३१ जेठ, काठमाडौं । देश टुक्राउने अभियान चलाउनुका साथै महिलाविरुद्ध अपमानजनक अभिव्यक्ति दिने डा. सीके राउतलाई समर्थन गरेपछि यतिबेला नेपालमा एम्नेस्टी इन्टरनेशनल नराम्रो विवादमा तानिएको छ ।
चर्चित मानवअधिकारवादी कृष्ण पहाडीले एम्नेष्टीको समर्थन फिर्ता लिएसँगै आइतबार बहुमत पदाधिकारीले एमनेष्टी इन्टरनेशनल परित्याग गरेका छन् । आखिर किन विवादमा तानियो एम्नेष्टी ?
एम्नेस्टी इन्टरनेशनलका अन्तरराष्ट्रिय पदाधिकारी र नेपाल शाखाका अधिकारीवीचको विवाद अहिले नभएर गत वैशाखदेखिकै हो । र, विवादको विषय हो तराईलाई नेपालबाट छुट्याउने अभियान चलाइरहेका डा. सीके राउत ।
राउतको क्रियाकलापलाई मानवअधिकार एवं अभिव्यक्तिको स्वतन्त्रता मान्ने कि नमान्ने भन्ने विषयमा विवाद चर्किएपछि अहिले एम्नेस्टीमा विद्रोह भएको हो ।
सीके राउतले नेपाल विखण्डनको अभिव्यक्ति दिइरहेकाले उनीमाथि सरकारले मुद्दा चलाउनु मानवअधिकारको विषयभित्र नपर्ने एम्नेस्टी नेपालका मानव अधिकारवादीको तर्क छ ।
‘सार्वभौमसत्ता र अखण्डताविरुद्ध अभिव्यक्ति दिनु हेट स्पिच (घृणात्मक अभिव्यक्ति) भित्र पर्छ, एआइ नेपालमा एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘देश विखण्डन गराउने एवं महिलाविरुद्ध घृणात्मक अभिव्यक्ति दिनु मानवअधिकारभित्र पर्दैन । सीके राउतले महिलाविरुद्ध घृणा फैलाएर मानवअधिकारविपरीत एवं कानूनविपरीत अभिव्यक्ति दिएका छन् ।’
नेपालीलाई टेरेनन् विदेशीले
एम्नेस्टीको नेपाल शाखाका अधिकारीहरुले सीके राउतमाथि भएको कानूनी कारवाहीलाई मानवअधिकारसँग जोड्न नमिल्ने तर्क गरेका थिए । तर, एम्नेस्टी प्रतिवेदन २०१४/०१५को प्रतिवेदनमा ‘तराई क्षेत्रमा मानवअधिकार हनन’ शीर्षकमा सीके राउतको अभिव्यक्ति स्वतन्त्रताको समर्थन गरेको थियो ।
प्रतिवेदनको अंश
आफूहरुको सुझाव विपरीत विदेशीले पेलेर सीके राउतको पक्षमा रिपोर्ट दिएपछि नेपाल शाखाले एम्नेस्टीमा महासचिव सलिल सेठ्ठीलाई पत्र लेखेर देश टुक्राउने अभिव्यक्तिलाई के आधारमा मानवअधिकारसँग जोडियो भन्दै जवाफ मागेको थियो । तर, महासचिव सेठ्ठीले अहिलेसम्म यसको जवाफ दिन सकेका छैनन् ।
महासचिव सलिल सेठ्ठीमाथि प्रश्न
मानवअधिकारवादी अन्तरराष्ट्रिय संस्था भएर पनि एम्नेस्टीले राष्ट्र विखण्डनको नारा लगाउने डा. राउतलाई किन समर्थन गर्यो त ? यसबारे जिज्ञासा राख्दा नेपाल शाखाका एक असन्तुष्ट अधिकारीले अनलाइनखबरसँग भने- ‘एम्नेस्टीका महासचिव सलिल सेठ्ठी भारतीय मूलका नागरिक हुन्, उनले भारतीय जेलमा थुनिएका कास्मिरी पृथकतावादीको पक्षमा किन वक्तव्य निकाल्दैनन् र सीके राउतको पक्षमा बोल्छन् ? यो बुझिनसक्नुको विषय हो ।’
सेठ्ठीले पृथकतावाद र महिला हिंसालाई मानवअधिकारसँग जोडेर नेपालमा विखण्डन र हिंसालाई मलजल गर्न खोजेको एआइ नेपालमा असन्तुष्ट पक्षको आरोप छ ।
लोभी रिचार्ड
पद र कुर्सी भनेपछि नेपालीमात्रै होइन, विदेशीमा पनि उस्तै लोभ हुँदोरहेछ भन्ने उदाहरण हुन् एम्नेस्टीका अर्का अधिकारी रिचार्ड बेनेट ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगका नेपाल प्रतिनिधि भएर काठमाडौंमा बसिसकेका बेनेट राष्ट्रसंघको जागिरपछि अहिले एम्नेस्टीको एशिया प्रशासन्त क्षेत्रीय डाइरेक्टर छन् ।
नेपाल शाखाका पदाधिकारीले सीके राउतको आलोचना गर्दागर्दै उनको पक्षमा प्रतिवेदन बनाउन दबाब दिने उनै बेनेट रहेको असन्तुष्ट पक्षको तर्क छ ।
बेनेटले नेपाललाई राम्रोसँग बुझेका छन् । तर, उनी नेपालमा जातीय एवं क्षेत्रीय समुदायवीच एकता होइन, फाटो ल्याउन चाहन्छन् । नेपालमा हुँदा उनले तिब्बती शरणार्थीलाई परिचयपत्र दिन नेपाल सरकारलाई दबाव दिएका थिए ।
न्युजिल्याण्डमा जन्मेका बेनेटले सीके राउतलाई समर्थन गरेर तराईमा बिखण्डनको बिउ रोप्न लागिपरेको थाहा पाएपछि आफूहरुले एम्नेस्टी छाडेको असन्तुष्ट मानवअधिकारीहरुको तर्क छ ।
संयोग कस्तो परेको छ भने एम्नेस्टीका महासचिव सलिल जस्तै प्रमुख निर्देशक मिनार पिम्पल पनि भारतमा जन्मेका हुन् ।
राष्ट्रसंघीय सेवाबाट एम्नेस्टीमा आएका पिम्पलले नेपालबाट मधेसलाई बिखण्डन गराउने अभियान चलाइरहेका सीके राउतलाई मलजल गरेकाले आफूहरुको आवाज लण्डनले नसुनेको नेपाली मानव अधिकारकर्मीको आरोप छ ।
र, यसमा पश्चिमा र दक्षिणको स्वार्थ मिलेको उनीहरुको विश्लेषण छ ।

नेपालका मानवअधिकारवादी तीन कित्तामा
कृष्ण पहाडीले एमनेस्टीविरुद्ध छेडेको यो अभियानले नेपालका मानव अधिकारवादीहरुमा तरंग सिर्जना गरेको छ ।
स्रोतले यसको व्याख्या गर्दै अनलाइनखबरसँग भन्यो-‘ नेपालका मानवअधिकारवादीहरु तीन खेमामा देखिएका छन्, एकथरि सीके राउतको पक्षमा छन्, एकथरि दाताहरु नरिसाउन् भन्नका लागि मौन बसेका छन् र एकथरि एम्नेस्टीको गलत गतिविधिको भण्डाफोरमा खुल्ला रुपमा उत्रेका छन् ।
यो पनि पढ्नुस्
एम्नेस्टीका आठ पदाधिकारीबाट राजीनामा
एमनेष्टी इन्टरनेशनलप्रति पहाडीको समर्थन फिर्ता
कृष्ण कँडेल पनि एम्नेष्टी इन्टनेशनलबाट अलगिए
प्रतिक्रिया 4