Comments Add Comment

गीतकारका रूपमा स्थापति हुँदै बैंकर

बहारमा रमाउने प्रयास बाँकी छ
फेरि तिमी आउने आश बाँकी छ
कसले भन्यो मायाको खेल खत्तम भो ?
बाजी मार्न तुरुपको तास बाँकी छ

शुक्रबार हात्तिसारस्थित एपेक्स डेभलपमेन्ट बैंकको कार्यालयमा साहित्यिक कुराकानी गर्न पुगेकाअनलाइनखबरकर्मी पुष्प दुलाल र श्रीधर पौडेललाई एपेक्स बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द उपाध्यायले गजलका शेरसँगै स्वागत गरे ।

पछिल्लो समयमा सांगीतिक क्षेत्रमा उदाएका उपाध्यायको यो गजल केही महिनाभित्र रेकर्ड हुँदैछ । हालसम्म उनका ४० वटाभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।

यसअघि उनले दुईवटा एल्बम सार्वजनिक गरिसकेका छन् । ०७० जेठ ५ गते सार्वजानिक भएको ‘सत्यता’मा १० वटा गीत समेटिएका छन् भने ०७१ मंसिर २७ गते सार्वजनिक भएको सत्यता भाग २ मा ७ वटा गीत छन् । सत्यता भाग दुईको एउटा गजल यस्तो छ :

म सराबी म सराबी, म सराबी,
हल्का हल्का पिएँ त के भो खराबी ?

‘पहिलो एल्बम स्रोताले अत्यधीक रुचाएपछि एक वर्षभित्रै अर्को एल्बम निकालेँ’ उपाध्यायले भने ।
उनले पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्दा ०४६ सालदेखि गीत लेख्न सुरु गरेका थिए । तर, व्यवसायिकरुमा गीत लेख्न थालेको भने १० वर्ष भयो ।

गोविन्द उपाध्याय
गोविन्द उपाध्याय

उपाध्यायले रचना गरेका शब्दमा चर्चित गायकहरु अञ्जु पन्त, मनोजराज, शिव परियारदेखि नवोदित गायक राज सिलवाल, निकिता थापालगायतको स्वर छ ।

पहिलो एल्बममा समेटिएको अञ्जु पन्तले गाएको ‘कहिले मिलन कहिले बिछोड कथा जिन्दगीको, कहाँ बिसाउँ कहाँ पोखौं व्यथा जिन्दगीको’ गीत स्रोताले अत्यधीक रुचाएको उपाध्यायले सुनाए ।

‘खासगरी म मानव जीवनका भोगाइहरु शब्दमा उतार्न चाहन्छु, दिलबाट लेखेको गीत दिलले नै मन पराउँछ’ उनले भने -त्यसैले मेरा गीतहरुले छोटो समयमा नै मलाई स्थापित गराए ।

०५६ सालमा नेपाल बंगलादेश बैंकदेखि बैंकिङ करियर सुरु गरेका उपाध्याय एनआइसी, सिटिजन्स, ज्योति विकास बैंकको उच्च व्यवस्थापनमा बसेर काम गरिसकेका छन् । एक वर्षदेखि उनी एपेक्स बैंकको सीइओकोरुपमा कार्यरत छन् ।

बैंकिङ क्षेत्र निकै कडा मिहेनत गर्नुपर्ने क्षेत्र हो । यस्तो क्षेत्रको उच्च व्यवस्थापनमा बसेर पनि कसरी गीत लेख्न सके त गोविन्दले ? उनी भन्छन्-बैंकिङ क्षेत्र सँधै तनाव हुने क्षेत्र हो, म तनाबबाट मुक्ति लिनका लागि गीत लेख्छु ।’ अहिले पनि हप्तामा कम्तिमा दुईवटा गीत लेख्ने उनले बताए । बैंकिङ क्षेत्रमा पनि उपाध्यायले छोटो समयमै उल्लेख्य प्रगति गरेका छन् ।

कमिटमेन्ट, डेलिकेसन र सेक्रिफाइस गीत लेखनका लागि अत्यावश्यक तत्व भएको उनले बताए । आफू पैसा कमाउने उद्देश्यले गीत लेखनमा लाागेको नभई आत्म सन्तुष्टिमा लागेको उनी बताउँछन् ।

‘मैले मौद्रिक आर्जनका लागिभन्दा पनि आत्म सन्तुष्टिका लागि गीत लेखेको हुँ’ उपाध्याय भन्छन् -बाँचुञ्जेल गीत लेख्न छोड्दिँन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment