
२६ मंसिर, काठमाडौं । पोलिटव्यूरो सदस्य निर्वाचनको प्रक्रिया शुरु गर्न पार्टीको निर्वाचन आयोगलाई निर्देशन दिदै एमाले केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।
बिधानको बिबाद समाधान कार्यदलको सुझाव पेश भएपछि निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो । कार्यदलले एक कार्यकाल केन्द्रीय सदस्य भएकाले पोलिटव्यूरो सदस्य हुन पाउने निष्कर्ष निकालेको छ ।
यसअघि पदाधिकारी बैठकले पोलिटव्यूरो सदस्यको चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाललाई दिएको थियो ।
पार्टी पदाधिकारीको शुक्रवार विहानदेखि बसेको बैठकमा पोलिटव्यूरो सदस्यको मापदण्ड र नाममा सहमति नजुटेपछि ओली र नेपाललाई त्यसको जिम्मा दिइएको हो ।
पदाधिकारी बैठकले स्थायी कमिटी सदस्य छान्ने जिम्मा पनि ओली र नेपाललाई नै दिएको सचिव पृथ्वीसुब्बा गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।
यसलाई एमालेमा उत्पन्न विवाद अन्त्य गर्ने महत्वपूर्ण कदमका रुपमा लिइएको गुरुङले बताए । ‘दुवै नेताले सहमतिमा नाम टुंगो लगाएमा धेरै राम्रो हुनेछ,’ उनले भने ।
विधानमा सहमति भइसकेको अवस्थामा ओली र नेपालले सहमतिबाट बढिमा ४० जना पोलिटव्यूरो सदस्यको नाम टुंगो लगाएपछि निर्वाचन प्रक्रियाबाट टुंगो लगाइने स्रोतले जनाएको छ ।
एमाले विधान अनुसार केन्द्रीय कमिटीको एक तिहाई पोलिटव्यूरो सदस्य निर्वाचन हुनेछन् । त्यस हिसाबले पोलिटव्यूरो बढिमा ५५ सदस्यीय हुनेछ ।
पदाधिकारी स्वतः पोलिटव्यूरो सदस्य हुँदा तेस्रो बरियताका नेता माधवकुमार नेपाल समेत १६ जना बाहेक अन्य ३९ जनाको निर्वाचन हुनेछ ।
स्रोतका अनुसार अध्यक्ष ओलीले आफ्नो पक्षको बहुमत हुने गरि माधव नेपालसँग सल्लाह गरेर पोलिटव्यूरो सदस्यको टुंगो लगाउनेछन् ।
ओली निकट केही नेताहरुले चुनावमा जान दवाव दिइरहेका छन् । तर चुनावमा गए बहिस्कार गर्ने नेपाल पक्षको तयारी छ ।
पदाधिकारी बैठकमा लामो छलफलपछि सहमतिका आधारमा स्थायी कमिटी र पोलिटव्यूरो सदस्यको नाम टुंगो लगाउन दुई नेतालाई जिम्मेवारी दिइएको हो ।
एक कार्यकाल केन्द्रीय सदस्य भएका पोलिटव्यूरो सदस्य बन्न पाउने
यसैबीच एमालेको विधानमा उत्पन्न विवाद टुंगो लगाउन गठन भएको दुई सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश गरेको छ ।
उपाध्यक्ष भीम रावल र महासचिव इश्वर पोखरेलको कार्यदलले एक कार्यकाल केन्द्रीय सदस्य भएकाले पोलिटव्यूरो सदस्य बन्न पाउने सहमति गरेको छ ।
बैठकमा निष्कर्ष पेश गर्दै रावलले पोलिटव्यूरो सदस्यको योग्यता एक कार्यकाल पूर्ण वा वैकल्पिक केन्द्रीय सदस्य भएको हुनुपर्ने बताएको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।
यसअघि माधव नेपाल पक्षले दुई कार्यकाल केन्द्रीय सदस्य भएकाले मात्र पोलिटव्यूरो सदस्य हुन पाउनुपर्ने बताउदै आएको थियो ।
विधानमा सहमति र पोलिटव्यूरो सदस्यका लागि नामावलीमा सहमति जुनाउने जिम्मा ओली-नेपाललाई दिइएपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया शुरु गरेको छ ।
प्रतिक्रिया 4