काठमाडौं । बिकाशोन्मुख मुलुकमा क्रिश्चियन धर्मको प्रचारका लागि पश्चिमा मुलुकहरुले अर्बौं डलर खन्याइरहेका छन् । खासगरि अफ्रिकी मुलुक र केही एशियाली मुलुकमा बिभिन्न आबरणमा क्रिश्चियन धर्म प्रचारका मिसनहरु संचालन भइरहेका छन् ।
नेपाल धर्मनिरपेक्ष मुलुक घोषणा भएपछि यतिबेला नेपालका गाउँगाउँमा बिद्यालयभन्दा धेरै चर्चहरु खुलिरहेका छन् । तर, यति धेरै मेहेनत र अर्बौं डलरको खर्चका बाबजुद बिश्वमा क्रिश्चियन धर्मालम्बीको आकार भने खुम्चदो छ ।
हालै सार्वजनिक गरिएको एक अध्ययनले अमेरिकामै क्रिश्चियन धर्मालम्बीको संख्या तिब्र गतिमा घट्दै गइरहेको देखाएको छ । यहि अबस्था रहेमा अबको केही बर्षमै मुस्लिम धर्म संख्याका हिसावले बिश्वको सवैभन्दा ठूलो धर्मका रुपमा स्थापित हुने छ ।
विश्वमा अहिले सबैभन्दा धेरै मानिसले अबलम्बन गरेको धर्म क्रिस्चियन अर्थात् इशाइ धर्म हो । संख्याका हिसाबमा मुस्लिम धर्मावलम्बीहरु दोस्रो स्थानमा छन् ।
तर, मुस्लिमहरुको संख्या यति तिब्र गतिमा बढ्दैछ कि सन् २१०० सम्म धर्मावलम्बीको संख्याका हिसाबले इस्लाम धर्म पहिलो नम्बरमा आउनेछ ।
पिउ रिसर्च सेन्टरले गरेको पछिल्लो अध्ययनले सन् २०७० सम्म इस्लाम र क्रिस्चियन धर्मावलम्बीको संख्या बराबर हुनेछ ।
‘दि फ्युचर अफ वल्र्ड रिलिजन्स : पपुलेसन ग्रोथ प्रोजेक्सन, २०१०-२०५०‘ शीर्षकको प्रतिवेदन अनुसार भविष्यमा विश्वको धार्मिक अवस्था झनै चलायमान हुनेछ ।
रिपोर्टका अनुसार धार्मिक चलायमानताको कारण धार्मिक समूहहरुले धर्मनिरपेक्ष मानिसहरुको मन जितेर होइन कि अहिले धर्ममा आवद्ध मानिसहरु कम उमेरका रहेका हुँदा उनीहरुले जन्माउने बच्चाबच्चीको संख्या धर्मनिरपेक्ष मानिसको भन्दा बढी हुने भएकाले हो ।
प्रतिवेदनका अनुसार यो जनसांख्यिक पक्षलाई हेर्दा विश्वमा इस्लाम धर्मावलम्बीको संख्या उच्च दरमा बढ्ने देखिएको छ । विश्वमा अहिलेको जनसंख्यालाई हेर्दा अन्य धर्मावलम्बी भन्दा मुस्लिम धर्मावलम्बी युवायुवतीहरुको संख्या बढी छ र मुस्लिम धर्मावलम्बीहरुमा प्रजनन दर पनि उच्च छ ।
अमेरिकामा क्रिश्चियन घट्दै, चीनमा नास्तिक धेरै
क्रिस्चियानिटीले अमेरिकामा सबैभन्दा ठूलो क्षति बेहोर्ने देखिएको छ । अमेरिकामा धर्मनिरपेक्षताको विस्तारले निरन्तरता पाउने प्रतिवेदनले प्रक्षेपण गरेको छ । सन् २०५० सम्म अमेरिकामा आफूलाई कुनै पनि धर्मसँग आवद्ध नगराउने मानिसको संख्या त्यहाँको कुल जनसंख्याको एक चौथाइ पुग्नेछ, जुन सन् २०१० मा केवल १६ प्रतिशत रहेको छ ।
त्यस्तै सन् २०५० सम्म अमेरिकामा क्रिस्चियन धर्मावलम्बीहरुको संख्या कुल जनसंख्याको ६६ प्रतिशतमा झर्नेछ । जुन सन् २०१० मा ७८ प्रतिशत थियो ।
रिपोर्ट अनुसार सन् २०३५ सम्ममा अमेरिकामा मुस्लिमहरुको संख्या यहुदी धर्मावलम्बीको भन्दा बढी हुनेछ, यद्यपि यी दुबै धार्मिक समुदायको हिस्सा अमेरिकामा निकै न्यून रहेको छ ।सन् २०१० देखि २०५० सम्मको ४० वर्षको अवधिमा युरोपमा मुस्लिमको संख्या ६ प्रतिशतबाट १० प्रतिशतमा पुग्नेछ ।
विश्वका विभिन्न देशका झण्डै २५ सयवटा जनगणना, सर्भे तथा जनसंख्या दर्ताको विश्लेषण गरी पिउ रिसर्च सेन्टरले धार्मिक जनसंख्या सम्बन्धमा रिपोर्ट तयार पारेको हो ।
अध्ययन अनुसार जनसांख्यिक हिसाबले सबैभन्दा ठूलो अनिश्चितता विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको देश चीनमा हुनेछ । चीनमा धार्मिक हिसाबमा जनसांख्यिक आवद्धताको विश्वासिलो तथा आधिकारिक सरकारी तथ्यांकको अभावमा यस्तो अनिश्चितता देखिने विश्लेषण गरिएको हो ।
रिपोर्टअनुसार क्रिस्चियन भनेको पश्चिमा गोराहरुको धर्ममात्र हो भन्ने मानसिकतामा पनि परिवर्तन आइरहेको छ र इसाइ धर्म अफ्रिका, एशिया तथा दक्षिण अमेरिकामा विस्तार भैरहेको छ ।
अहिले पनि विश्वका क्रिस्चियन धर्मावलम्वीको २५ प्रतिशत मानिस सब सहारा अफ्रिका क्षेत्रमा बसोबास गर्छन् । सन् २०५० सम्ममा सब सहारा क्षेत्रमा विश्वमा इसाइ धर्मावलम्बीको ४० प्रतिशत जनसंख्या पुग्नेछन् ।
सन् २०१० मा चीनमा कुल जनसंख्याको ५ प्रतिशत इसाइ, १८ प्रतिशत बुद्धिष्ट तथा २२ प्रतिशत स्थानीय धर्म अबलम्बन गर्ने रहेकोमा ५० प्रतिशत कुनै पनि धर्मप्रति आवद्ध छैनन् । कुनै धर्ममा आवद्ध नभएका आधा चिनियाँ जनसंख्या क्रिस्चियन धर्ममा आवद्ध भए भने विश्वभरकै धार्मिक जनसांख्यिकीमा परिवर्तन आउने विश्लेषण छ ।
तथापि उच्च प्रजनन दर तथा अहिलेको उमेरगत जनसांख्यिक अवस्थाका कारणले गर्दा मुस्लिम धर्मावलम्बीहरुको सन्तानोत्पादन क्रिया तिब्र हुने र यो शताब्दीको अन्त्यसम्ममा विश्वमा मुस्लिमको जनसंख्या इसाइको भन्दा बढी हुने रिपोर्टको निष्कर्ष रहेको छ ।
सन् २०५० सम्ममा विश्वका वौद्ध धर्मावलम्बीको जनसंख्या बढ्नेछैन र सन् २०१० मा जत्तिकै रहनेछ । तर, यो ४० वर्षमा हिन्दु र यहुदी धर्मावलम्बीको संख्या भने बढ्नेछ ।
भारतमा हिन्दु र मुस्लिमको अवस्था
सन् २०५० सम्ममा विश्वमा हिन्दु धर्मावलम्वीको संख्या १ अर्ब ३८ करोड पुग्नेछ । सन् २०१० मा विश्वमा हिन्दुहरुको संख्या १ अर्ब ३ करोड थियो ।
पछिल्लो ४० वर्षमा विश्वमा हिन्दुहरुको संख्यामा ३५ करोडले वृद्धि भए पनि विश्वको कुल जनसंख्यामा हिन्दुहरुको हिस्सा भने घट्नेछ । सन् २०१० मा विश्वको कुल जनसंख्यामा हिन्दुहरुको हिस्सा १५ प्रतिशत रहेकोमा सन् २०५० मा यो घटेर १४.९ प्रतिशतमा झर्नेछ ।
सन् २०५० सम्मै भारतमा हिन्दु धर्माबलम्बीहरुले सबैभन्दा ठूलो धर्मको रुपमा बर्चस्व कायम गरिरहने रिपोर्टले देखाएको छ । सन् २०५० सम्ममा भारतले एक नयाँ कीर्तिमानसमेत कायम गर्नेछ । इण्डोनेसियालाई पछि पार्दै भारत सबैभन्दा धेरै मुस्लिम धर्माबलम्बी भएको देश बन्नेछ ।
विश्वमा सन् २०१० मा १ अर्ब ६० करोड रहेका मुस्लिम सन् २०५० मा २ अर्ब ७६ करोड पुग्नेछन् । त्यस्तै २ अर्ब १७ करोडबाट इसाइहरुको संख्या २ अर्ब ९२ करोड पुग्नेछ ।
विश्वको कुल जनसंख्यामा प्रतिशतका हिसाबले सन् २०१० देखि २०५० सम्ममा इसाइहरुको संख्या ३१.४ प्रतिशतमा समान स्तरमा पुग्नेछ । यो ४० वर्षमा मुस्लिमको प्रतिशत भने २३.२ बाट २९.७ मा पुग्नेछ ।
यसकारण बढ्दैछन् मुस्लिम
प्रजनन दरको हिसाबमा मुस्लिमहरु पहिलो स्थानमा रहेका छन् । मुस्लिम महिलाको औषत प्रजननदर ३.१ रहेको छ । दोश्रो स्थानका क्रिस्चियनको २.७ रहेको छ भने हिन्दु महिलाको प्रजनन दर २.४ रहेको छ ।
उमेरगत हिसाबले हेर्दा विश्वमा सबैभन्दा धेरै युवा जनसंख्या मुस्लिम रहेका छन् । मुस्लिममध्ये १५ वर्षमुनिका ३४ प्रतिशत, १५ देखि ५९ वर्षसम्मका ६० प्रतिशत तथा ६० वर्षभन्दा माथिका ७ प्रतिशत रहेका छन् ।
त्यस्तै हिन्दु धर्मावलम्बीमा १५ वर्षमुनिका ३० प्रतिशत, १५ देखि ५९ वर्षसम्मका ६२ प्रतिशत तथा ६० वर्षमाथिका ८ प्रतिशत रहेका छन् ।
क्रिस्चियनको संख्या भने केही बुढो देखिएको छ । क्रिश्चियनहरुमा १५ वर्षमुनिका २७ प्रतिशत, १५ देखि ५९ सम्मका ६० प्रतिशत तथा ६० वर्षमाथिका १४ प्रतिशत रहेको देखिएको छ ।

प्रतिक्रिया 4