+
+
Shares

समयमा बनेन तातोपानी सुख्खा बन्दरगाह

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १३ गते १०:५०

Tatopani-Sukhkha-Bandargah

१३ फागुन, काठमाडौं । चीन सरकारको सहयोगमा निर्माण भइरहेको तातोपानी सुख्खा बन्दरगाह तत्काल सञ्चालनमा नआउने निश्चित देखिएको छ । मंसिर महिनासम्म सञ्चालनमा आइसक्नुपर्ने बन्दरगाहको बल्ल ७० प्रतिशत निर्माण कार्य सकिएको छ ।

चीनले दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरि २०६९ सालदेखि सुख्खा बन्दरगाह निर्माण कार्य सुरु गरेको थियो । सुख्खा बन्दरगाहसम्म पुग्ने सडक र पुलको निर्माण कार्य झनै अनिश्चित बनेको नेपाल चाइना मितेरी व्यापार संघका अध्यक्ष बहादुर शेर्पाले बताए ।

अर्थमन्त्रालयले गरेको बजेटको मध्यावधि समिक्षामा पनि पुलको निर्माण कार्य ५५ प्रतिशत र सडकको १० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । यस अवधिसम्म आइपुग्दा पुल, सडक र बन्दरगाह तीनवटै काम सम्पन्न भइसक्नुपर्थ्याे ।

‘सुख्खा बन्दरगाहको भवन निर्माण कार्य सम्पन्न भइसकेको छ, भित्र साजसज्जा, पानी, बिजुली जडान कार्य भइरहेको छ’ शेर्पाले अनलाइनखबरसँग भने- ‘केही महिनाभित्र बन्दरगाह निर्माण सम्पन्न भएपनि बाटो र सडकको काम नसकिँदा तत्काल सञ्चालनमा नआउने देखिन्छ ।’

शेर्पाका अनुसार अहिले सुख्खा बन्दरगाहको निर्माण कार्य भइरहेको छ भने पुल र सडक निर्माण कार्य रोकिएको छ । पुल बनाउँदा बनाउँदै साउनको बढीले भत्काइदिएपछि चिनियाँ निर्माण कम्पनीले बिचमै निर्माण कार्य रोकेको हो ।

कम्पनीले आफ्नो सरकारसँग इन्स्योरेन्स र क्षतिपूर्ति मागेको छ । दाबी गरिएको इन्स्योरेन्स र क्षतिपूर्ती नपाउँदासम्म पुल निर्माण नगर्ने अडानमा कम्पनी रहेको छ । बाढीले पुल नभत्काइदिएको भए अहिलेसम्म ८०/८५ प्रतिशत काम सम्पन्न भइसक्ने थियो ।

चीन सरकारले ४ अर्ब रुपैयाँमा सुख्खा बन्दरगाह, नेपाल-चाइना मितेरी पुलदेखि सुख्खा बन्दरगाहसम्मको करिव ६ किलोमिटर बाटो र पुल निर्माण गर्ने नेपाल सरकारसँग सम्झौता गरेको थियो ।

चीनले अहिलेको ६ मिटरको सडकलाई १२ किलोमिटरको बनाइदिने छ । सडक विस्तारको क्रममा बीचबाट दायाँ २५ र बाँ २५ किलोमिटर बाटो विस्तार गर्नुपर्ने भएपछि स्थानियहरुले अवरोध पुर्‍याउँदै आएका थिए ।

यसरी सडक विस्तार गर्दा छेउछाउका घरहरु अधिकांश भत्किने भएपछि स्थानिय व्यवसायी तथा क्लबहरुले विरोध गरेका हुन् । यहि कारण पनि बाटो विस्तार कार्य सेलाएको बताउँछन्, अध्यक्ष शेर्पा ।

अहिले ६ मिटरको बाटोमा ठूला कन्टेनर हिँड्नुपर्ने हुँदा त्यस क्षेत्रमा सधै जाम हुने गरेको छ । सडक विस्तारपछि जाम हट्ने अपेक्षा गरिएकोमा तत्काल सडक निर्माण सम्पन्न नहुने देखिएको छ । जिल्ला प्रशासन कार्यालय, सडक विभागले समेत बाटो निर्माण सुचारु गर्न कुनै पहल नगरेको अध्यक्ष शेर्पाले गुनासो गरे ।

सिन्धुपाल्चोकको जुरेमा पहिरो गएपछि अहिले खासाको व्यापार सुस्ताएको छ । यही कुरालाई मध्यनजर गर्दै चीन सरकारले लामो साँघुदेखि मितेरी पुलसम्मको करिव ४४ किलोमिटर सडक विस्तार गर्ने तयारी गरिरहेको शेर्पाले जानकारी दिए ।

नेपाल सरकारले बाटो बनाउन ढिलाई गरेपछि चीन सरकार तातेको जानकारी दिँदै शेर्पाले उक्त बाटोको चीनले सर्भेसमेत गरिसकेको जानकारी दिए । यो बाटो बनेमा चीन र नेपालबीचको व्यापारले गति लिने विश्वास दुबै पक्षको छ ।

सुख्खा बन्दरगाहसम्म पुग्ने पुलको पिलरमात्र उठाइएको छ, ढलाई हुन सकेको छैन् । उक्त पुल नबनेसम्म सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा आउँदैन् । सुख्खा बन्दरगाहमा पुग्न बाटोबाट भोटेकोशी नदी पार गर्नुपर्ने हुन्छ ।

अहिले नेपाली कन्टेनरहरु साँघुरो बाटो हुँदै खासा पुगेर सामान ल्याउनुपर्छ । बन्दरगाह सञ्चालनमा आएपछि चिनियाँ कन्टेनरहरुले नै त्यहाँसम्म सामान ल्याइदिने छन् ।

यसले नेपाली व्यवसायीहरुको लागत घट्ने निश्चित छ । साथै, अहिले साँघुरो बाटोमा हिँड्नुपर्ने बाध्यताबाट पनि कन्टेनर चालकहरुले मुक्ति पाउने विश्वासमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?