Comments Add Comment

श्री एयरलाइन्सका चारवटा हेलिकप्टर युगान्डामा अलपत्र

Banbari-Lal-Mittal
नविन अर्याल

२७ पुस, काठमाडौं । नेपाली उड्डयन क्षेत्रको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय संगठनहरुले औंला ठड्याएपछि त्यसको प्रत्यक्ष मारमा श्री एयरलाइन्स परेको छ ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय शान्ती मिसनमा गएका श्रीका चार हेलिकप्टर अहिले एक वर्षदेखि युगान्डामा अलपत्र अवस्थामा रहेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र यूरोपियन यूनियन (ईयू) ले नेपाली आकाश असुरक्षित रहेको बताएपछि राष्ट्रसंघले मिसनमा उडाउन प्रतिबन्ध लगाउँदा नेपाली हेलिकप्टर अलपत्र परेका हुन् ।

आइकाओले नेपालको उड्डयन क्षेत्रमा विभिन्न कमि कमजोरी औंल्याउँदै सिरियस सेफ्टि कन्सर्न (एसएससी) जारी गरेको छ भने ईयूले यही विषयलाई लिएर कालोसूचीमा राखेको छ । त्यसपछि युएनले अाफ्नो मिसनमा सन् २०१३ को डिसेम्बरदेखि नेपाली हेलिकप्टर उडाउन प्रतिबन्ध लगाएको हो ।

आइकाओको सुरक्षा चासो र ईयूको कालोसूचीलाई आधार बनाउँदै युएनले हेलिकप्टर उडाउन प्रतिबन्ध लगाएको श्री एयरलाइन्सका अध्यक्ष बनवरीलाल मित्तलले बताए । श्रीसँग २४ सीट क्षमताका ६ वटा हेलिकप्टर रहेका छन् । जसमध्ये चारवटा हेलिकप्टर युगान्डमा पार्किङ गरी राखेको उनको भनाइ छ ।

सरकारले संयुक्त राष्ट्रसंघसँग कुटनीतिक पहल गरेमा पुनः उडाउन सकिने मित्तलको दाबी छ । सरकारसँग हेलिकप्टर उडाउने वातावरण बनाइदिन आग्रह गरेको भए पनि त्यसतर्फ सरकारको ध्यान जान नसकेको कम्पनीको गुनासो छ ।

‘युएन शान्ति मिसनमा एशियाबाट हामीमात्र छनौट भएका हौं, नेपालमा दर्ता भएको हेलिकप्टर नेपाली झण्डा राखेर विदेशी मुलुकमा उड्दा राष्ट्रका लागि पनि गौरवको विषय थियो’ मित्तलले अनलाइनखबरसँग भने- ‘सरकारले पुनः हेलिकप्टर उडाउनका लागि पहल गरिदियोस् भन्ने मेरो माग छ ।’

नेपालजस्तो अल्पविकसित मुलुकबाट नेपाली हेलिकप्टरले मात्र युनको मिसनमा काम गरिरहेको दाबी मित्तलको छ । राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषयलाई सरकारले पनि गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।

ईयूले गत वर्षदेखि नेपाली उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेर नेपालमा दर्ता भएका जहाजलाई युरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाएको छ । सुरक्षामा कुनै सुधार नआएको भन्दै ईयूले यस वर्ष पनि कालोसूचीलाई निरन्तरता दिएको छ ।

यता नेपाल नागरिक उड्डयन प्राधिकरण भने उड्डयन क्षेत्रको सुधारका लागि कम्मर कसेर लागेको छ । सुरक्षामा आइकाओको औंला उठेपछि प्राधिकरणले २०६९ सालमा एओसीआर लागू गरेर अहिलेसम्म ४२ वटा वायुसेवा कम्पनीको एओसी रद्द गरिसकेको छ ।

युएनले कम्पनीलाई कुनै दोष नदिएको बताउँदै अध्यक्ष मित्तलले आइकाओ र ईयूको विषयलाई लिएर श्रीसँगको सम्झौता तोडेको बताए । ‘हाम्रो सेवालाई उनीहरुले प्रशंसा नै गरेका छन्, समग्र नेपाली उड्डयन क्षेत्रमाथि प्रश्न उठेपछि हाम्रो सम्झौता तोडिएको हो’ उनले भने- ‘मेरो प्रश्न हामीले राम्रो सेवा दिइरहेका छौं भने किन काम गर्न नदिने भन्ने हो ।’

युएनले श्रीलाई पि्र-क्वालिफिकेसन लिष्टबाटै हटाएको छ । मित्तलका अनुसार युएनले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एओसी जारी भएका कम्पनीलाई मान्यता नदिने बताएको छ ।

अहिले ४ वटा जहाज पार्किङ शुल्क तिरेर युगान्डामा राखिएको छ । जसले गर्दा आफूलाई निकै मार परेको मित्तलले गुनासो गरे । श्री एयरलाइन्सका हेलिकप्टर शान्ति मिसनमा अफि्रकाका क्यामरुन, लाइबेरिया, सुडान, कंगो, पश्चिमी साहारा क्षेत्रका मुलुकमा उडिसकेका छन् ।

धेरै नै अप्ठ्यारो ठाउँमा उडान गर्दा पनि कुनै प्रश्न उठाउने ठाउँ नदिएको मित्तलले दाबी गरे । ‘अहिले पनि आइकाओले नेपाल नागरिक उड्डयन प्राधिकरणले एओसी दिएका कम्पनीलाई मान्यता नदिने भनेको छैन, नेपाल एयरलाइन्स र बुद्ध एयरका जहाजहरु अहिले पनि आइकाओका सदस्य राष्ट्रयमा नियमित उडान गरिरहेका छन्’ उनले भने- ‘त्यही भएर युएनले क्यानले दिएको एओसीलाई मान्यता दिन्न भन्ने दलिल ठीक छैन ।’

सरकारले राष्ट्रसंघलाई पत्राचार गरी कम्पनीले राम्रो काम गरेको खण्डमा शान्ति मिसनमा काम गर्नका लागि अनुमति दिन जोडदार माग गर्नुपर्ने मित्तल बताउँछन् । ‘संयुक्त राष्ट्रसंघको नीति अल्पविकसित मुलुकलाई माथि उठाउने रहेको छ, राम्रो काम गरिरहेका कम्पनीलाई प्रतिबन्ध गरेका उसको नीतिले कसरी मेल खान्छ’  मित्तलको प्रश्न छ ।

मित्तलले छिट्टै नेपालमा आउन लागेको राष्ट्रसंघको टोलीसँग पनि यस विषयमा कुरा उठाउन आग्रह गरेका छन् । ‘नेपालमा अब ठूलो हेलिकप्टरको काम छैन, यहाँ ल्याएमा बेच्नु शिवाय अन्य विकल्प हुँदैन्, विदेशमा कम्पनी दर्ता गरेर उडाउन पनि मन छैन, युगान्डामा पार्किङ शुल्क तिरेर राख्दा कम्पनीलाई आर्थिक भार थपिएको छ’ मित्तलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment