निमुसंगम घर्ती
२४ मंसिर, घोराही । फेसबुक र मोबाइल फोनको माध्यमबाट प्रेम गर्न र विवाह बन्धनमा बाँधिन जति सजिलो छ, त्यसरी हतारमा गरिने बिवाह निमेषभरमै टुट्न सक्छ भन्ने दृष्टान्त दाङमा बढिरहेको सम्बन्ध विच्छेदले देखाएको छ ।
दाङ जिल्लामा श्रीमान-श्रीमतीबीच सम्बन्ध विच्छेद गर्ने क्रम बढेको छ । जिल्ला अदालतमा दैनिक ३/४ वटा सम्बन्ध बिच्छेदका निवेदन दर्ता हुन थालेका छन् ।
सम्बन्ध विच्छेद गर्नेमा उमेरले नेटो काटिसकेका ७३ वर्षका वृद्धासमेत छन् । सम्वन्ध विच्छेदका लागि कतिपय जोडी विद्यालय पोशाकमै अदालत आउने गरेको न्यायाधीश बताउँछन् ।
गत साउनदेखि मंसिर २१ गतेसम्म ८३ वटा सम्बन्ध विच्छेदका निवेदन दर्ता भएको जिल्ला अदालतले जानकारी दिएको छ । दिन प्रतिदिन सम्बन्ध विच्छेदका मुद्दा थपिने गरेको अदालतका नायब सुब्बा केशवराज श्रेष्ठले जानकारी दिए ।
किन बढ्दैछ सम्बन्धविच्छेद ?
सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगारी बन्ने गरेको अदालत स्रोत बताउँछ । श्रीमानले विदेशमा दुःख गरी पठाएको पैसाको विषयमा बढ्ने असमझदारीले सम्बन्ध विच्छेदमा मद्दत पुर्याउने गरेको छ ।
‘श्रीमानले पैसा हिनामिना गरेको भनेर श्रीमतीलाई आरोप लगाउने गरेपछि बढ्ने विवादले सम्बन्ध विच्छेदमा सहयोग पुर्याउने गरेको छ,’ जिल्ला अदालतका मुख्य न्यायाधीश विश्वमंगल आत्रेयले भने, ‘यसको मुख्य कारण वैदेशिक रोजगारीपछिका परिणाम हुन् ।’
त्यस्तै अल्लारेपन र अपरिपक्व विवाहले पनि सम्बन्ध विच्छेद बढेको उनको ठम्याइ छ ।
‘फोन र फेसबुकबाटै विवाहको निधो गर्ने युवायुवतीहरु छन्,’ उनले भने, ‘स्कुल ड्रेसमै आएर सम्बन्धविच्छेद गरेका समेत घटना पनि छन् । हतारमा विवाह गर्ने र फुर्सदमा पछुताउनुको परिणाम नै सम्बन्ध विच्छेद हो ।’
विवाह भनेको के हो भन्ने थाहै नभएकाहरुले घरजम गर्दा सम्वन्ध बिगि्रएको न्यायाधीश आत्रेयको विश्लेषण छ ।
छोडपत्र गर्नेहरु बढेका बढ्यै
अदालतका नायव सुब्बा केशवराज श्रेष्ठका अनुसार आर्थिक बर्ष ०६९/७० मा २ सय ३५ वटा निवेदन दर्ता भएकोमा १ सय ७५ जोडीकोे सम्बन्ध बिच्छेद भएको छ ।
आर्थिक बर्ष ०७०/७१ मा २ सय ५५ वटा मुद्दा परेका छन् । अघिल्लो आर्थिक बर्षबाट सरेका ६० र पछि परेका १ सय ९५ गरी २ सय ५५ मुद्दा रहेको श्रेष्ठले जानकारी दिए ।
गत आर्थिक वर्षमा २ सय ५५ मध्ये १ सय ९० वटा सम्बन्ध विच्छेदको फैसला भएको थियो । यसवर्ष ६५ वटा मुद्दा थपिएका छन् ।
केही मुद्दाहरुमा १७ देखि ७३ बर्ष उमेरका महिलाहरुले पनि सम्बन्ध बिच्छेद गराएको अदालतको भनाइ छ ।
अदालतमा कुनै दिन ७ वटासम्म सम्बन्ध बिच्छेदका निवेदन दर्ता हुने गरेको तथ्यांकमा देखिन्छ । सामान्यतः दैनिक २/३ वटा निवेदन आउने गरेको श्रेष्ठ बताउँछन् ।
सम्बन्ध विच्छेद गर्नेहरुमा अधिकांश २० देखि ३० बर्ष उमेर समूहका रहेका छन् ।
प्रतिक्रिया 4