+
+
Shares

अब बाबुरामले कसरी प्रयोग गर्लान् विवेक ?

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १७ गते १५:३२

१७ मंसिर, काठमाडौं । बुधबार बिहानै सिंहदरबारमा बसेको चार दलको बैठकले डा. बाबुराम भट्टराईलाई विवेक प्रयोग गर्न दिने निर्णय गर्नासाथ सामाजिक सञ्जालमा धेरैले प्रतिक्रिया र जिज्ञासा व्यक्त गरेका छन् कि अब डा. बाबुरामले कसरी विवेक प्रयोग गर्लान् ?

संवैधानिक सम्वाद तथा सहमति समितिले संविधानसभालाई पठाउनुपर्ने प्रतिवेदनमाथि विवाद चर्किएको हप्तौं बितिसकेको छ । कांग्रेस र एमालेका नेताहरुले आफ्नो सात प्रदेशको प्रस्तावलाई प्रतिवेदनमा समेट्नुपर्ने बताउँदै आएका थिए । एमाओवादी र मधेसवादीले त्यसलाई अनुसूचीमा हाल्नुपर्ने अडान राख्दै आएका थिए ।

फाइल फोटो
फाइल फोटो

पछिल्लो समय मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एक मधेस प्रदेशको खाकासहित ९ प्रदेशको प्रस्ताव दर्ता गराएका छन् । प्रक्रियाको विवाद लम्बिएपछि दलहरुले बुधबार विहान डा. बाबुराम भट्टराईले स्वविवेक प्रयोग गर्ने अधिकार दिए ।

बुधबार दिउँसो बसेको सम्वाद समितिको बैठकले पनि भट्टराईलाई अधिकार दिने सहमति अनुमोदन गरेको छ ।

दलहरुले सम्वाद समितिका सभापतिलाई विवेक प्रयोग गर्न दिने भने पनि प्रतिवेदनको विषयवस्तुबारे नेताहरुवीच छलफल र सहमति भइसकेको छैन । अब कांग्रेस र एमालेको प्रस्ताव प्रतिवेदनमा समेट्दा यादवको प्रस्तावलाई समेत ध्यान दिनुपर्ने बाध्यता डा. भट्टराईलाई छ ।

बाबुरामलाई विवेक प्रयोग गर्न दिने सहमतिलाई नेताहरुवीच भएको अर्ध वा उधारो सहमति मान्न सकिन्छ । एक अर्थमा यो खाली चेकमा गरिएको हस्ताक्षर हो । अब यसमा रकम भरेर बैंकबाट भँजाउने जिम्मेवारी समितिका सभापति डा. भट्टराईको हातमा गएको छ ।

भट्टराईको सम्भावित विकल्प : थप छलफल आवश्यक भएको भनी संविधानसभासँग समय माग गर्दै प्रतिवेदन पठाउने । यसरी प्रतिवेदन पठाउँदा समितिमा केही सभासदहरुले पेश गरेको भन्दै कांग्रेस, एमालेसहितका विभिन्न दलले दर्ता गरेको प्रस्तावबारे सामान्य जानकारी गराउन सकिन्छ ।

तर, यो जोखिमयुक्त विकल्प अघि सार्नुअघि प्रस्ताव संविधानसभामा निणर्याथ पेश नहुने सुनिश्चित गर्नु पर्ने माओवादीसहितका २० दलको माग छ । यसका लागि सभापति बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग पनि अहिले प्रष्ट कुरा गर्नुपर्छ ।

स्रोतका अनुसार फेरि सम्वाद समितिलाई समय दिने र निर्णयार्थ पेश पनि नगर्ने गरी कांग्रेस-एमालेसहितका दलहरुले दर्ता गरेको प्रस्तावलाई प्रतिवेदनमा राख्ने सहमति लगभग भएको छ ।

तर, कांग्रेस र एमालेले बहुमतका आधारमा सम्वाद समिति सहमति जुटाउन सअफल भयो भन्दै प्रश्नावली बनाउन अर्को समितिलाई दिए के गर्ने भन्ने प्रश्न विपक्षले उठाउने गरेका छन् ।

यस्तो अवस्थामा संविधानसभा नै अवरुद्ध गर्नेसम्मको कदम चाल्ने विपक्षको चेतावनी छ ।

जे होस्, निकै दिनको गलफत्तीपछि दलका नेताहरु जसरी ‘विवेक प्रयोग गर्न दिने’ सहमतिमा पुगे, यसबाट सत्ता पक्ष र प्रतिपक्ष दुबै सिंगौरीपछि थाकेका गोरुजस्तै बन्न पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?