Comments Add Comment

स्पेनका नेपालीको समस्या र समाधान

गंगाप्रसाद भुसाल

हामी दूतावासको कुरा हरेक समय उठाईरहेका छौ, परिवार पुनर्मिलनको कुरामा पाइने दुःख कष्ट र आर्थिक पीडा भोगिरहेका छौं । फ्रान्समा रहेको दूतावासले हामीलाई गर्न सक्ने सहयोगकोबारेमा बहस गरिरहेका छौं । हामीसँग धेरै  समस्याहरु  छन्,  एकाध समस्या कुटनीतिक हुन् भने धेरै समस्याका समाधान हामी आफैसँग छन् । तपाई हाम्रो फ्रान्समा रहेको दूतावासको काम पासपोर्ट बनाउने मै सीमित छ । हाम्रो मृत शरिर उठाउने हैसियत उसले राख्दैन ।  हाम्रो सरकारसँग हाम्रा लागि लगानी गर्ने आर्थिक स्थिति कतिको छ र स्पेनमा रहेका नेपालीबाट नेपालमा भित्रने आयस्रोत कति छ भन्ने कुरा पनि सरकारले  हेरिरहेको हुन्छ ।

म जन-प्रगतिशील मञ्च स्पेनमा आबद्ध रहेर त्यसलाई सुक्ष्म रुपमा अध्ययन गरेकोले आफ्नो बुझाई राख्न सान्र्दभिक ठान्छु । नेपाल सरकारले हाम्रो दुःख, कष्ट र समस्या भन्दा पनि हामीबाट हुने आयस्रोत हेरेर लगानी गर्छ । मैले दुई पटकसम्म दिएको ज्ञापनपत्र र परराष्ट्र मन्त्रलयसँको मेरो अनुभवले त्यही भन्छ । हुन त यहाँ समस्या समाधान गर्ने भन्ने बहस धेरै चलिरहेका छ, एकाध प्रयास पनि नभएका होइनन् । कुरो के हो, भने सम्बन्धित निकायमा पुगेर कुरा राख्ने काम भयो कि भएन त भन्ने सवाल हो । सन् २०११ मा जन-प्रगतिशील मञ्च स्पेनले मेरो आफ्नै नेतृत्वमा दुई पटकसम्म परराष्ट्रमन्त्रीलाई दिएको ज्ञापनपत्र र सरकार परिवर्तनपछि पनि त्यसको निरन्तरताको लागि एमाओबादी पार्टी कार्यालयको  विदेश विभागमा बुझाईएको ज्ञापनपत्र नै स्पेनबाट सम्बन्धित निकायमा लिखित रुपमा प्रस्तुत गरिएको पहिलो स्पेन समस्याकोबारेमा नेपाल सरकारलाई गराईएको जानकारी थियो ।

हाम्रो देशको घृणित राजनीति दलाल पूँजीपति र बिदेशीको इसारामा चल्ने सरकार र पार्टीहरु कहीँ कतै सुन्छन् भने यतिबेला आफ्ना कार्यकर्ताको सुन्छन् । त्यसैले नेपाल परराष्ट्र मन्त्रालयमा दबाब दिन जुन पार्टीको मन्त्रि छन्, उनकै संगठनले पहल गर्नुपर्छ र त्यसमा हामी सबैले सहयोगी भूमिका निभाउनु पर्छ ।

एनआरएन लगायत अन्य संस्थाले पनि प्रयास नगरेको भन्ने होइन । उहाँहरुले पनि धेरै प्रयास गर्नु भएको छ तर बिडम्बना हामी मिलेर हाम्रा समस्या सम्बन्धित निकाय सम्म पुर्याउन सहकार्यसम्म गर्न सकेनौं । एनआरएन स्पेनलाई प्रयोग गरेर टीभी च्यानलसम्म पुग्ने जमर्काे गरियो । स्पेनमै रहेका अन्य संगठनलाई निषेध गरेर रिपोर्टस क्लबमा कार्यक्रम गरियो । स्पेन समस्याको बारेमा गरिएको कार्यक्रममा यहाँकै एउटा सस्थाको सचिवले बस्ने ठाउँ नै नपाएर हिड्नु परेको इतिहास हामीसँग छ । दुःखका साथ भन्नुपर्छ, केही आफूलाई ठूलो संगठन भन्न रुचाउने साथीहरुको संकिर्णताले एनआरएनलाई नाम कमाउनकै लागि प्रयोग गरिएको इतिहास हामीसँग छ ।

समस्या समाधानको लागि इच्छा शक्ति चाहिन्छ र  त्यसै अनुरुप प्रयास हुनु पर्छ । यहाँ आफू र आˆनो संगठनको नामको चिन्ता समस्या समाधान भन्दा पनि बढी छ ।  अहिले पनि मेरो बिचारमा एनआरएनलाई  पुँजीपति वर्गले मजदुर वर्गलाई आफू अनुकुल प्रयोग गर्ने तथा केही व्यक्तिको कमाउने थलो बनाईएको छ ।  एउटा जमात भने आफ्नाे अनुकुल प्रयोग गर्नको लागि  मन्दिर पनि भन्न रुचाउँछ । जसलाई पछिल्लो चरणमा दलालीकरण गर्ने प्रयास गरिदै छ । मान्छे बेच्ने दलालदेखि  मजदुर ठग्ने लम्पटहरुकोबारेमा पछिल्लो चरणमा धेरै नै सुन्नमा आएका छन् ।

भर्खरै एनआरएन स्पेनको आयोजनामा गरिएको इआरएमको भेलालाई हेर्न सकिन्छ त्यसै समय पारेर एकजना साथीका भाइ २,४ दिन स्पेन घुमेर गएका थिए भने यहाँ रहेका संघ-सस्था महिनौदेखि अरु काम र समस्यालाई एकातिर छाडेर उनीसँगै घुमिरहेको लज्जास्पद स्थिति छ । उनले एनआरएनका कागजपत्र दुरुपयोग गरे कि भन्ने शंका गर्न सकिन्छ । तर प्रमाण फेला पार्न सकिएन भने कारबाही गर्ने अधिकार कसैलाई पनि हुँदैन । इआरएम भेलामा उठाईएका कुराहरु ठिक थिए । एफएम सम्मका पत्रकारलाई बोलाईएको हुँदा प्रष्न उठाउने प्रसस्त ठाउँ थियो  । एनआरएनको नाममा दलाली त भएन भनेर सोच्ने ठाउँ थियो तर त्यसको अन्त्य प्रक्रियामा भन्दा व्यक्तिमा लगेर टुंग्याउन खोज्नु कति उपयुक्त थियो । यसको जवाफ यहाँका संस्थाहरुले दिने कि नदिने ? एनआरएनले उनी गलत छैनन् भनेर प्रमाणित गर्ने कि नगर्ने यी बहस भने भइरहने छन्, अब हामी समस्याको समाधानतिर लागौं ।

स्पेनमा नेपाली राजदूतावास
युरोपमा रहेका नेपालीहरुको गन्तब्य बनेको स्पेन र पोर्तुगल जहाँ कार्ड बनाउन सजिलो देखिन्छ । आफ्नाे देश छाडेर अर्काको देशमा त्यो पनि स्पेन, पोर्तुगल जस्तो ठाउँमा आएर बस्नु रहर नभएर बाध्यता हो । कुनै पनि देशले  आयात र निर्यातमा सन्तुलन मिलाउन सकेन भने अन्ततः  बैदेशिक रोजगारको रुपमा नागरिक निर्यात गर्न पुग्छ । हामी देशबाट निर्यातित नागरिक दिल्लीको गल्लीदेखि अरबको खाडी हुँदै युरोप, अमेरिकासम्म पुगेका छौं । हाम्रो चाहना आफ्नो देशमै  रोजगारीको अवसर मिलाउन नसके पनि सरकारले बैदेसिक रोजगार अंगाल्न बाध्य भएका हामी देशबाट निर्यात नगरिकको रेखदेख गर्नुपर्छ भन्ने हो र त्यसका लागि आवाज उठाइरहेका छौं ।

हामीले मागेको यति मात्र हो । यसैमा पनि हाम्रो देशको घृणित राजनीति दलाल पूँजीपति र बिदेशीको इसारामा चल्ने सरकार र पार्टीहरु कहीँ कतै सुन्छन् भने यतिबेला आफ्ना कार्यकर्ताको सुन्छन् । त्यसैले नेपाल परराष्ट्र मन्त्रालयमा दबाब दिन जुन पार्टीको मन्त्रि छन्, उनकै संगठनले पहल गर्नुपर्छ र त्यसमा हामी सबैले सहयोगी भूमिका निभाउनु पर्छ । त्यसैले प्रवासी नेपाली संघको नेतृत्वमा स्पेनमा नेपाली दूताबास स्थापना पहलकदमीको लागि भनेर एउटा समिति निर्माण गरि प्रयास अगाडि बढाउनु उपयुक्त हुन्छ र सबै तिरबाट एकीकृत रुपमा पहल गर्नु जरुरी छ । हुनत एनआरएनको नेतृत्व भन्ने कुरा आउला तर एमालेका मन्त्रिले आˆनो संगठनको कुरा नसुनेर एनआरएनको कुरा सुन्दैनन् चाहे त्यो शेष घलेले किन नभनुन् यो हाम्रो राजनैतिक बिडम्बना नै हो ।

परिवार पुनर्मिलन सम्बन्धि समस्या
प्रक्रियाको बेला बुझ्ने क्रममा दिइने सास्ती र घुस लेनदेन समस्या । मेडिकल भारतबाट नै गर्नुपर्ने र आर्थिक रुपमा पारिएको बोझ र अन्य । प्रथमतः यी समस्या बिश्वासका कारणले पैदा भएका हुन् र अर्को कुरा समस्याकोबारेमा भारतीय बिस्तारबादी प्रवृति हाबी छ । संसारको जुन कुनामा रहे पनि हामी सबै भन्दा बढी ठगिएका छौ भने त्यो भारत या भारतीय नागरिकबाट नै ठगिएका छौं ।

यसको प्रमुख जड भनेकै हेपाहा प्रवृति र टुलुटुलु हेर्ने हाम्रो सरकार हो, जसले भारतलाई प्रभु सम्झिन्छ र आफ्ना समस्या अनुरोधको रुपमा राख्ने गर्छ । विस्तारबादले अनुरोधको भाषा बुझ्दैन, त्यसलाई कमजोरीको रुपमा ग्रहण गर्ने गर्छ । प्रमुख दोषी अरु नै भए पनि केही दोष भने हामीसँग पनि छ । मैले परराष्ट्र मन्त्रालय मार्फत बुझ्ने क्रममा मेडिकलको बारेमा बुझ्दा २१ वर्षको छोरालाई १७ वर्षको बनाएर ल्याउँन खोज्दा समातिएको कारण देखाइयो र अन्तरवार्ता दिने क्रममा एउटा बच्चालाई बाबु कहाँ छन भनेर सोध्दा मेरो बुबा त स्कुलमा पढाउनु हुन्छ, ठूलो बुबा स्पेन हुनुहुन्छ भनेर दूतावासमा दिएको बयान नै हामीलाई विश्वास गर्न नसक्नुको प्रमुख कारण हो ।

हामीहरुको अविश्वासको कारणले एउटा इन्डियन  एजेन्सीलाई जाँचबुझ सुम्पिएको हो । आˆनो डकुमेन्ट सबै ठिक हुँदा हुँदै पनि सजिलोको लागि पैसाको बिटो बुझाउने एकाध गलत प्रवृतिले पनि उनीहरुलाई अझै उत्साह थपेको देखिन्छ । एजेन्ट मार्फत भइरहेको ज्यादतिको बारेमा दूतावासमा जानकारी गराउने निकाय नहुनु ।  स्पेन सम्बन्धि हेर्ने कन्सुलर अम्बिका श्रेष्ठसँग सहकार्य गरेर अगाडी बढ्न नसक्नु र उहाँको  समय अभाव पनि केही समस्या पैदा गरेका छन् ।

सबभन्दा पहिला त हामी आफूले गर्ने काम प्रक्रिया सहि हुनुपर्छ र हामीले यहाँको संस्थाको र नेपाली दूतावास फ्रान्सको सहकार्यमा अम्बिका श्रेष्ठ मार्फत यथार्थ कुरा इन्डियामा रहेको स्पेनिस दूताबास सम्म पुर्याउने पहल गर्नु जरुरी छ । अम्बिका मार्फत प्रक्रियामा जाँचबुझ (स्थलगत रिपोर्ट) मा भएको लापरबाही पैसा माग्ने र अनेक दुःख दिने कुराको बारेमा दूतावासलाई विवरण प्रस्तुत गर्दै त्यो अधिकार अम्बिका श्रेष्ठको मातहतमा ल्याउन सकियो भने मात्र पुनर्मिलन सम्बन्धि समस्या समाधान हुनेछ ।

साथै यहाँ आइपर्ने हरेक समस्यामा राजनैतिक संकिणता र व्यक्तिगत लुछाचुँडीलाई छाडेर सबै स्पेनमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुबीच  एकता र सदभाव नै बिदेशमा एक अर्कामा आइपर्ने समस्या समाधानको कडी बन्ने छ ।

(भुसाल जन-प्रगतिशील मञ्च स्पेनमा आवद्ध हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment