Comments Add Comment

कलेजो प्रत्यारोपण : डाक्टर भन्छन्- सक्छौं, तर कानुन खै ?

५ वैशाख, काठमाण्डौ । डा. क्षेतेन योञ्जन कलेजो प्रत्यारोपण विज्ञ (लिवर ट्रान्सप्लान्ट सर्जन) हुन् । उनले भारतको एम्स तथा मेदान्त अस्पतालबाट कलेजो प्रत्यारोपणमा विशेषज्ञता हासिल गरेकी छिन् ।

liverतर उनले आफ्नो विशेषज्ञता उपयोग गर्न पाएकी छैनन् । जे जति अभ्यास गरिन्, पढाइको सिलसिलामा भारतमै गरिन् ।

नेपालमा कलेजोसम्बन्धी विरामीको संख्या बढिरहेको अवस्थामा उनले लिएको विशेषज्ञताको आवश्यकता झनै बढिरहेको छ । कलेजो खराब भइ प्रत्यारोपण नै गर्नुपर्ने अवस्थाका विरामी पनि निकै थपिँदैछन् । यही विश्लेषण गर्दै उनले यो विषयमा विशेषज्ञता लिइन् । तर, उनको विशेषज्ञता कपी र प्रायोगिक कक्षामा मात्रै सीमित भएको छ  ।

हाल काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) र अन्य अस्पतालहरुमा कार्यरत डा. योञ्जन आफ्नो दक्षता उपयोग गर्न नपाएर खिन्न छिन् ।

‘हो, हामीले परीक्षण गरेका दर्जनौं बिरामीमा कलेजो प्रत्यारोपणको आवश्यकता देखेका छौं, प्रत्यारोपण गर्न हामी नेपाली चिकित्सक सक्षम पनि छौं’ उनी भन्छिन् ‘तर, कलेजो प्रत्यारोपणलाई नेपालमा कानुनी मान्यता नभएकोले हामीहरुले सीप उपयोग गर्न पाएका छैनौं ।’

केएमसीमा भर्ना भएका कलेजोका बिरामीमध्ये करिब ३० प्रतिशतमा कलेजो प्रत्यारोपणको आवश्यकता पर्ने गरेको उनी बताउँछिन् । तीन वर्षयता, केएमसीमा भर्ना भएका दुई सय ८८ कलेजो रोगीमध्ये करिब एक सय ३० जनामा कलेजो नष्ट भएको पाइएको थियो । तर, कलेजो प्रत्यारोपणलाई सरकारी मान्यता नहुँदा धेरै बिरामी अकालमा मृत्युवरण गर्न बाध्य छन् । कोही विदेश पुगेर निकै चर्को मुल्यमा उपचार गर्छन् ।

‘हाम्रो अस्पतालमा लिवर ट्रान्सप्लान्टका लागि दक्ष चिकित्सक टोली र भौतिक पूर्वाधार छ’ केएमसीका प्रशासन अधिकृत विजय शर्मा भन्छन् ‘तर यो प्रत्यारोपण गर्न कानुनी अभाव हुँदा हाम्रो क्षमता एवं लगानी खेर गइरहेको छ ।’

नेपालमा अंग प्रत्यारोपण सम्बन्धी कानुनमा अहिलेसम्म मृगौला (किड्नी) प्रत्यारोपणलाई मात्र उल्लेख गरिएको चिकित्सकहरु बताउँछन् । ‘जबकि मृगौलाजत्तिकै कलेजो पनि आवश्यक हो र प्रत्यारोपण पनि सहजरुपमै गर्न सकिन्छ’ डा. योञ्जनले भनिन् ।

उनका अनुसार कलेजो प्रत्यारोपणमा रिजेक्सन रेट कम हुने, ब्लक ग्रुप समायोजनमा पनि कठिनाइ कम हुने गर्दछ । साथै, मृगौलाको जस्तो सिंगो कलेजो नै प्रत्यारोपण गर्नुपर्दैन । स्वस्थ मानिसको करिब ३० प्रतिशत अंश मात्र प्रत्यारोपण गर्न मिल्छ । केही समयमै उक्त कलेजो वृद्धि हुँदै सत प्रतिशतमा पुग्दछ । सहज भाषामा भन्नुपर्दा, नङ र कपालजस्तै वृद्धि हुन्छ कलेजो । कलेजो दान गर्ने र लिने दुबैमा कलेजोको भाग टुक्रिँदा, जोडिँदा खासै हानी पुग्दैन ।

त्यसो त ब्रेन डेथ भएका व्यक्तिको कलेजो पनि विरामीमा प्रत्यारोपण गर्न सकिने हुन्छ । तर, नेपाललगायत एसियाली मुलुकमा धार्मिक, साँस्कृतिक कारणले मृत व्यक्तिको अंग निकाल्न कठिनाइ भएको चिकित्सकहरु बताउँछन् ।

खानपानमा लापरवाही र समयमा उपचार नहुँदा कलेजो नष्ट हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । कलेजो नष्ट हुनेमध्ये ६० प्रतिशत अल्कोहल (मदिरा) र बाँकी हेपाटाइटिस बी र सी, जण्डिस, कलेजोमा बोसो जम्नु (फ्याटी लिभर) आदि कारण छन् ।

कलेजो नष्ट हुन लागेको पहिचान बेलैमा गरे सस्तो एवं सहज उपचार हुन सक्छ । दिसा कालो हुने, पेटमा धेरै पानी जम्ने, आँखा पहेलों हुने, लामो समयसम्म सामान्य इन्फेक्सन पनि निको नहुनेजस्ता लक्षण देखिने डा. योञ्जन बताउँछिन् । ‘बेलैमा उपचार गरे कलेजो जोगाउन सकिन्छ’ उनी भन्छिन् ।

विदेशमा भन्दा नेपालमा सस्तो उपचार

कलेजो प्रत्यारोपण विश्वका अधिकांश मुलुकमा लागू भइसकेको छ । तर, महुँगो छ । पश्चिमेली मुलुकमा पाँच लाख डलरसम्म खर्च लाग्छ भने छिमेकी भारतमा कम्तिमा २५ लाख भारतीय रुपैंयाँ लाग्छ । जबकि, नेपालमा आफूहरुले १० लाख नेपाली रुपैंयाँमा कलेजो प्रत्यारोपण गर्न सकिने डा. योञ्जन बताउँछिन् ।

केएमसीजस्तै कलेजो प्रत्यारोपणमा विभिन्न निजी तथा सरकारी अस्पतालहरुमा पनि सक्षम चिकित्सक टोली र पूर्वाधार रहेको पाइएको छ । उनीहरु पनि कानुनी अभावमा अघि बढ्न सकेका छैनन् । खर्च गर्न सक्ने विरामीलाई भारतलगायतका मुलुकमा महुँगो उपचार गर्न सिफारिस गर्न बाध्य छन् ।

त्यसो त, अन्य उपचार प्रणाली पनि सस्तो छ । त्यही भएर पनि नेपालमा आएर लामो समयसम्म तथा सस्तोमा उपचार गर्न आउनेहरुको संख्या बढिरहेको छ । यसलाई मध्यनजर गर्दै यहाँ कलेजो, मृगौला, मुटुजस्ता अंगको प्रत्यारोपण गर्दै मेडिकल टुरिज्मको प्रवर्द्धन सकिने वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. रुपक घिमिरे बताउँछन् ।

‘तर यसका लागि मानव अंग प्रत्यारोपण ऐनको दायरा बढाउनु पर्‍यो,’ उनी भन्छन् ‘टाइफाइड लागेर नेपालमा उपचार गर्न त को आउला र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment