नविन अर्याल
२५ पुस, काठमाडौं । थाइल्यान्डको प्रख्यात लक्जरी होटल समूह थानी इन्टरनेशनल प्रवेश गर्नेवित्तिकै पाँचतारे अन्नपूर्ण होटलले सयवटा कोठा थप्ने भएको छ ।
अहिले अन्नपूर्ण होटलमा एक सय ३० कोठा छन् । सयवटा थप गरेपछि होटलमा दुई सय ३० कोठा पुग्ने छ । होटलले कोठाका साथै अन्य सेवा सुधिवासमेत विस्तार गर्ने जनाएको छ ।
होटलमा अहिले सञ्चालनमा रहेको ब्याङ्क्वेट हललाई विस्तार गरेर ठूलो बनाउने महाप्रबन्धक अविनभ राणाले जानकारी दिए । त्यस्तै, होटलमा विभिन्न भेराइटीका ७ रेष्टुरेन्टहरु, फिटनेस सेन्टर, भूमिगत पार्किङ लगायत रिक्रिसनल सुविधाहरु समेत उपलब्ध गराइने भएको छ ।
होटलमा अधिकांश सेवा सुविधा अपग्रेड गरेर अन्तर्राष्ट्रिय स्तरको पाँचतारे लक्जरी होटलमा परिणत गर्ने लक्ष्य व्यवस्थापन पक्षले लिएको छ । ५० वर्ष पुरानो यो होटल नेपालको पहिलो पाँचतारे होटल हो ।
तत्कालीन अधिराजकुमारी हेलेन शाहको नेतृत्वमा यस होटलको सुरुवात गरिएको थियो । राजधानीको मुटु दरबारमार्गमा रहेको यस होटलमा अब थाइल्यान्डको प्रख्यात लक्जरी चेन होटल समूह डुसिट इन्टरनेशनल प्रवेश गर्दै छ ।
बिहीबार भव्य समारोहको आयोजना गरी अन्नपूर्ण होटल र डुसिट थानीबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा अन्नपूर्ण होटलकी कार्यकारी निर्देशक सृजना राणा र डुसिट इन्टरनेशनलका ग्रुप डाइरेक्टर रुस्तोम भिकर्सले संयुक्त हस्ताक्षर गरे ।
पछिल्लो समय नेपालमा सञ्चालनमा रहेका तथा सञ्चालनमा आउने तयारी गरिरहेका होटलहरुमा अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेश गरिरहेका छन् । अमेरिकी चेन होटल समूह स्टार उडका प्रख्यात ब्रान्ड सेराटन, मेरियट, अलफ्ट नेपाल आउने घोषणा गरिसकेका छन् । त्यस्तै, भारतको प्रख्यात ब्रान्ड समिट ग्रुपसँग सहकार्य गरेर नेपाल आउँदैछ ।
अन्नपूर्ण होटलमा आउन लागेको डुसिट इन्टरनेशन होटल हस्पिटालिटी इन्डष्ट्रिजमा एशिया क्षेत्रमा अग्रस्थान बनाउँदै अाएको समूह हो । यसको प्रख्यात डुसिट थानी ब्रान्ड नेपाल भित्रिन लागेको हो । डुसिट थानीको प्रवेशसँगै होटल अन्नपूर्णको नाम ‘डुसिट थानी अन्नपूर्ण होटल’ रहने बताइएको छ ।
डुसिट थानी अन्नपूर्ण होटलको व्यवस्थापन सम्हाल्ने गरी आउन लागेको हो । होटल व्यवस्थापनमा करिव ५ अर्ब लगानी गर्न लागेको बताइएको छ । छिट्टै एउटा होटल सञ्चालनको खाका तयार गरेर डुसिट थानीलाई होटलमा प्रवेश गराउने तयारीमा व्यवस्थापन पक्ष रहेको छ ।
होटलकी कार्यकारी निर्देशक सिर्जना राणाले नेपालको अतिथि सत्कारमा अन्नपूर्ण होटल पायोनियर भएको दाबी गरिन् । सम्झौता समारोहलाई सम्बोधन गर्ने क्रममा उनले तत्कालीन युवराज तथा होटलका सञ्चालक हेलेन शाहलाई सम्झिएकी थिइन् । हेलेन शाहको नेतृत्वमा होटल यस अवस्थासम्म आइपुगेको उनको भनाइ थियो ।
सम्झौता समारोहमा नेपालका लागि थाइल्यान्डकी राजदूत कानथोङ उनाकुलले अन्नपूर्ण र डुसिट थानीबीच सहकार्य भएकोमा खुशी व्यक्त गर्दै सफलताको सुभकामना दिइन् । थाइल्यान्ड र नेपाली व्यवसायीक घरनाबीच भएको यो सहकार्यले नेपालको पर्यटनमा सकरात्मक प्रभाव पार्ने उनले विश्वास व्यक्त गरिन् ।
डुसिट थानी होटल तथा रिसोर्ट समूहले थाइल्यान्ड, चीन, भारत, संयुक्त अरब इमिरेट्सलगायतका देशहरुमा करिव २२ वटा लक्जरी होटल सञ्चालन गरिरहेको छ ।
सन् २००४ मा भारतको ताज होटलले ब्यबस्थापन छाडेर फिर्ता भएपछि अन्नपूर्णले बिदेशी साझेदार खोजीरहेको थियो । लामो समयको छलफलपछि डुसिटसँग साझेदारीको टुंगो लागेको होटलका महाप्रबन्ध अविनभ नरसिंह राणाले जानकारी दिए ।
पूर्वराजपरिवार तथा उनका नातेदारको लगानी रहेको होटल अन्नपूर्णको सञ्जालमा पोखराको फिसटेल लज पनि जोडिएको छ । झण्डै ६५ बर्ष अगाडि स्थापित डुसिट थानी होटल समूहले यसअघि पोखराको फूलबारी रिसोर्ट व्यवस्थापन गरेको थियो । केही बर्ष अगाडि सो समूह फूलबारीबाट फिर्ता भएको थियो ।
प्रतिक्रिया 4