस, एमाले र राप्रपा यी तीन दल एकैपटक मिल्नु भनेको कोशी, गण्डकी र कर्णालीको त्रिवेणी भेट्टाउनुजस्तै थियो । एकीकरण त परको कुरा ।तथापि राप्रपासँग भने दुबैको दमदार दोस्ती थियो । अर्थात् काङ्ग्रेस र एमाले दुवैको मिलनविन्दु चाहिँ राप्रपा थियो । मिलनको मियो भने फरक फरक थिए। रूखका मियो सूर्य थिए भने एमालेका मियो चन्द थिए । अर्थात् चन्द-सूर्य एमाले काङ्ग्रेसका एकताका प्रतीक थिए।
पहिलो संबिधानसभामा यी दलहरूको नेतृत्वमा २२ दलीय मोर्चाको आकर्षक अभ्यास पनि भइसकेको हो, जसरी अहिले एमाओवादी यही अभ्यास गर्दैछ । अनि दोस्रो संबिधान सभाको चुनावको सङ्घारमा साझा उम्मेदवारको बिषयमा गहन छलफल चलाएका हुन् काङ्ग्रेस र एमालेले । बडो मखलेल मुद्रामा फुर्किंदै एकजना एमालेका थिङ्क ट्याङ्क मानिएका नेताले भनेका थिए-‘हामी दुई मिलेर चुनाव लडे कसैले नचिहाए हुन्छ।’ भलै त्यो प्रयास असफल भयो र कतिपयले चिहाउन पाए। त्यसैको एउटा‌‍ श्रृङ्खला हो वर्तमान गठबन्धन सरकार ।
अब एकीकरणको कुरा गरौँ । पहिला एकीकृत पार्टीको नामको कुरा गरौँ । काङ्ग्रेसलाई कम्युनिष्ट शब्ददेखि सनातनी घृणा छ। महामानव वीपीकै विरासतमा पाएको पैतृक घृणा हो यो । ’माले मण्डले मसाले एकै हुन्’ भन्ने पवित्र वाणीबाट दीक्षित ठूलो जमात त्यहाँ कृयाशील छ । नजाने यो घृणा कति पुस्तासम्म रहने हो ।त्यसैले एकीकृत पार्टीको नाममा कम्यूनिष्ट शब्द काँग्रेसलाई स्वीकार्य हुनेछैन । एमाले ‘के निहूँ पाऊँ कनिका बुक्याउँ’ को पोजमा बसेको धेरै भो । अर्थात् के वाहनाले यो शब्द छोडौ भन्ने मौकाको ताकमा छ ऊ । त्यस्तो ताक जसले भोट पनि नघटाओस्, कोट पनि नमैलियोस्। ‘कम्यूनिष्ट’ शब्द त हाम्रो ‘ब्रान्ड नेम’ मात्रै हो यो देखि किन तर्सनु हुन्छ? भनेर कुनै विदेशी दूतलाई त्यो दलका ठूला नेताले कन्भिन्स गर्न खोजेको कुरा पनि यो सन्दर्भमा स्मरणीय छ ।
अनि नेकपा एमाले अर्थात् नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) लाई आफ्नो नामको छ शब्द मध्ये तीन शब्द ‘नेपाल’, ‘एकीकृत’ र ‘पार्टी’ मात्रै प्यारो छ। ‘ब्रान्ड नेम’को प्रसङ्ग र मार्क्स-लेनिनको फोटो फ्याँक्ने फर्मूलाबाट पनि यो कुराको पुष्टि हुन्छ । भर्खरै सकिएको नवौं महाधिवेशनमा यी दार्शनिकको तस्वीरको तमासाले पनि यसै कुरालाई टुट दिन्छ । त्यसैले एकीकृत पार्टीको नाममा कम्युनिष्ट, मार्क्स र लेनिन शब्द हुने छैनन् ।
एमालेलाई एकीकृत पार्टीको नाम नेपाली काङ्ग्रेस पनि किमार्थ स्वीकार्य हुनेछैन। किनभने यसले सरासर एमालेको काङ्ग्रेसमा विलयलाई संकेत गर्दछ । यसले उसको स्वाभिमानमाथि आँच आउँछ ।काङ्ग्रेस जुन नाममा सहमत हुन्छ, त्यही नाममा राप्रपा गद्गद् हुनेछ ।
अब साझा नाम खोज्दा एकीकृत पार्टीको नाम ‘एकीकृत नेपाली राष्ट्रिय काङ्ग्रेस’ राख्दा तीनै दललाई मान्य हुने देखिन्छ ।यसमा एमालेको प्रिय शब्द ‘एकीकृत’ र राप्रपाको ‘राष्ट्रिय’ शब्द अनिकाङ्ग्रेसको त आफ्नो पुरानो नाम ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ नै आइहाल्यो । त्यसैले तीनै दललाई यो नाममा गर्वानुभूति हुनेछ । राष्ट्रिय शब्द बीचमा थप्दा आफ्नो राष्ट्रियताप्रतिको विगतको अडान र गतिविधि पनि प्रतिबिम्बित हुने अनि विलयको आभास पनि नहुने हुँदा यो नाममा एमालेलाई हर्षको थप अनुभूति हुनेछ । तर कार्यकर्ताले आपत्ति जनाउने छन् । ‘काङ्ग्रेस’ नाममा किन एकीकरण गरेको भनेर । त्यसपछि एमाले नेताहरूले तरह तरहका तर्कवर्षा गर्नेछन् । ‘काङ्ग्रेस शब्द कम्यूनिष्ट शब्दको विपरीतार्थक शब्द होइन’ भन्नेछन् । यसलाई प्रमाणित गर्न देश विदेशका उदाहरणहरू दिनेछन् । दस्ताबेज र डिक्श्नरी देखाउनेछ्न् ।
किनभने एमालेकै बडे बडे नेताले काङ्ग्रेस भनेको रद्दी,घटिया, पतीत, राष्ट्रघाती, भ्रष्टाचारी, सामन्ती , दलाल, कोशी बेचुवा,गण्डकी बेचुवाको पार्टी हो भनेर बिगतमा विशेषगरी २०४६ सालपछिआफ्ना कार्यकर्तालाई चिनाएका छन् । मानौं ‘काङ्ग्रेस’ शब्दको परिभाषा नै यही हो । त्यसले गर्दा धेरै कार्यकर्तालाई अझै पनि काङ्ग्रेसको शाब्दिक अर्थ नै तीनका बडे–बडे नेताले भनेकै हो भन्ने छ। जे जस्तो भए पनि एमाले आफ्ना कार्यकर्तालाई एकीकृत नाममा कन्भिन्स गर्न भने सफल हुनेछ ।
नामको कुरो मिलिसकेपछि अब झण्डाको कुरा । नेकपा एमालेलाई माओवादीले आफ्नो चुनाव चिन्ह हँसिया-हथौडा लिएपछि हँसिया हथौडाप्रति घनघोर घृणा उत्पन्न भएको छ। उसै पनि उसका सभा सम्मेलनहरूमा हँसिया हथौड़ा अंकित झण्डाभन्दा सूर्य चिन्ह अङ्कित झण्डा धेरै देखिन्थे। सर्बसाधारणले पनि हँसिया हथौडायुक्त झण्डा बोकेर हिँड्नेलाई शायद अब एमाले भन्दैनन् । एक किसिमले यो झण्डा उसलाई टोक्नु न बोक्नु भएको छ। त्यसैले झण्डाकोझन्झटबाट मुक्त हुने यो झक्काँस अवसर सदुपयोग गर्न एमालेझुक्किने छैन । अर्कोतिर काँग्रेसलाई भने ठीक विपरीत छ। ज्यानजाला तर छोड्दैन चारतारा ।
चारतारे झण्डालाई एकीकृत पार्टीको झण्डा बनाउँदा ठूलो बोझबाट मुक्त भएर एमाले चङ्गा हुनेछ । राप्रपा ठूलो झण्डामुनि झण्डीकृत हुनपाएकोमा दङ्ग हुनेछ । काङ्ग्रेस आफ्नो झण्डाको व्यापकतादेखि फुरुङ्ग हुनेछ । एमालेका कार्यकर्ता भने केही दिन झसङ्ग हुनेछन् तर प्रशिक्षण पछि बिस्तारै आफ्नो दलको नयाँ झण्डामुनि तीनलाई नयाँ उमङ्ग आउनेछ । त्यसैले झण्डाको कुरामा काङ्ग्रेस, एमाले र राप्रपा तीनै दल ‘विन विन’ पोजिशनमा हुनेछन्।
अब कुरा गरौं, चुनाव चिन्हको। यसो हेर्दा अलिअलि सकस पर्नेयसैमा देखिन्छ । रूख राख्दा राप्रपालाई आपत्ति हुने कुरै भएन । हलो राख्दा काङ्ग्रेसलाई पनि आपत्ति हुने कुरा भएन । तर, एमालेले घोर आपत्ति जनाउने छ र भन्ने छ- ‘झण्डा पनि चारतारा, नाम पनि काङ्ग्रेस अनि चुनाव चिन्ह पनि रूख राख्ने भए केलाई पार्टी एकीकरण भनिराख्या ? सम्मानजनक एकीकरण नभई हाम्रो पार्टीलाई कदापी स्वीकार्य हुनेछैन । त्यसैले चुनाव चिन्ह चाहिं सूर्य नै हुनुपर्छ अरू हामीलाई मान्य हुनेछैन।’ तर सूर्य राख्न राप्रपा र काँग्रेस दुवै मान्ने छैनन् ।
फेरि दुइचार दिनपछि वार्ता हुनेछ । त्यसमा पनि उही ताल । अझ चट्टानी अडान पेश गर्नेछ एमालेले । उसको अर्जुनदृष्टि सूर्य चिन्हमै हुनेछ । किनभने उसले आफ्नो झण्डालाई भन्दा चुनाव चिन्ह सूर्यलाई बढी माया गरेको स्थिति हो।
फेरि दुइचार दिनपछि अर्को निर्णायक वार्ता हुनेछ कुनै रिसोर्टमा । विषय त्यही नै । साझा चुनाव चिन्हको खोजी । नेपाली काङ्ग्रेसको प्रयत्न रूख राख्नेमा हुनेछ भने एमाले कुनै हालतमा पनि चुनाव चिन्ह चाहिं सूर्य नै राख्नु पर्ने अडानमा हुनेछ । यतिकैमा वार्ता शुरू हुनेछ । तर, त्यो वार्ता पनि विफल ।
वार्ताका यस्ता धेरै श्रृङ्खलापछि एउटा अन्तिम तर निर्णायक वार्तामा काँग्रेसका नेता एमालेलाई फकाउने क्रममा भन्नुहुन्छ-‘ हेर्नुस् रूख नभए जीवन हुन्न, जीवन नभए हामी हुन्नौं’। फर्निचर, काठपात, घाँस, दाउरा रूख बिना सम्भव छ त ?’ यस्तै यस्तै के के भन्दै थिए । एक एमाले नेता मुड्की कस्दै कड्किए-‘तपाइँले हामीलाई पाँच किलासको विद्यार्थी ठानेर रूख शीर्षकको निबन्ध पढाइरहनु भा’हो ?’
त्यही बार्तामा नेपाली काँग्रेसका थिङ्क-ट्याङ्क मानिने एक नेता बोले-‘तपाईहरुले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रूखलाई रूख मात्रै भनेर बुझ्नाले समस्या भैरहेको जस्तो लाग्छ । यो रूख त रूखै हो तर चिलाउनेको रूख हो ।” उनले फेरि थपे- ‘त्यसैले अब हामी हाम्रो साझा चुनाव चिन्ह पीपलको रूख राखौं । कहाँ पिपल कहाँ चिलाउने । निकै फरक भो नि होइन ?’
एमालेका अर्का नेता भन्छन्- ‘तपाईंहरूले हामीलाई के ठान्नु भएको? तपाईंहरूले जे भन्यो त्यो मान्ने तपाइँहरूको सेवक ?’
‘उसै त हामीलाई काङ्ग्रेसको पुच्छर भनेर कार्यकर्ताले नाना थरिका आरोप लगाइसके । त्यसमाथि कतिपयले त भाइ-काङ्ग्रेस भनेर छेड हान्छन् ।’
यत्तिकैमा एमालेका अर्का जोशिला नेता जोशिन्छ्न् – ‘तपाईंको र हाम्रो पार्टीको नाम एकैचोटि जोडिएर आउन थालेको धेरै भो । यसले पनि एकीकरणको आवश्यकता जन्माएको हो। यसमा दुइमत छैन । जनताले पनि एकै दलको जस्तो व्यवहार गर्न थालिसकेका छन् । भोट घट्दा दुई भाइकै घट्ने अनि भोट बढ्दा दुई भाइकै बढ्ने देखिएको छ । तर, हामीलाई लगाएजस्तो आरोप तपाईंहरूलाई कहीं कतैबाट छैन । त्यसैले चुनाव चिन्ह चाहिं सूर्य नै हुनुपर्छ ।’
अर्का निर्णायक नेताले कुरो टुङ्ग्याउने पारामा भने- ‘यदि सूर्य कुनै हालतमा हुँदैन भने पीपलको रूख पनि हुँदैन । रूख त झन् ज्यान गए नि हुन्न।’ उनले थपे- ‘जेमा पनि जहिल्यै पनि जसरी पनि जहाँ पनि काङ्ग्रेसकै हात नै माथि पर्नु पर्छ भन्ने छ र ?’
‘त्यसैले चुनाव चिन्ह रूद्राक्षको रूख राखौं । हुन्छ भने हामी सहमत हुन्छौं अन्यथा वार्ता भङ्ग ।’ यसरी एकीकृत पार्टीको चुनाव चिन्ह रूख नै कायम हुनेछ । सरी ! ‘रुद्राक्षको रूख’ कायम हुनेछ ।
कार्यकर्ताले एमालेलाई प्रश्न गर्नेछन्- ‘आखिर चुनाव चिन्ह पनि काङ्ग्रेसकै लिएर छाड्यौ नि होइन ?’ एमाले भन्नेछ –‘रूख र रूद्राक्षको रूख कसरी एउटै भो ? होटल हो भन्दैमा बानेश्वरको एभरेष्ट होटल र मुङलिनकी माइली दिदीको स्टाफ होटल एउटै हो भन्न मिल्छ ? स्कुल भन्दैमा पाटनको रातो बङ्गला स्कुल र खोटाङको भानु प्रा.वि.एउटै हो? कहाँ कांग्रेसको चिलाउनेको रूख कहाँ एकीकृत पार्टीको रूद्राक्षको रुख !’
यति भनिसकेपछि सब चुप । अनि रुद्राक्षको महिमा र उपयोगिताको पाठ कार्यकर्तालाई पढाउने छन् ।
अब कुरो पार्टी अध्यक्ष कसलाई बनाउने भन्ने बिषयमा । कुन तत्व ज्ञानबाट प्रेरित भएर हो काङ्ग्रेसले अध्यक्षमा भने एमालेबाट प्रस्ताब गर्छ तर नाम नतोकी । एमालेका अध्यक्षका आकाङ्क्षीहरू चारजना भएकाले अब कसलाई छान्ने भन्ने चौविधामा पर्नेछ एमाले । कसैको नाममा सहमति जुट्दैन । तर, बैठक भने दिनमा तीन चारपटक बसिरहनेछ बसिरहनेछ । अध्यक्ष कसलाई बनाउने भन्ने बिषयमा केन्द्रित भएर । तर, हात लाग्यो शून्य । सहमति हुनेछैन । गूट भन्दामाथि कोही पनि उठ्न सक्दैनन्।
निकै दिनपछिको कुनै बैठकमा फ्याट्ट कसैले लोकेन्द्रबहादुर चन्दको नाम लिनेछ । दुई मिनेटमै पारित । अर्थात् एकीकृत दलका अध्यक्ष लोकेन्द्रबहादुर चन्द ।आफ्नो दलभन्दा माथि उठेर प्रस्ताब गर्नेछ एमालेले ।काङ्ग्रेस भन्छ- ‘लोकेन्द्रबहादुरजी र सूर्यबहादुरजीमा खासै केही भिन्नता छैन ।त्यसैले सूर्यबहादुरजीलाई नै बनाउँ है ।’ एमाले तुरुन्तै राजी । एमालेको कार्यकर्तालाई दिने रेडिमेड जवाफ तयार छ –‘आखिर सूर्य त हाम्रै हो नि ! हाम्रो चुनाव चिन्हलाई एकीकृत दलको अध्यक्ष नै बनाइयो।’ ‘चानचुने उपलब्धि होइन यो ।थोक उपलब्धि हो ।’
उसैपनि एमाओवादीलाई काँग्रेस र एमाले मिलेर सरकार चलाएको चित्त बुझेको छैन र भनिरहेको छ- ‘संसारको कुनै पनि संसदीय व्यवस्था भएको मुलुकमा पहिलो र दोस्रो दल मिलेर सरकार चलाएको इतिहास अति कम छ त्यो पनि असाधारण सङ्क्रमणकालीन अवस्थामा मात्रै ।’ त्यसमाथि एकीकरण नै भयो भन्ने सुन्नासाथ सबैभन्दा पहिले र सबैभन्दा धेरै तिल्मिलाउने दल एमाओवादी नै हुनेछ । अरूबेला भने काँग्रेस, एमाले र राप्रपामा अब कुनै भिन्नता छैन भनेर व्यङ्ग्य–वाण हानिरहने ऊ यो एकीकरणलाई भनेअप्राकृतिक र षड्यन्त्रमूलक एकीकरण अनि परिवर्तनको वहावलाई रोक्नका लागि गरिएको पानी-फोके एकता भन्नेछ ।
यो एकीकरणपछि ऊ आफू पनि त्यही बाटोमा अग्रसर हुन वाध्य बन्नेछ । एकीकरणका लागि भूरे टाकुरे दलहरू खोज्नतिर लाग्नेछ । दोस्रो संबिधानसभाको चुनावपछि मरिच झैं चाउरिएको उसले‘एकीकृत नेपाली राष्ट्रिय काङ्ग्रेस’लाई चुनौती दिन पनि एकीकरण नगरी हुँदैन । यसको रिहर्सलको रूपमा बाइस दलीय मोर्चाको अभ्यास जारी छ । यो एमाओवादीको अल्पकालीन वाध्यता भएपनि कालान्तरमा कुनै नयाँ शक्ति आएपछि उसको पनि ‘एकीकृत नेपाली राष्ट्रिय काङ्ग्रेस’ संग यस्तै सम्मानजनक एकीकरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?