+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्विमिङ पुल : गर्मी छल्नेको भिडले बढाएको व्यापार

गर्मी सुरु भएयता काठमाडौं उपत्यकाका धेरै ठाउँमा रहेका विभिन्न स्विमिङ पुलमा बालबालिकादेखि युवा पुस्ताको भीड बढ्न थालेको देख्न सकिन्छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ वैशाख ३० गते २२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्मी मौसममा काठमाडौं लगायत आसपासका स्विमिङ पुलहरूमा मानिसहरूको भीड बढ्दै गएको छ, जसले स्विमिङ व्यवसायलाई थप प्रवर्द्धन गरेको छ।
  • स्विमिङ क्लास र स्विमिङ पुलहरूमा नेपाली र विदेशी पर्यटकहरूको आकर्षण बढ्दै गएको छ।
  • सरकारी र निजी स्विमिङ पूलहरूमा शुल्क र सेवाहरू फरक-फरक छ।

३० वैशाख, काठमाडौं । केही दिनयता गर्मी मौसमले छपक्कै छोपेको छ । गर्मीयाममा चिसो पानीमा पौडी खेल्न विभिन्न पौडी पोखरी (स्विमिङ पुल) पुग्नेहरूको घुइँचो बिस्तारै बढ्न थालेको छ ।

स्विमिङ गर्न सहरी क्षेत्रमा अधिकांश ठाउँमा स्विमिङ पुल देख्न सकिन्छ । गाउँघरमा खोला, नदीमा पौडी खेल्ने चलन छँदैछ । स्विमिङ पुलमा बच्चादेखि वृद्धसम्म रमाइरहेका भेटिन्छन् ।

किनकि, स्विमिङ पुलमा हरेक उमेर समूहका लागि छुट्टाछुट्टै गहिराइ कायम गरिएको हुन्छ । राम्रोसँग पौडी खेल्न जान्नेहरू जति गहिराइमा पनि पौडिन सक्छन्, तर नजान्नेलाई भने डुब्ने डर हुन्छ । पौडी नजान्नेले ट्युब लिएर पनि खेल्न सक्छन् ।

अलि सस्तो शुल्कमा पौडी खेल्न चाहनेलाई विभिन्न ठाउँमा सञ्चालित स्विमिङ पुलले सहज बनाइदिएको छ भने थप आरामदायी सेवासँगै खानासमेत खान चाहने र बढी पैसा खर्च गर्नेका लागि भने तारे होटलका स्विमिङ पुल गर्मी मौसमको राम्रो गन्तव्य बनिरहेका छन् ।

गर्मी सुरु भएयता काठमाडौं उपत्यकाका धेरै ठाउँमा रहेका विभिन्न स्विमिङ पुलमा बालबालिकादेखि युवा पुस्ताको भीड बढ्न थालेको देख्न सकिन्छ ।

यस्तै भीडमा भेटिइन् काठमाडौं नागार्जुन–९ की श्रीशु भट्टराई । गत चैत दोस्रो साता एसईई परीक्षा दिएर घरै बसिरहेकी उनी गर्मी खासै सहन सक्दिनन् ।

उनलाई गर्मी छल्न के गर्ने भन्ने परिरहेका बेला एक्कासि पौडी खेल्न जाने दिमागमा आयो ।

६ महिनाको कमाइले कर्मचारी खर्चदेखि आफ्नो खर्चसम्म धान्न पुग्छ । यो भनेको वर्षको ३० देखि ४० लाख रुपैयाँ बराबरको कारोबार हो ।

‘पौडी त खेल्न जाने, तर पौडिन आउँथेन,’ भट्टराईले भनिन्, ‘अनि, स्विमिङ क्लास पनि लिने र खेल्न पनि जाने भनेर साथीहरूबीच सल्लाह भयो ।’

त्यसपछि उनका स्कुले सहपाठीहरू एउटै समूह बनाएर घर नजिकै कलंकीस्थित ‘स्विम फिट नेपाल’ मा गए । त्यहाँ पुगेर स्विमिङ प्याकेजबारे बुझे ।

उनको समूहले ७ दिनको तालिम सहितको स्विमिङ प्याकेज लियो । एक्लै प्याकेज लिँदा ६ हजार ५ सय रुपैयाँ पर्ने तर समूहमा जाँदा छुट भएर प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ परेको भट्टराईले सुनाइन् ।

‘पहिलो दिन त स्विमिङ पुलमा छिर्न पनि डर लागेको थियो,’ उनले रमाइलो मान्दै सुनाइन्, ‘तर, अहिले त ८ फिट गहिराइमा पनि मजाले कन्फिडेन्सका साथ पौडिन सक्ने भएँ ।’

उनको समूहले लिएको प्याकेजको मंगलबार अन्तिम दिन चलिरहेको उनले बताइन् । ‘आज हाम्रो अन्तिम दिन हो, स्विमिङ सकेपछि यहाँबाट हामी सबैलाई सर्टिफिकेट (प्रमाणपत्र) पनि दिनुहुन्छ,’ भट्टराईले भनिन्, ‘अब त जुन ठाउँमा गए पनि स्विमिङ गर्न डर लाग्दैन ।’

स्विमिङ पुलको बढ्दो व्यापार

काठमाडौं भीमसेनगोलामा रहेको ‘बानेश्वर स्पा एन्ड स्विमिङ पुल’ का प्रबन्ध निर्देशक प्रतिबोध प्रधान गर्मी बढेसँगै पौडी खेल्न आउनेको संख्या दिनहुँ बढ्दै गएको सुनाउँछन् ।

केही वर्षयता पौडी निकै आधुनिक बन्दै गएको उनको अनुभव छ । ‘अहिले काठमाडौंमा पनि गर्मी ह्वात्तै बढेको छ, स्विमिङ पुलमा मान्छेको चाप पनि बढ्दै गएको छ,’ प्रधानले अनलाइनखबरसँग भने, ‘हाम्रोमा पनि दैनिक भिड नै छ । बालबालिकादेखि वयस्कसम्म गर्मी छल्नका लागि स्विमिङ पुल धाउन थालेका छन् ।’

प्रधानले सञ्चालन गरेको स्मिङ पुलमा अहिले दैनिक १ सयदेखि डेढ सय जनासम्म पौडी खेल्न आउने गरेका छन् ।

उनका अनुसार शनिबार र अन्य सार्वजनिक बिदाका दिनमा पौडी खेल्नेहरूको बढी भिड लाग्ने गर्छ । ‘बिदाका दिनमा बालबालिका सहित अभिभावक आफैं पौडी खेल्न आउनुहुन्छ, अरू दिन युवायुवतीको बढी भिड हुन्छ,’ उनले सुनाए ।

 

अहिले विदेश जाने युवायुवती पनि स्विमिङ सिक्न आउने गरेको उनले बताए । त्यसरी सिक्न आउनेको संख्या पनि बढेको उनको भनाइ छ ।

स्वदेशीमात्रै नभएर विदेशी पनि पौडी खेल्नका लागि आइरहेको उनले बताए ।

सरकारी पौडी पोखरीहरू महेन्द्र पुलिस क्लब, बालाजु स्विमिङ पुल, दशरथ रंगशाला, सातदोबाटो स्विमिङ कम्प्लेक्स लगायत स्थानमा सरल प्याकेजमा पौडी खेल्न पाइने भएपछि ती स्थानमा पनि भिड लाग्ने गरेको छ ।

उनका अनुसार एक पटकका लागि वयस्कले ३ सय रुपैयाँ र बच्चा तथा विद्यार्थीले २ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । ८ हजार ५ सय रुपैयाँको १५ दिनको स्विमिङ क्लास पनि लिन पाइने व्यवस्था गरिएको छ ।

‘पौडीको व्यवसाय सिजनल हुन्छ, स्विमिङ पुल ६ महिना खुल्ने र ६ महिना बन्द हुने हुन्छ,’ प्रधानले भने, ‘सिजनल भए पनि अहिले पौडीप्रति मान्छेको आकर्षण बढेको हुँदा व्यापार राम्रो नै हुन्छ । ६ महिनाको कमाइले कर्मचारी खर्चदेखि आफ्नो खर्चसम्म धान्न पुग्छ । यो भनेको वर्षको ३० देखि ४० लाख रुपैयाँ बराबरको कारोबार हो ।

पछिल्लो समय मान्छेमा बढ्दै गएको पौडी ‘क्रेज’ देख्दा सरकारका तर्फबाट पनि अझै २–४ वटा पौडी पोखरी निर्माण हुनुपर्ने प्रधान बताउँछन् । ‘स्विमिङ अवेरनेसका लागि अझै पनि जति चाहिने हो, त्यति पुलहरू बनेका छैनन् ।’

सर्वसाधारणका लागि खुला हुने राजधानीका स्विमिङ पुलहरूमा सामान्यतया २ सय ५० देखि १ हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्छ ।

सरकारी पौडी पोखरीहरू महेन्द्र पुलिस क्लब, बालाजु स्विमिङ पुल, दशरथ रंगशाला, सातदोबाटो स्विमिङ कम्प्लेक्स लगायत स्थानमा सरल प्याकेजमा पौडी खेल्न पाइने भएपछि ती स्थानमा पनि भिड लाग्ने गरेको छ ।

तारे होटलमा पनि पौडी खेल्नेको भिड

पछिल्लो पटक सामान्य होटलमात्र नभई सानादेखि तारे होटलसम्मका स्विमिङ पुलमा स्वदेशीदेखि विदेशीसम्मको भिड देख्न पाइन्छ ।

ठमेलस्थित चारतारे होटल मलबेरीमा पनि गर्मीमा पौडी खेल्न जानेको संख्या बढ्दै गएको छ । मलबेरीका महाप्रबन्धक अमिर प्रधानाङ्ग पनि गर्मी बढेसँगै स्विमिङ पुलमा भिड लागेको बताउँछन् ।

उनका अनुसार पौडी खेल्नेको दैनिक संख्या बढ्दो क्रममा रहेको छ । ‘हामीले सोमबारदेखि शुक्रबारसम्म प्रतिव्यक्ति १५ सय रुपैयाँ शुल्क तोकेका छौं, शनिबार र आइतबार भने १८ सय रुपैयाँ लाग्छ,’ उनले भने, ‘त्यसमा हामीले गर्मीमा चिसो पेय पदार्थको पनि सुविधा दिएका छौं । यसमा पनि १ हजार रुपैयाँ थप्दा थ्री कोर्स मिल खान पाइन्छ ।’

अहिले पर्यटकीय सिजन नै भएकाले होटलमा विदेशी पर्यटक भरिभराउ हुँदा नेपालीलाई ‘स्पेस’ दिन नसकेको उनी बताउँछन् । अब विदेशीहरू फर्किन थालेपछि भने नेपालीहरू आउन थाल्ने उनको भनाइ छ ।

मलबेरीमा अहिले दैनिक स्विमिङ गर्न भनेर १५ देखि २० जना पुग्ने गरेको महाप्रबन्धक प्रधानाङ्गले जानकारी दिए ।

‘स्विमिङ गर्ने खचाखच छन्’

कलंकीस्थित ‘स्विम फिट नेपाल’ मा अहिले स्विमिङ गर्न जानेहरूको बाक्लो भिड छ । स्विम फिटकी प्रशासन प्रमुख स्नेहा डंगोल गर्मी छल्नका लागि स्विमिङ गर्न र सिक्न आउनेको भिड लागेको बताउँछिन् ।

उनका अनुसार यहाँ स्विमिङ गर्न आउनेको संख्या दैनिक १ सयभन्दा बढी हुन्छ । एक पटक स्विमिङ गरेको वयस्कले ५ सय रुपैयाँ र बालबालिकाले ३ सय रुपैयाँ तिनुपर्ने उनले बताइन् ।

पछिल्लो पटक सामान्य होटलमात्र नभई सानादेखि तारे होटलसम्मका स्विमिङ पुलमा स्वदेशीदेखि विदेशीसम्मको भिड देख्न पाइन्छ ।

स्विम फिटले स्विमिङ सिक्न चाहनेका लागि ७ दिन, १० दिन र १५ दिनको कोर्स सञ्चालन गरिरहेको छ । अहिले त्यसमा ६० जना रहेको उनी बताउँछिन् ।

‘बिदाको दिनमा स्विमिङ गर्न आउनेको संख्या डेढ सय जनासम्म हुन्छ,’ उनी भन्छिन्, ‘सामान्य दिनमा पनि संख्या राम्रै हुन्छ । हाम्रो इन्डोर स्विमिङ पुल भएकाले प्राइस (शुल्क) पनि सस्तो छ । आउटडोरमा महँगो हुने हुँदा इन्डोरमा आउनेको संख्या यतिलाई राम्रै मान्नुपर्छ ।’

कुन स्विमिङ पुलमा कति छ शुल्क ?

काठमाडौं धुम्बाराहीस्थित धन्यन्तरी स्विमिङ पुलमा पौडी खेल्न वयस्कलाई ३ सय ५० र विद्यार्थीलाई २ सय ५० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै स्वयम्भूस्थित स्वयम्भू रिक्रिएसनल सेन्टरले प्रतिव्यक्ति ३ सय रुपैयाँमा पौडी खेल्न दिने गरेको छ ।

कपनमा रहेको क्लब मन्डलाले भने बच्चाका लागि १ सय ५०, विद्यार्थीलाई २ सय र वयस्कलाई ३ सय रुपैयाँमा पौडी खेल्न दिने व्यवस्था गरेको छ ।

कालोपुलस्थित बज्र स्पोर्ट्स एन्ड स्विमिङ पुलले वयस्कका लागि ३ सय र विद्यार्थीका लागि २ सय ५० रुपैयाँ शुल्क तोकेको छ ।

त्यस्तै होटल साम्बालाले आइतबारदेखि बिहीबारसम्म प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ तथा शनिबारका लागि भने प्रतिव्यक्ति २ हजार रुपैयाँका दरले पौडी खेल्न दिने गरेको छ ।

बौद्धमा रहेको प्रमुख पाँचतारे होटल ह्यात रिजेन्सीले पौडी खेल्ने वयस्कका लागि १ हजार ५ सय र बच्चाका लागि १ हजार १ सय रुपैयाँ शुल्क तोकेको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?