Comments Add Comment

मेड इन नेपाल : हाम्रो पनि राम्रो पनि

Sudarshan Basnet (4)

युवा उद्यमी मञ्चको आयोजनामा शुक्रबारदेखि राजधानीमा ‘मेड इन नेपाल’ प्रर्दशनी हुँदैछ । प्रर्दशनी उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्ने कार्यक्रम छ । स्वदेशमा उत्पादित वस्तु तथा सेवाका बारेमा उपभोक्तालाई जानकारी गराई उनीहरुलाई स्वदेशी वस्तु प्रयोगमा आकषिर्त गर्नु प्रर्दशनीको मूख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।

चार दिनसम्म चल्ने प्रर्दशनीको तयार, प्रर्दशनीमा राखिने वस्तुहरु, यसको उद्देश्य लागयतका विषयमा केन्द्रित भएर प्रर्दशनी संयोजक सुदर्शन बस्नेतसँग अनलाइनखबरका लागि नविन अर्यालले गरेको कुराकानी :

स्वदेशमा उत्पादित वस्तु तथा सेवाहरुको प्रर्दशनी ‘मेड इन नेपाल’ शुक्रबारदेखि सुरु हुँदैछ । प्रर्दशनीको तयारी कहाँ पुग्यो ?

मेलाको तयारी सम्पन्न भइसकेको छ । बिहीबार बेलुकासम्म मेलाका स्टलहरु तयार गरेर सहभागीलाई हस्तान्तरण गर्छौं । इभेन्ट म्यानेजमेन्ट र अर्गनाइजरले गर्ने काम सबै बिहीबार सकिन्छ । प्रर्दशनीकर्ताले बेलुकादेखि नै आफ्ना समानहरु ल्याउनुहुन्छ । शुक्रबार दिउँसो २ बजे उद्घाटनको समयसम्म सहभागीहरुले आफ्नो समान ल्याएर स्टल भरिसक्नु हुनेछ ।

हामीले सहभागीहरुलाई विहान ११ बजेसम्म स्टलहरु साजसज्जा गरेर समान ल्याएर राख्नुस् भनेर आग्रहसमेत गरिसकेका छौं । ९५ प्रतिशत स्टलहरु बुकिङ भइसकेका छन् । बाँकी स्टलहरु सोसियल कामका लागि पनि राखेका छौं, केही भाग फोटो प्रर्दशनीका लागि राखेका छौं । मेलामा साना-ठूला गरेर १३० स्टल रहनेछन् ।

प्रर्दशनीमा राजधानी केन्दि्रत उद्यमी व्यवसायीमात्र सहभागिता हुन्छ कि जिल्लाबाट पनि सहभागिता रहन्छ ?

प्रर्दशनीमा राजधानी तथा राजधानी बाहिर भएका सबै सहभागी हुन्छन् । हामीले जिल्लागत हिसाबमा नहेरी संस्थागत रुपमा गर्ने लक्ष्य राखेका छौं । सकेसम्म प्रर्दशनीमा स्वदेशमा उत्पादित अधिकांश वस्तुहरु समावेश गर्ने प्रयास गरेका छौं । प्रर्दशनीमा ठूलादेखि साना प्रोडक्टहरु रहन्छन् ।

कस्ता-कस्ता वस्तुहरु प्रर्दशनीमा राखिन्छ ?

घरेलु उद्योगदेखि ठूला उद्योगहरुका उत्पादन प्रर्दशनीमा राखिन्छ । महिलाहरुले घरमा बसेर बनाएका वस्तुदेखि सिमेन्ट, रड, पाइप लगायतका ठूला उद्योहरुका उत्पादन रहन्छन् ।

प्रर्दशनीमा निर्माण समाग्री, खाद्य वस्तुहरु, फर्निचर, हस्तकलाका समान, अल्लो तथा रेशमका कपडाहरु, इञ्जिनियरिङ प्रोडक्ट, हर्बल उत्पादन, जुत्ता, अचार लगायतका वस्तुहरु रहने देखिएको छ । सबैभन्दा ठूलो शिवम सिमेन्टको स्टल रहनेछ । मेलामा हर्वल, जुत्ता र महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुका तीनवटा छुट्टाछुट्टै प्याभिलियन रहनेछ ।

ठूला उद्यमीहरुले त आफ्नो उत्पादनको बजार आफै सिर्जना गर्न सक्छन्, यहाँ त ग्रामीण क्षेत्रमा यस्ता उद्यमी छन्, जसले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन सकेका छैनन्, यसतर्फ प्रर्दशनीले ध्यान दिएको छ कि छैन ?

हामीले त्यस्ता उद्यमीहरुलाई पनि स्थान दिएका छौं । मेलामा रहेका साना स्टलहरुमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरु प्रर्दशनीमा राखिने छ । ‘मेड इन नेपाल’ प्रर्दशनी भएकाले हामीले साना उद्यमी, घरेलु उद्यमीलाई मात्र प्राथमिकतामा राख्न मिल्दैन ।

Sudarshan Basnet (3)

मेड इन नेपाल भन्नेवित्तिकै सानादेखि ठूला उद्योग सबैलाई समेट्नुपर्छ । प्रर्दशनीमा नेपालमा यस्ता पनि वस्तुहरु उत्पादन हुन्छन है भनेर उपभोक्तालाई जानकारी गराउँछौं ।

हाम्रो मुलुकमा सियो समेत बन्दैन भन्ने आमधारणा रहेको पाइन्छ । प्रर्दशनीमार्फत नेपालमा ठूला-ठूला उद्योगहरु रहेछन, धेरै चिजहरु बन्दा रहेछन् भन्ने कुरा देखाउने हो । प्रर्दशनीमा सबै खालका उत्पादनहरु राखिन्छ ।

मेलाको मुख्य उद्देश्य के हो ?

नेपाली वस्तु तथा सेवाको प्रयोग गर्न मान्छेलाई सचेत गराउने, देशको आयातमुखी अर्थतन्त्रलाई थोरै भए पनि आत्मनिर्भर बनाउने मेलाको मूख्य उद्देश्य रहेको छ । मेड इन नेपाल युवा उद्यमी मञ्चको अभियानमध्ये एक हो । स्वदेशी वस्तुको प्रचार-प्रसार प्रवर्द्धनमा मञ्चले अरु थुप्रै कामहरु गर्दै आएको छ ।

प्रर्दशनीलाई मेगा इभेन्टका रुपमा लिएका छौं । हाम्रा वस्तुहरुलाई एकैपटक धेरै उपभोक्तामाझ देखाउने हो । मेड इन नेपाल अभियानमार्फत मलेसिया र कतारमा पनि हाम्रा उत्पादन लगेर जाँदैछौं । भोलिका दिनमा अन्य मुलुकमा पनि आफ्ना उत्पादनहरु लगेर प्रर्दशनी गर्छौं ।

प्रर्दशनीमा कसैले नयाँ उत्पादन सार्वजनिक गर्न चाहान्छ भने प्लेटर्फम तयार गरिदिन्छौं । नेपाली उपभोक्तालाई सचेत गराउँदै निर्यातमा वृद्धि गर्ने हाम्रो अभियान हो ।

विदेशी वायर्स र सेलरहरुलाई सहभागी गराउनुभएको छ ?

हामीले नेपालमा रहेका विदेशी प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छौं । नेपालमा बसिरहेका विदेशीहरुलाई आउनुहुन्छ । अरु धेरै देशमा प्रर्दशनीमा भाग लिएका अनुभवी विदेशीहरु पनि आउने भन्नुभएको छ । मेरो विचारमा प्रर्दशनीमा नेपाली उत्पादकहरुको विदेशी वायर्स र सेलरसँग अन्तरक्रिया हुन्छ ।

यस वर्षको ‘मेड इन नेपाल’ प्रर्दशनी पाँचौं संस्करण हो । यो प्रर्दशनी विगतको भन्दा केही फरक हुन्छ कि उस्तै ?

पहिलाका मेलामा घरेलु उद्योहरुलाई प्राथमिकता दिने गरेका थियौं । यसपटकको मेलामा ठूला उद्योगहरु पनि समावेश भएका छन् । पहिला आउँदा घरेलु प्रकारका उत्पादन देखिरहेका अवलोकनकर्ताले यसपट ठूला उत्पादनहरु पनि देख्न पाउँछन् ।

यसपटक नौला सामान देख्न पाइन्छ । नेपालमा उत्पादित इलेक्टि्रकल रिक्सा पनि प्रर्दशनीमा राखिन्छ । नेपालका टिपिकल हर्वल बेभरेज कम्पनीका उत्पादन राखिन्छ । विगतमा भन्दा यसपटकको मेला पक्कै फरक र भव्य हुन्छ ।

विगतका मेलाहरुमा सहभागिता कस्तो रहने गरेको थियो । यसपटक कति सहभागिताको अपेक्षा गर्नुभएको छ ?

पहिलो र दोस्रो मेला सुरुवातको भएको हुँदा औषत नै भयो भन्दा हुन्छ । तेस्रो र चौथो संस्करणमा आइपुग्दा अवलोकनकर्ताको आकर्षण बढेको थियो । यस पटकको मेलामा ४ दिनको अवधिमा एक लाख जनाले मेला अवलोकन गर्ने अपेक्षा गरेका छौं ।

विगतमा ‘आफ्नो भनेको आफ्नै हो’ भन्ने नारासहित मेला आयोजना गरिँदै आएकोमा यसपटक किन स्लोगन परिवर्तन गरेर ‘हाम्रो पनि राम्रो पनि’ राख्नुभयो ?

मेलामा अवलोकनकर्ताले जहिले पनि राष्ट्रियताको कुरा गर्ने, गुणस्तरको कुरा नगर्ने भनेर कमेन्ट गर्न थाले । सामान किन्दा मैले राष्ट्रियता हेरेर किनु कि गुणस्तर हेरेर किनु भनेर उपभोक्ताले प्रश्न उठाइरहे ।

Sudarshan Basnet (1)

त्यही भएर हामीले यसपटक हाम्रो पनि राम्रो पनि भनेर राखेका हौं । हाम्रा समान हुन्, राम्रा पनि छन् । राम्रो लागेमा प्रयोग गर्नुस भनेर हामीले सन्देश दिन खोजेका हौं । एकातिर हाम्रा सामान राम्रा पनि छन् भनेर देखाउने हो भने अर्कोतिर गुणस्तरीय सामान हेरेर मात्र खरिद गर्नुहोस् भनेर उपभोक्तालाई भन्ने हो ।

विगतदेखि नै प्रर्दशनीहरु व्यापार गर्ने थलोका रुपमा परिणत भए भनेर गुनासो आइरहेको पाइन्छ । तपाईहरुले यसतर्फ कत्तिको ध्यान दिनुभएको छ ?

मेड इन नेपाल प्रर्दशनीमात्र नभएर जति पनि प्रर्दशनी भइरहेका छन्, सबै हाट बजारजस्तै देखिने गरेका छन् । मेला भन्ने वित्तिकै व्यापार भन्ने बुझिन थालेको छ । हामीले मेड इन नेपाल प्रर्दशनीलाई हाट बजार नभएर प्रर्दशनीका रुपमा विकास गर्न लागेको हो ।

साना उद्यमीहरुको चाहाना के हुँदो रहेछ भने प्रर्दशनीमा आफ्ना सामानहरु बिक्री वितरण गर्ने । ठूला उद्योहरुले किनबेच गर्न सम्भव छैन् । मलाई पनि प्रर्दशनी प्रर्दशनीकै रुपमा रहनुपर्छ जस्तो लाग्छ । त्यसैले हामीले मेड इन नेपाल प्रर्दशनीलाई हाटबजार हुनबाट रोक्ने प्रयास गर्छौं ।

त्यहि भएर हामीले प्रर्दशनीमा यति रकम बराबरको कारोबार गर्छौ भनेर भनेको छैनौं । कति ट्रान्जेक्सन होला भनेर ध्यान नै दिएका छैनौं ।

तपाई स्वदेशी वस्तुहरुसँग नजिक रहेर काम गर्दै आउनुभएको छ । विगतका वर्षहरुको तुलनामा नेपालीको स्वदेशी वस्तुप्रतिको धारणामा परिवर्तन आएको पाउनुभएको छ ?

पहिला नेपालमा केही पनि बन्दैन भन्ने धारणा रहेको थियो । अब केही बन्न थालेको छ, तर नेपाली वस्तुहरु गुणस्तरीय छैनन् भन्ने धारणामा आम उपभोक्तामा रहेको छ ।

नेपाली धेरै वस्तुहरु गुणस्तरीय छन् । हामी उपभोक्ताले बल्ल नेपाली वस्तुहरु प्रयोग गर्न सिक्दैछौं । हामीले गुणस्तरीय नेपाली वस्तुहरु छनौट गरेर उपभोग गर्नुपर्छ । हामीले विदेशी वस्तुहरु प्रयोग गरेर राष्ट्रियताको खोक्रो नारा लगाउँदै देशको अर्थतन्त्र बलियो बन्दैन ।

उपभोक्ताको मन जित्न स्वदेशी उत्पादकहरु के कुरामा ध्यान दिनुपर्ने देख्नुहुन्छ ?

उत्पादकहरुले आफ्नो उत्पादनलाई गुणस्तरीय बनाउन ध्यान दिनुपर्छ । संसारमा गुणस्तरीय सामान मात्रै बिक्री हुन्छ । आज जापानी सामान जति महंगो भए पनि उपभोक्ताले किन किन्छन् ? किनकि जापानी सामानहरु गुणस्तरीय हुन्छन् ।

मूल्य बराबर गुणस्तरलाई सधै मनन गर्नुपर्ने मैले देख्छु । गुणस्तरका लागि मान्छेले पैसा तिर्ने हो । हामीले गुणस्तर सामान उत्पादन गर्न सकेमा उपभोक्ताले जति पैसा तिरेर पनि प्रयोग गर्छन् । नेपालमा बनेको कोबाल्ट घडी हामीले एक लाख तिरेर पनि किनिरहेका छौं । नेपाली हेन्डिक्राफ्ट विश्वमै महंगो मानिए पनि किनिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment