
२६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको कायममुकाय गभर्नर नीलम ढुंगानाले कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि दोस्रो व्यक्ति अघि सार्नुपर्ने गरी छलफल भएको छ ।
शुक्रबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको पदाधिकारी बैठकमा सहभागी एक नेताले सभापति देउवाको बोली उद्धृत गर्दै भने, ‘गभर्नर कांग्रेसलाई दिने भइसक्यो । गभर्नर हाम्रै मान्छे पठाउने हो । भट्टजीको भए हुन्छ, नभए अर्को मान्छे पठाउनु पर्यो ।’
भट्ट गभर्नर हुन नसक्ने स्थिति बने दोस्रो व्यक्ति कसलाई अघि सार्ने भन्नेबारे भने कांग्रेस टुंगोमा पुगिसकेको छैन ।
भट्टलाई गभर्नर बनाउन नसकेको अवस्थामा विकल्प खोज्नुपर्ने विषयमा भने सभापति देउवा ढुक्क देखिएको ती नेताले जानकारी गराए । ‘१/२ दिन हेरौं । भट्ट जीको भएन भने अर्को खोज्नुपर्छ भन्ने कुरा आएको छ,’ बैठकमा सहभागी नेताले भने ।
कामु गभर्नर ढुंगानाले पदीय भूमिका अनुसार जिम्मेवारी निर्वाह नगरेको भन्दै नेताहरूले असन्तुष्टि पोखेका थिए । बैठकमा सहभागी नेताका अनुसार ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्नुमा एमाले प्रति आशंका समेत गरेका छन् ।
कांग्रेसले इच्छाएको व्यक्ति गभर्नर हुने कांग्रेस–एमालेमा सहमति बनेपछि राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट भट्टले ५ वैशाखमा राजीनामा दिएका थिए ।
कामु गभर्नर ढुंगानाले हालसम्म भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । अर्थमन्त्री विष्णु पौडेलले भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिए पनि उनले टेरिनन् ।
ढुंगानाले राजीनामा नगर्ने अडान लिएपछि उनलाई एमालेले भित्रि रूपमा सघाएको आशंका कांग्रेसमा बढ्दै गएको छ । ढुंगानाले राजीनामा स्वीकृत नगर्नुमा एमालेको षड्यन्त्र रहेको शीर्ष तहका एक नेता दाबी गर्छन् ।
‘एमालेले नखेलेको भए कार्यवाहक गभर्नरले राजीनामा स्वीकृत गर्दिनँ भन्न पाइन्छ त ?’ उनी भन्छन्, ‘स्व–इच्छाले राजीनामा दिन पनि नपाइने ? एउटा व्यक्तिले राजीनामा गर्दा उनले रोक्न मिल्छ ? गभर्नर नियुक्तिमा भयंकर राजनीति र षड्यन्त्र भएको छ । षड्यन्त्र गराउने खेलमा नीलम देखिने गरेर लागिन् ।’
कांग्रेसले चाहेको व्यक्ति गभर्नर हुनेमा भने नेताहरू ढुक्क देखिएका छन् । देउवाले पार्टी बैठक र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी ओली गभर्नर कांग्रेसले चाहेको व्यक्ति हुने विश्वस्त बनाएको जानकारी गराएका छन् ।
शुक्रबारको पार्टी बैठकमा छिट्टै गभर्नर नियुक्त हुने नेताहरूलाई जानकारी गराएका थिए । बैठकपछि सभापतिको बोली उद्धृत गर्दै प्रवक्ता डा. प्रकाशरण महतले भने, ‘सभापतिले यो चाँडै टुंगिन्छ । प्रोफेसनल, व्यावसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्वमा जानुपर्दछ । एउटा सहमतिबाट निर्णय हुन्छ भन्नुभएको छ ।’
प्रतिक्रिया 4