राजन थपलिया
सत्यको खोज चाहे युग नै किन नलागोस् सत्य -सत्य नै हो खोज- खोज नै हो । महानतम बैज्ञानिकहरु खोज गरेर आजसम्म पनि थाकेका छैनन् । आजसम्म जे जति उपलब्धी भए, ती सबै निरन्तर खोजका कारणले नै भएको हो ।
यदि बरालिनु नै थियो त न्यूयोर्क सिटीमा भाको मान्छेलाई जर्मनीतिरै बरालिनु कुनै जरुरी थिएन । तर पनि मान्छेको मन नै त हो सम्हाल्न सकिएन । न्यूयोर्कको कुइन्स लाईब्रेरी जाँदा होस् या विश्व प्रसिद्ध शहर म्यानहृयाटन अबस्थित म्यानहृयाटन लाईब्रेरी नै किन नहोस् हर बखत भौतिक बिज्ञानका जन्मदाताले लेखेका पुस्तक तिरै ध्यान केन्द्रीत भयो । कि रोज्दै नरोज्नु रोजेपछि जे पनि राम्रो नै रोज्नु भन्ने न्युटनको सिद्धान्तलाई अनुसरण गर्दै आइनस्टाइन जन्मेको जर्मनीमा वुटेमबर्ग शहरको बारेमा पनि पढियो ।

जर्मनीसँग उनको रगतको नाता छ तर अमेरिका उनको कर्मभुमी हो जहाँ हृदयको नाता छ । अचेल जब-जब यिनै महान पुरुष अर्थात भौतिक बिज्ञानका जन्मदाता अल्बर्ट आइनस्टाइनको जिबनी तथा उनका पुस्तकहरु लाईब्रेरीमा पढिन्छ अनि लाग्छ म उनको जन्मस्थल जर्मनीको वुटेमबर्ग शहरतिर बरालिदै छु । अनि सोचमग्न भइ आइनस्टाइनका अस्तित्वहरु न्यूयोर्क शहरको कुना-कुनामा खोज्न विवश हुन्छु ।
उनलाई नजिकबाट बुझेकाहरुको नजरमा आइनस्टाइन एक बैज्ञानिक मात्र होईनन् उनी एक असल प्राणी र साच्चै जीवन बुझेका एक दार्शनिक हुन् । उनको तिक्ष्ण दिमागले जीवनको हरेक पाटोलाई केलाएका छन् । हजारौं बर्षदेखि खोज भए पनि गर्न नसकिएका अनुसन्धानहरु पनि सहजै आविस्कार गरिदिएका छन् । उनले कहिले दिन-रात भनेनन् । परिवारको लागि समय छुट्याएनन् । जे काम गर्न यो धर्तीमा आएका थिए सफल भएरै छाडे । यो मानव जातीलाई धन्य-धन्य पारेर गए । कहिले बिर्सिन नसकिने गुन लगाएर गए ।
जीवनमा सफलता खोज्ने, प्रसिद्धी चाहनेहरुले यो कुरा बुझ्न जरुरी छ की निरन्तर कुनै काममा अर्थपूर्ण हिसाबले लागेमा एक दिन सफलता हात पर्दछ । जो कुनै चिजको खोजीमा दिन रात नभनि लागिपर्छ उ नै सफलताको असली हकदार हुन्छ । जो ब्यक्ती आरोह-अवरोहबीच पनि अघि बढिरहन्छ, खोजको लागि जे पनि गर्न तयार छ, उ नै सफल हुने हो ।
त्यसको लागि आवश्यक पर्दछ राम्रो वातावरण । कोइलाले सही ताप र चाप पाउदा हीरा बनेजस्तै हरेक मान्छे सही वातावरण र अवसर पाएमा सफल हुने हैसियत राख्छ । त्यसैले वातावरण निर्माणमा पनि आफूनै अग्रसर हुनुपर्दछ, आफै लागिपर्नुपर्छ । अरुले गरिदिएला र भाग खाउँला भनेर आश गर्ने व्यक्ति असफलसिद्ध हुन्छ । जुन दिन आफू किन जन्मेको भन्ने कुरा थाहा हुन्छ त्यो दिनदेखि हर मानवले आफ्नो लागि आफै उचित वातावरण बनाउँदै जान्छ । त्यो बनाउदै जानु उस्को मानवीय गुण हो । हामी कतिपयले त्यो आफै भित्र भाको गुणलाई चिन्न सकेका छैनौं । अब आफै निर्णय गर्नुस् लायक बन्ने कि नालायक, सबै तपाईं हाम्रै हातमा छ ।
आफूलाई मन लागेको काम गर्नु पर्ने कुरा आइनस्टाइनको जीवनबाट लिन सकिने सबैभन्दा राम्रो पाठ हो । उनको कक्षामा गणितमा त उनको एकाधिकार जस्तै थियो । किन कि उनको रुची त्यस्मा थियो । तर अरु बिषयमा अनुत्तिर्ण भए किनभने त्यसमा उनको रुची थिएन । जस्को जिबनी पढे पनि सिक्ने कुराहरु धेरै रहन्छन् । आजको युगमा आइनस्टाइन जन्मेको भए अझै फरक किसिमको आबिस्कार हुन सक्थ्यो किनभने हिजोको समयको माग त्यो थियो । आजको समयको माग अर्कै छ । त्यसैले उनको सापेक्ष्यवाद सिद्धान्तले के भन्छ भने, यो दुनियामा कुनै पनि कुरा नस्ट हुँदैन त्यस्को त केवल रुप परिवर्तन मात्र हुने हो । त्यसैले हाम्रो जीवन त उहि नै हो, जीवन परिवर्तन हुने कुरा भएन । तर, भाग्यलाई कर्मबाट परिवर्तन गर्न सकिन्छ । भाग्यलाई कर्मबाट परिवर्तन गराउनु नै जीवनप्रतिको धर्म हो । जसले अनन्तकालसम्म जीवनको सेवा गरिरहन्छ ।
आइन्स्टाइनलाई इजरायलको राष्ट्रपति बन्न अनुरोध आयो तर त्यसलाई सहजै अस्विकार गरेर भने ‘मैले बिज्ञानलाई त बुझेको छु तर मानब जातीको समस्या अझै पूर्णरुपमा बुझ्न सकेको छैन ।’ उनले सापेक्षतावादको सिद्धान्त मानव जातीकोलागि हुनुपर्ने पटक-पटक जिकिर गर्थे तर अणुबमले जापानमा पुर्याएको असरबाट उनीले निकै पछुतो मानेका थिए । उनले सँधै भन्थे बिज्ञान मानव जातीको हितमा हुनुपर्छ, बिनासमा होईन ।
यिनको किताबको पाना-पानामा आँखा डुलाउदा आइन्स्टाइनलाई विकासवादी बैज्ञानिकको नाम पनि दिन सकिन्छ किनभने उनले बिज्ञान जगतलाई सँधै विकसित रुप दिए । प्रख्यात सुत्र E=MC2 लाई मानव हितमा लगाउनु पर्ने कुरा त्यतिबेला नै आइन्स्टाइनले जोड दिएका थिए । राम्रो चिजको गुण र अवगुण पहिले नै ठम्याइसकेका थिए । हिरा जस्तै बहुमूल्य मानव जीवनमा विज्ञान झनै मोतीको रुपमा आएको छ, यसलाई सदुपयोगिताको सिद्धान्तसँग जोडिनु पर्ने उल्लेख गरेका छन् ।
जर्मनीबाट लखेटिए पनि उनले विश्वलाई नै आफ्नो घर सम्झे, मानवहितको लागि कामहरु गर्दै गए । मान्छेको जीवनमा मान्छेको सोच र खोज सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यस्को साक्षी स्वयम् आइन्स्टाइन छन् । निरन्तरता र लगनशीलताबाट नै ज्ञानको द्वार खुल्छ । मुक्तीको बाटो खुल्छ । केहि गर्ने सही समय आज हो, लौ न अब त केहि गरौं ।
प्रतिक्रिया 4