+
+
Shares

मैले कागजी बिहे गरेकी छैन : नीता ढुंगाना (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २३ गते १०:५९

Neeta & Amesh bhandari
नायिका नीता ढुंगानालाई समयले कहिल्यै पनि प्रभाव पारेको छैन । समयको गतिमा हिँड्न नचाहने नीता सफलता र असफलताले आफूलाई प्रभाव नपार्ने बताउँछिन् ।

जीवनमा आएका थुप्रै कालखण्डमा विभिन्नखालका चर्चा र उप-चर्चाले उनलाई नछोएको होइन । चलचित्र ‘छ एकान छ’ हिट भयो, तर नीताले सोचेजस्तो जस पाइनन् । सायद यसैले होला उनी चलचित्रको सफलतापछि आयोजित पार्टीमा पनि देखिइनन् ।

नीताले यस बारेमा भनिन्-‘मैले काम गर्ने हो, चलचित्र हिट भएपछि हुने पार्टीमा आउनै पर्छ भन्ने छैन । म त्यतिबेला व्यस्त थिए र मलाई यस्ता खालका पार्टीको खासै मतलब पनि छैन ।’ यो उनको घमण्डीपना पनि हुनसक्छ । तर, नीता भन्छिन्-‘मानिस मलाई विभिन्न कोणबाट नियाल्न सक्छन्, कोही मलाई घमण्डी भन्छन् त कोही निक्कै मायालु । यसले मलाई फरक पार्दैन ।’

हङकङमा आयोजना भएको ‘नेफ्टा अवार्ड’मा कुनै पनि अवार्ड नजितेपछि नीतामा आक्रोश उत्पन्न भएको चर्चा पनि चलेको थियो । उनले आयोजकसँग असन्तुष्टि पोखेको चर्चा चलेको थियो । तर, उनले यसलाई अस्वीकार गरिन् । उनले भनिन्-‘म उत्कृष्ट ५ मा पर्नु नै अवार्ड पाउनु जस्तै हो । म त्यतिबेला यतिधेरै व्यस्त थिएँ कि, मैले आयोजकसँग हेल्लो भन्ने समय पनि पाएको थिइँन, असन्तुष्टिका कुरा मलाई थाहा छैन ।’

आमेषसँग प्रेममा

neeta nad ameshनीता यतिबेला नयाँ कलाकार आमेष भण्डारीसँगको प्रेममा मस्त छिन् । आमेषसँग उनको प्रेम बसेको ३ बर्ष भैसकेको छ । तर, उनले केही दिनअघि मात्र यसलाई सार्वजनिक गरिन् । यो हतार थियो या आवश्यकता ? अनलाइनखबरको प्रश्नमा नीताले भनिन्-‘यो हामीले सल्लाह गरेरै सार्वजनिक गरेका हौ । समय आएपछि सार्वजनिक गर्ने हाम्रो योजनाअनुसार ३ बर्ष पर्खेर हामीले बाहिर ल्यायौं ।’

आमेषसँगको पहिलो भेटमा नै उनको मन बसेको थियो । यसैले उनले न कुनै एनआरएन रोजिन् न कुनै धनाढ्य व्यापारी । एउटा सांगीतक र चलचित्रको करिअरमा अगाडि बढ्दै गरेको युवक उनको मनको राजा बन्यो ।
बिहेको योजना के त ? अनलाइनखबरको अर्को प्रश्नमा ढुंगाना भन्छिन्-‘बिहेका लागि मेरो घरबाट केही दबाव छ । तर, हामी करिअरको एउटा उचाइमा पुगेपछि बिहे गछौर्ं ।’
बजारमा नीता र आमेषले कागजी बिहे गरेको चर्चा पनि चलेको छ । तर, नीताले यसलाई अस्वीकार गरिन् । ‘यो हल्ला मात्रै हो, प्रमाण छ भने ल्याउँदा हुन्छ’-उनले ठाडो चुनौती दिइन् ।

चलचित्रमै रम्ने सपना
चलचित्र क्षेत्रमा नीताका साथी कम छन् । उनी, चलचित्रका थुप्रै नायिकासँग भिज्न सकेकी छैनन् । उनी यसलाई स्वभाविक मान्छिन् । सबैसँग नजिक हुन नसिकने उनको तर्क छ ।

‘नोटबुक, छ एकान छ’  जस्ता हिट चलचित्र दिएकी यी नायिका चैत्र महिनामा ३ वटा चलचित्रको साथमा दर्शकमाझ आउँदैछिन् । यी ३ चलचित्र पनि हिट हुने उनको अपेक्षा छ ।
आफूलाई ‘संघर्ष गर्दै गरेकी नायिका’ भन्ने नीता जीवनको अन्तिम समयसम्म पनि चलचित्र नगरीमा लाग्ने इच्छा व्यक्त गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?