Comments Add Comment

संस्मरण : भूकम्पपछि अमेरिकादेखि नेपालसम्म

दर्शन रौनियार
भूकम्पपछि एक महिनाभन्दा लामो उद्धार र राहतमा खट्ने क्रममा नेपाल सरकारको कमजोर उपस्थिति, सयौं वर्षपछाडि बाँचिरहेका गाउँले, अव्यवस्था, लाचारी, अपूर्व प्राकृतिक सम्पदा र सौन्दर्य तथा परिवर्तनको आशामा पर्खिरहेको समाज आदिलाई आत्मसात गर्ने मौका पाएँ ।

Darsan-Rauniyarत्यो दिन हामी सपरिवार सिनेमा हेर्न गएका थियौं। घर फर्किएपछि मोबाइल फोनमा बीबीसीको न्यूज एलर्ट आयो- नेपालमा ठूलो भूकम्प गएछ। मेरो मन अचानक अमेरिकाको सियाटलबाट भयभीत र चिन्ताग्रस्त हुँदै नेपाल दौडियो। परिवारलाई एकै शब्द नभनी म घरमै रहेको कार्यालयको कम्प्युटरमा पुगें र इन्टरनेटमा समाचार खोतल्न थालें। बीबीसी, सीएनएन, रोयटर्स, एपी, एफएपी सबैतिर नेपालमा भूकम्प गएको घटना मुख्य खबर बनेर छाएको थियो।

इन्द्रचोकको स्थायी बासिन्दा म। इन्द्रचोकसमेत रहेको काठमाडौं दरबार स्क्वायर क्षेत्रमै बढी क्षति भएको समाचार आइरहेको थियो। फोन उठाएँ र नेपालमा रहेका आफन्तसँग कुरा गर्ने प्रयास गरें। सम्भव भएन। धरहरा भत्किएको, काष्ठमण्डप ढलेको, दरबार स्क्वायरका तीनैवटा मन्दिर ढलेको खबर आइरहेका थिए, आफन्तसँग कुनै सम्पर्क हुन सकेको थिएन। घन्टौंपछि बल्ल गौशालामा रहेका दाइ र इन्द्रचोकमै रहेका मामासँग सम्पर्क भयो।

यस्तो बेलामा म बसेको देश अमेरिका सरकारले पनि तत्कालै प्रतिक्रिया दिँदै सहयोगको सन्देश पठायो। भारत सरकार र त्यहाँका प्रधानमन्त्री मोदीले पनि तत्कालै सहयोगको हात फैलाए। विश्वकै ध्यान नेपालतर्फ आकर्षित थियो, तर नेपाल सरकार भने मौन थियो।

संकटमा सरकारको अनुपस्थिति अनुभूति हुन्छ। सामान्य अवस्थामा त जेनतेन जिन्दगी चलिरहेकै हुन्छ। जनताको घरमा चुलो बलेकै हुन्छ। संकटमा सरकारले आफ्नो भूमिका प्रदर्शन गर्नुपर्छ। सरकारको आयु र भविष्य पनि संकटको समयमा उसले प्रदर्शन गरेको व्यवहारले नै निर्देशित गर्छ।

भूकम्पपछि हाम्रो आँखामा निद्राको सानो अंश पनि थिएन। त्यो रात हामीले जागा भएरै बितायौं। सियाटलमा बिहान ६ बजिसकेको थियो, सुशील कोइराला सरकारले भने भूकम्प गएको यतिका समय बितिसक्दा पनि बोली गुमेको बिरामीजसरी एकै शब्द उच्चारण गर्न सकेको थिएन।

यस्तो बेलामा तत्काल नेपाल जानुपर्छ भन्ने लाग्यो। नेपाल आमाले विदेशमा बस्ने हामी नेपालीलाई दु:खको घडीमा बोलाइरहेकी थिइन्। देशका लागि केही गर्ने बेला यही हो। देशप्रतिको कर्तव्यको क्षण यही हो।

भूकम्पको एक साताभित्रै म नेपाल आएँ र व्यक्तिगत रूपमै उद्धार र राहत कार्यमा जुट्न थालें। नेपालमै मैले डेढ वर्षअघि स्थापना गरेको एमफोरसी (मुभमेन्ट फर चेन्ज) का साथीहरूसँग समन्वय गरेर राहतको योजना बनाएको थिएँ।

मेरा सहकर्मी साथीहरूकै मद्दतले म काठमाडौं उत्रिएकै दिन विमानस्थलबाट सोझै गोदावरी क्षेत्र पुग्न सकें, राहत र सम्भव उद्धारका लागि। बाटोमै एटीएमबाट केही हजार रुपैयाँ निकालेँ, केही खाद्यान्न र त्रिपाल किनेँ।

नेपाल आएर भूकम्पप्रभावित क्षेत्र घुमेपछि मलाई लाग्यो- मैले सोचेभन्दा धेरै गुना बढी क्षति रहेछ। धेरै घर भत्किएका थिए। सर्वसाधारण घरवरिपरि खाली ठाउँमा बसेका थिए। धेरैजसोसँग पाल थिएन। कतिपयसँग खाद्यान्न पनि थिएन। केही रोइरहेका थिए। भूकम्पप्रभावित क्षेत्रमा सरकारको उपस्थिति शून्य थियो।

नेपालीको सन्तोषी स्वभाव पनि भूकम्पले मलाई सिकायो। गाउँमा मानिस सन्तोषमै थिए। घर भत्क्यो, तर ज्यानलाई केही भएन भन्दै उनीहरू खुसी व्यक्त गरिरहेका थिए। भत्किएका, चर्किएका घरहरू, खण्डहरमा बदलिएको बस्ती देखेर मेरो मनमा भूकम्प गइरहेको थियो, तर सर्वसाधारण भने दु:खमा पनि सन्तोष गरिरहेका थिए।

खान नपाएका र पालसमेत नपाएका पीडित देखेर मेरा आँखा रसाएको थियो, मेरो हृदय द्रवित भएको थियो, तर उनीहरू आफैं भने राहत थाप्नसमेत आनाकानी गरिरहेका थिए।

हरिसिद्धिमा एकजना घरमूलीले मार्मिक कथा सुनाए। उनका छोराछोरीका सबै प्रमाणपत्र घरसँगै पुरिएछन्। खाद्यान्न पुरिए पनि, बास उठे पनि उनले छोराछोरीसँग मिलेर भत्किएको संरचना पन्छाउँदै प्रमाणपत्र खोजेछन्। उनी भन्दै थिए, ‘केही दिन खान नपाएर के हुन्छ? तर यो प्रमाणपत्र भेट्न नसकेको भए यिनीहरूलाई कसरी उच्च शिक्षा दिन सक्थेँ?’

शिक्षाप्रति आम मानिसमा रहेको गहिरो आकर्षण पुष्टि गर्न यही एउटा घटना काफी छ। पढ्नुपर्छ भन्ने चेतना हरेक मानिसमा गहिरोसँग गढेको छ तर उचित शिक्षादीक्षाको प्रबन्ध गर्न सरकार आफैं चुकेको छ।

मेरो बुबाको निधनपछि मलाई पनि मेरी हजुरआमाले पढाइको महत्त्व बुझाउँदै स्कुल पठाउनुभएको हो। उहाँ भन्नुहुन्थ्यो, ‘शिक्षाको ठूलो मान्यता राख्नू। शिक्षा जीवनको आधारशिला हो । तिम्रो धन एक रातमै बिलाउला, तर शिक्षाको ज्योतिले तिमीलाई सधैं उज्यालो पारिराख्नेछ।’

हजुरआमाकै प्रयत्नमा म र मेरी आमासँगै स्कुल पढ्न गएका थियौं। राहत बाँड्ने क्रममा एकजना वृद्धाले भनिन्, ‘मलाई राहत चाहिँदैन बाबु। मभन्दा अप्ठ्यारोमा परेकालाई यो राहत दिनू। मेरो त घर भत्किएको मात्र हो, मान्छेका परिवार नै गुमेका छन्। हामीलाई भन्दा सहयोगको खाँचो उनीहरूलाई छ।’

हामी नेपालीमा रहेको विवेकको अंश हो त्यो। सर्वसाधारणमा विवेकको कमी छैन । तर, सरकारमा बस्नेहरूले, नेतृत्वमा बस्नेहरूले त्यो विवेक गुमाएका छन्। कमजोर र कुनै कार्यकुशलता नभएको सरकारले विवेकशील सर्वसाधारण नेपालीको अपमान गरेको छ।

उद्धारका क्रममा त्रिपुरेश्वरमा सयौं वर्ष पुरानो मन्दिरको इँटा छुन पाउँदा मलाई गर्वको अनुभूति भएको थियो। म देशप्रेमले ओतप्रोत भएको थिएँ। यही त हो, मातृभूमिप्रतिको प्रेम दर्शाउने मौका। राष्ट्रभक्ति प्रकट गर्ने बेला यही त हो। देशलाई दुखेको बेला त हो, उसको हृदयमा प्रेमको मलम लगाउने।

भत्किएको धरहराले मलाई दुई वर्षअघि आमा र दिदीसँग यो प्राचीन सम्पदाको नवौं तलामा उक्लिएको स्मरण गरायो। कहाँ गयो हाम्रो त्यो प्रतिष्ठा? कहाँ गयो हाम्रो त्यो स्वाभिमान? कहाँ गयो हाम्रो त्यो उचाइ?

दुई वर्षअघि म धरहराको टुप्पोमा पुगेर त्यहाँको बार्दलीमा फनफनी घुमेको थिएँ। सहिदगेट हेरेको थिएँ, नारायणहिटी देखेको थिएँ, रत्नपार्क, टुँडिखेल, वसन्तपुर दरबार स्क्वायर, स्वयम्भू, शिवपुरी पर्वत, बूढानीलकण्ठ, कीर्तिपुर, चोभार एउटै आँखाले नियालेको थिएँ। काठमाडौंको आँखा थियो धरहरा। त्यो गुम्नुको पीडा मलाई कयौं दिनसम्म दुखिरह्यो।

धरहरा कसरी बलियो बनाउन सकिएला भनेर मैले सोचेको पनि थिएँ, त्यो प्राचीन सम्पदा उक्लिने क्रममा। कसरी यसलाई मजबुत बनाएर अझ धेरै मानिसलाई आकर्षित गराउन सकिएला भनेर चिन्तन गरेको थिएँ। भूगर्भविद् नम बुढाथोकीले मलाई काठमाडौंको फल्टलाइनबारे जानकारी दिँदै उहिल्यै भनेका थिए, ‘यहाँ ठूलो भूकम्प जान्छ। सरकारको तयारी छैन।’

उनले मलाई काठमाडौंका कमजोर घरहरूबारे जानकारी गराएका थिए। भूकम्पले यी सारा कमजोर संरचना नामेट पार्छ भन्ने उनले मलाई सचेत गराएका थिए। नभन्दै भूकम्प आयो र कोर काठमाडौंमा ठूलो क्षति पु:याएर गयो। सरकार भने भूकम्प जान्छ भनेर विज्ञहरूले सचेत गराए पनि कानमा तेल नै हालेर बसिरह्यो। भूकम्पसँग जुध्न उसले सिन्कोसम्म भाँचेको रहेनछ।
म हुर्किएको, खेलेको, मैले गृहकार्य गरेको, खाजा खाएको ठाउँ वसन्तपुरको भूकम्पले पारेको हविगत देखेर मेरो हृदय आँसुले भरिएको थियो। वसन्तपुर रंगहीन र रूपहीन भएको थियो। युद्ध क्षेत्रजस्तो तहसनहस भएको थियो। सधैंका लागि इतिहासबाट ओझेल परेको थियो।

राहत बाँड्ने क्रममा हामी नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रे पुग्यौं। अमेरिकाबाट आउँदा मैले आफ्ना लुगाफाटो कम लिएर आएको थिएँ। मेरो लगेज भूकम्पपीडितका लागि चकलेट र ग्रोनोला बारले भरिएको थियो। राहतका क्रममा जहाँजहाँ पुगें, त्यहाँका बालबालिका र वृद्धवृद्धालाई चकलेट बाँडे, एकै टुक्रा भए पनि।

सियाटल विमानस्थलमा मेरो लगेजको अतिरिक्त तौल देखेर कर्मचारीले प्रश्न गर्दै थिए। मैले भनेँ, ‘म नेपाल जान लागेको। त्यहाँ भूकम्पपीडितका लागि चकलेट लिएर जाँदैछु। विमानस्थलमा कर्मचारीले तत्कालै अतिरिक्त तौलका लागि अनुमति दिए।

नेपालका दुर्गम गाउँमा चप्पलसमेत नलगाएका बालबालिकालाई त्यही चकलेट बाँड्न पाउँदा म असीम तृप्तिले भरिएँ। सुगममै सरकार प्रभावकारी रूपमा पुग्न नसकेका बेला दुर्गम गाउँमा त उसको कुनै प्रकारको उपस्थिति थिएन।

काभ्रेको कोशीपारि जाने क्रममा हाम्रो गाडी बाटैमा अड्कियो। मोटरसाइकल लिएर हामी अघि बढ्यौं। मोटरसाइकल पनि कच्ची बाटोमा अघि बढ्न सकेन। सहकर्मीले चलाउन नमानेपछि मैले आफैं बडो कष्टसँग मोटरसाइकल चलाएँ र गन्तव्यमा पुगें।

त्यो अप्ठ्यारो समयमा पनि मैले गज्जबको दृश्य देखें। सुन्दर डाँडापाखा, हिमाल, तरेली परेका गाउँ। भत्किए पनि तिनको सुन्दरता बिछट्ट थियो। घरहरू छैनन्, तर उनीहरूले दैनिक चर्यामा खास परिवर्तन आएको छैन। त्यस्तो दुर्गम ठाउँमा पुग्न पाउँदा म खुसी थिएँ तर त्यहाँको कष्ट र सयौं वर्षपछाडिको जीवन बाँचिरहेका गाउँले देखेर मेरो मन पीडाले भरियो।

ती गाउँले आफैं भने भित्र रोए पनि बाहिर हाँसिरहेका थिए। प्रकृतिले हामीलाई भरिपूर्ण सौन्दर्य दिएको छ ! हामी आफैंले भने आफ्नै गाउँठाउँ र समाजका लागि केही गर्न सकेका छैनौं। भूकम्पपीडित क्षेत्रमा गाउँलेको आत्मीयता र प्रेमले म नतमस्तक भएँ, सरकार र राज्यसंयन्त्रले भने ती अबोध गाउँलेलाई नागरिकको हैसियत प्रदान गर्न सकेको छैन।

हामी अझै सयौं वर्षपछाडि छौं। दूरदृष्टि र समन्वयको नितान्त अभाव छ। गाउँमा बूढाबूढी र बालबालिकामात्र छन्। पुरुष रोजीरोटीका लागि परदेश गएका छन्।
कृषिप्रधान देशमा संगठित कृषिको अभाव छ। गाउँलेले आफूले उब्जाएको खाद्यान्न सस्तोमा बेच्छन्। त्यही उत्पादनको मूल्य सहरमा भनेको कयौं गुणा बढी हुन्छ। ती गाउँलेलाई आफ्नो उत्पादन र पसिनाको वास्तविक मूल्य हासिल गर्न शिक्षित गर्नुपर्ने खाँचो छ।

यही हो बेला, देशका लागि केही गर्ने ! यही हो बेला, देश जगाउने! यही हो बेला, देशलाई समृद्धिको बाटोमा लैजाने! यही हो बेला, देशको कायापलट गर्ने! नयाँ नेतृत्व जाग्ने यही उपयुक्त बेला हो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment