७ फागुन, काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टीले आफ्नै उपाध्यक्ष तथा सांसद रेणुदेवीले नेपाल हिन्दु राज्य नै हुनुपर्छ भनी दिएको अभिव्यक्तिको औपचारिकरुपमा खण्डन गरेको छ ।

काठमाडौस्थित भारतीय दूतावासले उक्त अभिव्यक्तिलाई रेणुदेवीको व्यक्तिगत भनाइ भन्दै स्पष्टीकरण दिएको भोलिपल्टै भाजपाले पनि विहीबार सोही आशयको विज्ञप्ति जारी गरेको छ ।
भाजपाका राष्ट्रिय महासचिव राम माधवले विहीबार नयाँ दिल्लीमा एक विज्ञप्ति जारी गरी उपाध्यक्ष रेणुदेवीले नेपाल भ्रमणका क्रममा दिएको अभिव्यक्ति उनको निजी विचार भन्दै त्यसले पार्टी नीति प्रतिविम्वित नगर्ने जनाएका छन् ।
‘म प्रष्ट पार्न चाहान्छु कि रेणुदेवीले व्यक्त गरेका विचार उनका निजी हुन्, ती विचारले नेपालसम्बन्धी भाजपाको नीति प्रतिविम्वित गर्दैनन्’ विज्ञप्तिमा भनिएको छ ‘भाजपा नेपाली जनताको सार्वभौमसत्ताको सम्मान गर्छ र नयाँ संविधानको मस्यौदामा नेपाली जनताले लिने उपयुक्त निर्णयको सम्मान गर्छ ।’
भाजपाले भारत सरकारको नीतिअनुरुप नै भाजपाको नेपाल नीति रहेको प्रष्ट पार्दै नेपालस्थित भारतीय दूतावासले यसबारे पहिले नै स्पष्ट पारिसकेको स्मरण गराएको छ ।
दूतावासले स्पष्टीकरण दिए पनि भाजपाका तर्फबाट वक्तव्य नआउँदा भारतीय जनतापार्टी र कर्मचारी संयन्त्रवीच नेपाल मामिलामा एकरुप बुझाइ नदेखिएको आशंका जन्मिएको थियो ।
तर, पार्टी महासचिवले नै वक्तव्यमार्फत रेणुको भनाइको खण्डन गरेपछि अब बिजेपी नेपालमा हिन्दु राष्ट्र हुनुपर्ने पक्षमा नरहेको स्पष्ट भएको छ ।
भारतीय जनता पार्टीका महासचिवले जारी गरेको विज्ञप्ति
प्रतिक्रिया 4