५ चैत, काठमाडौं । सिंगापुरका संस्थापक नेता लि कुआन यु सिकिस्त बिरामी भएका छन् ।
९१ वर्षीय पूर्वप्रधानमन्त्री लि निमोनियाबाट ग्रस्त भएकाले उनलाई आइसीयुमा राखिएको सिंगापुरको प्रधानमन्त्री कार्यालयलाई उधृत गर्दै विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।
सिंगापुरले यसै वर्ष आफ्नो स्थापनाको ५० औं वर्षगाँठ मनाउँदैछ । सिंगापुरलाई विकसित राष्ट्रमा उभ्याउने लि सिंगापुरका संस्थापक प्रधानमन्त्री हुन् ।
मलेसियाबाट सन् १९६५ मा साढे ६ सय वर्गकिलोमिटर क्षेत्रफल लिएर छुटिएको सिंगापुरलाई लिको नेतृत्वले विकसित राष्ट्रका रुपमा उभ्याएको हो ।
सिंगापुर एउटा सानो बन्दरगाहको शहरजस्तै भए पनि यसलाई विकसित राष्ट्रका रुपमा चिनिन्छ । नेपालका कतिपय नेताले भाषण गर्दा नेपाललाई सिंगापुर बनाउने चर्चा गरेको पाइन्छ ।
सिंगापुरको प्रधानमन्त्री पदमा रहेर लि कुआनले ३१ वर्षसम्म शासन चलाएका थिए । त्यसपछि स्वेच्छाले पद त्याग गरे पनि उनी अहिले पनि सिंगापुरको राजनीतिमा हावी रहँदै आएका छन् ।
अहिले सिंगापुरको प्रधानमन्त्री पदमा लि कुआनका छोरा लि सिएङ लङ आसीन छन् ।
प्रतिक्रिया 4