२७ माघ, बुटवल । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी अध्यक्ष प्रचण्डलाई नाम परिवर्तन गर्न सुझाव दिएका छन् । शान्तिको बाटोमा हिँड्नुपर्ने भएकाले ‘प्रचण्ड’ हटाएर ‘पुष्पकमल दाहाल’ राख्न उचित हुने नेपालले बताए ।
‘पुष्पकमल कति राम्रो नाम छ आहा !,’ रुपन्देहीको बुटवलमा जीवराज आश्रित स्मृति भवन उदघाटन कार्यक्रमलाई मंगलबार सम्वोधन गर्दै नेता नेपालले भने, ‘किन प्रचण्ड राख्नुपर्यो ?’
‘पुष्पकमल दाहाल’को पछाडि ‘प्रचण्ड’ पनि झुण्ड्याउँदा उनी आफैंलाई अप्ठेरो परेको नेता नेपालले बताए ।
बुद्धत्व प्राप्त गरेर मुलुकलाई शान्तिको मार्गमा हिँडाउनुपर्ने भन्दै नेपालले प्रचण्डलाई आग्रह गर्दै भने, ‘बुद्धको जन्मस्थल लुम्विनीमा एक हप्ता बसेर दिमाग ठण्डा गराउनुस् ।’
‘बाबुराम जिरे खुर्सानी‘
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई ‘जिरे खुर्सानी”’को संज्ञा दिए । बाबुरामले दिन प्रतिदिन सबैलाई पिरो हुने गरी कडा अभिब्यक्ति दिएको नेपालले बताए ।
‘शान्तिको भूमिबाट चुनाव लडेका बाबुरामले के सिके यहाँबाट ?’ प्रश्न गर्दै नेपालले भने, ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने परिपाटी त्यागेर सहमतिमा आउनुपर्यो ।
ओलीलाई चर्काे नबोल्न सुझाव
एमाले नेता नेपालले आफ्नै पार्टी अध्यक्ष केपी ओलीका अभिव्यक्तिको पनि आलोचना गरेका छन् । ओलीको चर्को बोलीले संविधान निर्माण र राष्ट्रिय राजनीतिमा नकारात्मक प्रभाव पारेको उनको ठम्याइ छ ।
नेपालले भने- ‘माओवादी रिसाएका बेला फकाएर सहमतिमा ल्याउनुको साटो चर्काे बोल्दा काम बन्दैन, घाउमा नुन-चुक दल्नुभएन ।’
-कपिल ज्ञवालीबाट
प्रतिक्रिया 4