Comments Add Comment

‘अफ्रिकी विद्रोहीसँग’ नेपाली सेनाका हतियार

९ माघ, काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा नेपाली सेनाले चीनबाट मगाएको सैन्य हतियार अफ्रिकी मुलुकका विद्रोहीको हातमा फेला परेको खुलासा भएको छ।

nepali senaहातहतियार सुरक्षा क्षेत्रमा काम गर्ने एक बेलायती संस्थाले गरेको अनुसन्धानमा नेपाली सेनाले सैन्य अभ्यासका लागि चीनबाट मगाएका हजारौं हातहतियार तथा गोलाबारुद सेन्ट्रल अफ्रिकन रिपब्लिकका विद्रोही समूह ‘सिलेका’ र ‘एन्टिबालका’ का लडाकुसँग भेटिएका हुन्।

बेलायतको लन्डनस्थित ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च लिमिटेड’ नामक संस्थाले यही जनवरीमा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा अफ्रिकी विद्रोही समूहहरूले चीनबाट नेपालका लागि पठाइएका विभिन्न हातहतियार आन्तरिक तथा बाह्य दुवै स्रोतबाट प्राप्त गर्ने गरेको निचोड निकालिएको नागरिकमा खबर छ।

संस्थाले सन् २०१४ अप्रिलदेखि सेम्टेम्बरसम्म ६ महिना लगाएर सेन्ट्रल अफ्रिकन रिपब्लिकका विद्रोही समूहसँग रहेका हातहतियारबारे अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदनमा नेपाली सेनाले चीनबाट मगाएका २५ हजार २० थान ‘८२–२’ हाते–ग्रिनेड्स अफ्रिकी विद्रोही समूहसँग भेटिएको उल्लेख छ। सन् २००६ मा उत्पादन गरिएका ती सबै हाते–ग्रिनेड सेन्ट्रल अफ्रिकन रिपब्लिकको ‘बानगुई’ भन्ने ठाउँमा भेटिएको प्रतिवेदनमा जनाइएको छ।

विद्रोही समूहसँग भेटिएका ‘८२–२’ ग्रिनेडको प्याकिङमा प्राप्त गर्नेको नाम स्पष्टसँग ‘नेपाली सेनाको सम्भाररथी विभाग’ लेखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। नेपाली सेनाले त्यतिबेला चीनको राजधानी बेइजिङस्थित पोली टेक्नोलोजिजसँग ती ग्रिनेड ल्याउन सहमति गरेको थियो।

प्रतिवेदनअनुसार नेपाली सेनालाई पठाइएका तर अफ्रिकी विद्रोहीसँग भेटिएका ग्रिनेडको अनुक्रमांक ‘१०–०६ ६५०’, ‘११–०६ ६५०’, ‘१४–०६–६५०’, ‘१५–०६ ६५०’, ‘१७–०६ ६५०’ र ‘१८–०६ ६५०’ छन्।

‘८२–२ ग्रिनेड्स बानगुईमा दर्ता गरिएको हो, जुन सबै सन् २००६ मा उत्पादन गरिएका हुन्। ग्रिनेड्सको प्याकेजिङमा लेखिएअनुसार वास्तवमा ती हतियार शाही नेपाली सेनाको सम्भाररथी विभागलाई पठाइएको थियो,’ प्रतिवेदनको पृष्ठ १३ र १४ मा उल्लेख छ।

प्रतिवेदनअनुसार प्रत्येक ग्रिनेडको बक्समा बेग्लाबेग्लै ‘कन्ट्र्याक्ट नम्बर’ राखिएको छ। बक्समा टाँसिएको कन्ट्र्याक्ट नम्बरमा ०८ पिएलइएक्स ०२६२–०५०६–२१९/८३४, ०८ पिएलइएक्स ०२६२–०५०६–५१२/८३४, ०८ पिएलइएक्स ०२६२–०५०६–७१६/८३४, ०८ पिएलइएक्स ०२६२–०५०६–७९५/८३४ र ०८ पिएलइएक्स ०२६२–८२२/८३४ उल्लेख छन्।

‘कन्ट्र्याक्ट नम्बरअनुसार ८ सय ३४ बक्स छन् र प्रत्येक बक्सभित्र ३० वटा ग्रिनेड छन्। जम्मा २५ हजार २० वटा ग्रिनेड त्यहाँ थिए, जुन वास्तवमा शाही नेपाली सेनालाई सन् २००८ मा पठाइएको थियो,’ प्रतिवेदनमा छ।

प्रतिवेदनअनुसार ती ग्रिनेड तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा सेनाले ‘अर्डर’ गरेको र लोकतन्त्र आइसकेपछि चिनियाँ ठेकेदार कम्पनीले नेपाल पठाएको देखिन्छ। सरकारविरुद्ध लडिरहेको तत्कालीन विद्रोहीविरुद्ध परिचालित सेनालाई मगाइएको ती हतियार विद्रोहीसँग सम्झौता भएर राजतन्त्रसमेत अन्त्य भई लोकतन्त्र आइसकेपछि चिनियाँ ठेकेदारले डेलिभरी गरेको थियो।

चीनले नेपाली सेनाका नाममा पठाएको ठूलो परिमाणको ग्रिनेड्स कसरी सेन्ट्रल अफ्रिकन रिपब्लिकका विद्रोही समूहसम्म पुग्यो भन्ने प्रतिवेदनमा खुलाइएको छैन। तर ती ग्रिनेड विद्रोही समूहले सेन्ट्रल अफ्रिकन रिपब्लिकको सरकारी सेना, दक्षिण सुडान र चाडबाट भित्र्याएको प्रतिवेदनमा उल्लेख छन्।

त्यहाँ सबैभन्दा बढी फेला परेको सैन्य हतियारको सूचीमा ‘८२–२ ग्रिनेड्स’ पहिलो नम्बरमा छ। यी ग्रिनेड अहिले विद्रोहीदेखि सर्वसाधारणसम्मको हातमा पुगेको बताइएको छ। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा धेरै सर्वसाधारणको मृत्युको कारण ‘८२–२ ग्रिनेड्स’ नै रहेको प्रतिवेदनमा छ।

लामो समयदेखि सेन्ट्रल अफ्रिकन रिपब्लिकको उत्तरपूर्वी क्षेत्रमा सीमित गृहयुद्ध सन् २०१२ मा देशभर फैलिएको थियो। सुरुमा सिलेका विद्रोही समूह आफ्नै देशको राष्ट्रिय सेना र छिमेकी चाडको सेनासँग लड्दै आएको थियो। सिलेकाले ‘वैदेशिक हस्तक्षेपविरुद्ध’ भन्दै हतियार उठाएका थिए। सेन्ट्रल अफ्रिकन रिपब्लिक र चाडको सेनाले संयुक्त रूपमा सिलेकामाथि आक्रमण गरे पनि चाडले पछि हात झिकेको थियो।

सन् २०१३ सम्म आइपुग्दा यो युद्ध एकाएक सामुदायिक हिंसामा परिणत भयो, जसमा मुस्लिम समुदायको प्रतिनिधित्व सिलेकाले गरेको छ भने क्रिस्चियन समुदायको प्रतिनिधित्व एन्टिबालका समूहले। त्यहाँ अन्य सशस्त्र समूह पनि छन्। खासगरी सिलेका विद्रोहीले सन् २०१३ मा आफ्नै देशको सरकारी सेनाबाट ठूलो मात्रामा हतियार लुटेको थियो। सिलेकाले सुडान र चाडका केही भूभागमा समेत नियन्त्रण राखेको छ।

सेन्ट्रल अफ्रिकन रिपब्लिकका विद्रोही समूहसँग भेटिने सन् २००१ पछि उत्पादन भएका धेरैजसो हातहतियार तथा गोलाबारुद चीन, सुडान र इरानमा बनेको पाइएको छ। विभिन्न विदेशी तथा अन्तर्राष्ट्रिय शक्तिहरूले सन् २०१२ पछि विभिन्न बाटो हुँदै सेन्ट्रल अफ्रिकन रिपब्लिकमा हतियार भित्र्याउन थालेका हुन्। प्रतिवेदनमा दुई माध्यमबाट हतियार जाने गरेको उल्लेख छ।

‘पहिलो, सिलेकासम्म हातहतियार तथा गोलाबारुद त्यही क्षेत्रका विभिन्न देशबाट पुग्ने गरेको स्पष्ट देखिन्छ। खासगरी सिलेकाले सन् २०१३ को सुरुमा शक्ति हत्याएपछि सुडानबाट यस्तो सहयोग पाएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘दोस्रो, सरकारी सेनाबाट सिलेकाले ठूलो संख्यामा हातहतियार तथा गोलाबारुद लुटेका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment