बी.बी. गिरी
८ वैशाख, जाजरकोट । एक महिनादेखि जाजरकोटमा फैलिएको स्वाइन फ्लुको महामारीबाट मंगलबार थप तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबार नै पत्रकार सम्मेलन गरी महामारी नियन्त्रण उन्मुख रहेको बताएको थियो ।

तर, पजारु गाविस ५ का ६६ वर्षीय परिमल सार्की र रामीडाँडा गाविस ७ का ६५ वर्षीय लालबीर नेपाली र सक्ला ९ का ११ वर्षीय कुशबहादुर बुढाको मंगलबार मृत्यु भएको छ ।
लालबीर नेपालीको उपचारको क्रममा मृत्यु भएको रामीडाँडा स्वास्थ्य चौकीका इन्चार्ज बिष्णु ज्योतीले जानकारी दिए । नेपालीका घरका अन्य सदस्य समेत बिरामी परको ज्योतीले टेलिफोनमा बताएका छन् । त्यस्तै सार्कीको उपचारको अभाबमा मृत्यु भएको पजारु गाविसका पूर्वअध्यक्ष लालबहादुर महताराले जानकारी दिए ।
सरकारले जाजरकोटको महामारी नियन्त्रणमा आउन थालेको दाबी गरे पनि प्रकोप फैलने र मृत्यु हुने क्रम अझै रोकिएको छैन ।
(यो पनि पढ्नुहोस् : जाजरकोटमा २४ घन्टाभित्र चिकित्सक पठाउन सरकारलाई सर्वोच्चको आदेश)
महामारी नियन्त्रणको लागि मंगलबार पनि जाजरकोटकका बिभिन्न स्थानमा औषधि र स्वास्थ्यकर्मी पठाइएको छ । अहिले जिल्लाका ११ स्थानमा शिविर राखेर उपचार गर्ने ब्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । मंगलबार पनि नेपाली सेनाको हेलिकप्टरबाट सक्ला, रामीडाँडा, लिम्सा लगायतका स्थानमा स्वास्थ्यकर्मी र औषधि पुर्याइएको छ । तर, पुरानो ठाउँमा कम भए पनि नयाँ ठाउँमा देखा पर्न थालेको छ ।
स्वाईन फ्लुका बिरामीको उपचार सुरक्षित स्थानमा स्वास्थ्यकर्मीका निगरानीमा गर्न नसक्दा प्रकोप फैलने गरेको चिकित्सकले बताएका छन् । ‘रोगको सजिलै पहिचान गर्न दुर्गममा गाह्रो छ । लक्षण देखिएकालाई पनि निगरानीमा राखेर उपचार गर्न सकिन्न यसले प्रकोप नियन्त्रणमा समस्या छ,’ बारेकोटको लिम्सामा उपचाररत डा. अच्युत आचार्यले भने ।
कालिकोटमा फैलियो संक्रमण, विद्यालय बन्द
जाजरकोटको छिमेकी जिल्ला कालिकोटका मेहेलमुडी र राम्नाकोटमा समेत स्वाइनफ्लुका जस्तै विरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका अनुसार ति गाविसमा एक सय जना भन्दा धेरै बिरामी परेका छन् ।
रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुःख्ने लक्षण देखापरेपछि मेहेलमुडी गाविस ५ का विद्यालय बन्द गरिएको छ ।
तुरुन्तै पहलकदमी लिन सकिएन भने जाजकोटको जस्तै महामारी फैलिने आशंकाले सर्बसाधारण त्रसित छन् ।
प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाइसकिएको जानकारी दिए । स्वाइन फ्लु जस्तै लक्षणबाट धेरै विरामी परेको जानकारी दिँदै उनले नमुना परीक्षणका लागि काठमाडौं पठाउने तयारी भैरहेको बताए ।
प्रतिक्रिया 4