Comments Add Comment

अन्तराष्ट्रिय खेलाडी बन्ने पूजा बोहराको धोको

Puja-bohara

  • पूजा बोहरालार्इ चेस्ट प्याडसहितका खेल सामाग्री प्रदान गर्दै कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट

राजकुमार श्रेष्ठ

१५ पुस, काठमाडौं । एसएलसी परीक्षा दिन जाँदा सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहरा जब होसमा आइन्, त्यसबेलादेखि उनलाई लाग्यो कि किक पञ्च हान्न जानेको भए ‘अपराधी’हरुबाट बच्थेँ कि ?

बलात्कृत पूजाले यतिखेर आत्मरक्षाका लागि तेक्वान्दो सिकेकी छन् । साथै उनले खेलमा अन्तराष्ट्रिय पदकसमेत जितेकी छन् । उनको धोको राष्ट्रिय खेलाडी बन्ने रहेको छ ।

बैतडीको कैलापाल गाविसकी पूजा राम्रो अंक ल्याएर पास हुने र भविश्यमा इञ्जिनियर बन्ने सपना लिएर एसएलसी परीक्षा दिन पाटनबजार गएका बेला बलात्कृत भएकी थिइन् ।

दुई दिनको परीक्षापछि गणित विषयको तयारीका लागि गेसपेपर लिन बजार गएकी १४ वर्षकी पूजाको जीवनमा कल्पनै गर्न नसक्ने घटना भयो । पुस्तक पसले सागर भट्ट र सँगै फोटो स्टुडियो चलाएर बसेका अमर अवस्थीले उनको सामुहिक बलात्कार गरे ।

उनले हालै मात्र कानूनमन्त्रीलाई सम्बोधन गर्दै सार्वजनिक रुपमा लेखेको पत्रअनुसार गर्मी भएर पानी मागेर खाँदा वाकवाक लाग्यो । उनी ट्वाइलेट सोध्दै गइन्, जहाँ उनको अस्मिता लुटियो ।

जब होसमा आइन्, उनी पाटनस्थित मानसिक अस्पतालको बेडमा थिइन् ।

अहिले उनी रक्षा नेपालको आश्रयमा बसेर न्यायको लडाइ मात्र लडिरहेकी छैनन्, तेक्वादो खेलाडी बनेर देशको नाम राख्न मेहनत गरिरहेकी छन् ।

तेक्वान्दो सिक्नुको कारण खुलाउँदै पूजाले अनलाइनखबरसँग भनिन्-‘त्यसबेला मैले धेरै बच्ने प्रयास गरेँ । तर, सकिँन । किक पञ्च हान्न जानेको भए आफ्ना रक्षा गर्न सक्थेँ कि भन्ने लागेर मैले तेक्वादो सुरु गरेकी हुँ ।’

पूजाकै आग्रहमा डेढ वर्षअघि ‘रक्षा नेपाल तेक्वान्दो डोजाङ’ गठन गरेर प्रशिक्षण सुरु भयो ।

अन्तराष्ट्रिय पदक

कडा मेहनतपछि पूजाले अन्तराष्ट्रिय पदकसमेत जितेकी छन् । हालै दक्षिण कोरियामा भएको आठौं विश्व तेम्वान्दो एक्सपोमा उनले पदक जितेकी हुन् । सुरुमा केही डर लागेको उनले सुनाइन् ।

‘तर, अशोक गुरुले निकै महनत गराउनुभयो र पदक जित्न सफल भएँ’ उनले भनिन् ।

पूर्व राष्ट्रिय खेलाडी अशोक खड्काले पूजासहितका रक्षा नेपालका बालबालिका तेम्वाक्दो सिकारहेका छन् ।

पूजा अब पढाइसँगै खेललाई अघि बढाएर राष्ट्रिय खेलाडी बन्न र देशको नाम राख्न चाहन्छिन् । ‘देशलाई चिनाउने अबसर खेलकुदमा हुने भएकाले यसलाई निरन्तरता दिन चाहन्छु’ पुजाले भनिन्-‘जे घटना भए पनि म आफ्नो सपनाको शिखर चुम्न चाहन्छु ।’

उसले त उनले स्कुल पढ्दा नै भलिबलमा आफूलाई सावित गरिसकेकी थिइन् । उनकै कप्तानमा उनको स्कुलले राष्ट्रपति रनिङ शिल्ड जितेको थियो ।

‘म जुन ठाउँमा जन्मिएँ, सुदरपश्चिममा महिलाहरु बाहिर गएर खेलेको बोलेको नराम्रो मान्ने कुसंस्कार छ’ आफू खेलमा लाग्नुको कारण सुनाउँदै उनी भन्छिन्-‘मलाई सानैदेखि केटाले मात्र किन खेल्ने भन्ने लाग्यो ।’

पूजालाई दीपकको सहयोग

पूजा बोहराले तेक्वान्दोमा पदक जितेको थाहा पाएपछि कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले सहयोगको हात बढाएका छन् ।

उनले मंगलबार रक्षा नेपालमा रहेका तेक्वान्दो खेलाडीहरुलाई झण्डै एकलाखको खेल सामाग्री प्रदान गरे । साथै उनले पूजाले खेलका लागि आवश्यक पर्ने सबै सामाग्री उपलब्ध गराउने बचन दिए ।

पूजालाई सम्बोधन गर्दै उनले भने-‘अब तिमीलाई आफूलाई बलियो बनाउनुपर्छ र खेल्नुपर्छ । तिम्रो साथमा हामी छौं, सारा नेपाली छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment