Comments Add Comment

विपक्षी दल रणनीति बनाउन व्यस्त

१० माघ, काठमाडौं । संविधान लेखन प्रक्रिया अघि बढाउन संविधानसभा अध्यक्ष सुवास नेम्वाङ आफैले प्रश्नावली समिति गठनको प्रस्ताव गर्ने तयारी गरेपछि विपक्षी दलहरु रणनीति बनाउन व्यस्त भएका छन् । कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठले प्रस्ताव पेश गर्ने र एमाले सभासद अग्नी खरेलले समर्थन गर्ने पूर्व योजना विपक्षी दलको अवरोधले विफल भएपछि नेम्वाङ आफैले समिति गठनको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।

नेम्वाङको यो तयारीलाई पनि रोक्ने पक्षमा रहेका एमाओवादी, मधेसवादी लगायत संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुले रणनीति बनाउन लागेका हुन् । त्यसका लागि विहान ९ बजे एकीकृत माओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाको बैठक बस्दैछ ।

संविधानसभामा प्रतिनिधित्व गर्ने दल आवद्ध मोर्चाको बैठकपछि दिउँसो ३ बजे ३० दलको संयुक्त बैठक बस्नेछ । बहुमतीय प्रक्रियाबाट संविधान लेख्ने सत्तापक्षीय दलको तयारीलाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाउन बैठक केन्दि्रत हुने संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

सत्तापक्षलाई दबाब दिनका लागि थप संघर्षका कार्यक्रम ल्याइने श्रेष्ठले बताए । एक वर्षभित्र संविधान जारी गर्ने कार्यतालिकाको म्याद माघ ८ मै सकिएको भन्दै सहमतिमा नयाँ कार्यतालिका बनाएर संविधान ल्याउनुपर्ने मोर्चाको माग छ । शुक्रबारको संविधानसभा बैठकले प्रश्नावली समिति गठनको प्रस्ताव पेश गर्न जान खोज्दा कांग्रेस मुख्य सचेतक श्रेष्ठलाई विपक्षी दलका सभासदहरुले केहीबेर कब्जामा लिएर छाडेका थिए ।

आइतबार बस्ने संविधानसभाको बैठकमा नेम्वाङ आफैले प्रस्ताव पढेर सुनाउने र त्यसलाई पारित गर्ने सत्तापक्षीय दलहरुको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment