Comments Add Comment

विदेशी दातालाई साँखुदेखि खोकनासम्म घुमाउने तयारी

७ असार, काठमाडौं । सरकारले आयोजना गरेको दातृ सम्मेलन सुरु हुन अब तीन दिन बाँकी छ । बिहीबार हुने दाता सम्मेलनमा सहभागी हुन विदेशी पाहुनाहरु मंगलबारसम्म लगभग सबै काठमाडौं आइपुग्नेछन् ।

नेपाल सरकारले दाताहरुलाई पाँचतारे होटलमा मात्र सीमित राख्नुभन्दा भूकम्पले क्षति पुर्‍याएको स्थलमै लगेर बिजोग देखाउने निर्णय गरेको छ । यसरी प्रत्यक्षरुपमा भूकम्पको क्षति देखाउँदा बढी सहयोग जुटाउन सकिने ठानेर सरकारले यस्तो जुक्ति फुराएको हो ।

भूकम्पले भत्किएको साँखु क्षेत्रको घर
भूकम्पले भत्किएको साँखु क्षेत्रको घर

सम्मेलन सुरु हुनुअगावै विदेशी दाताहरुलाई भूकम्पबाट क्षतिग्रस्त स्थलहरुमा घुमाइने छ, जसले गर्दा उनीहरुले सम्मेलनमा बढी सहयोगको घोषणा गर्न सक्ने सरकारी अधिकारीहरुले अपेक्षा गरेका छन् ।

सरकारले भूकम्पबाट क्षतिग्रस्त राजधानीका आधा दर्जन बढी ठाउँमा अन्तराष्ट्रिय दाताहरुलाई स्थलगत अवलोकन गराउने योजना बनाएको छ ।

दातृ सम्मेलनको अघिल्लो दिन अर्थात् भोलि असार ९ गते नै दाताहरुलाई ‘फिल्ड भिजिट’ गराइने अर्थसचिव सुमनप्रसाद शर्माले अनलाइनखबरलाई जानकारी दिए । ‘साँघु, बुङमती, खोकना, सीतापाइला, हनुमान ढोका, धरहरा र भक्तपुर दरबार क्षेत्रलगायतका ठाउँमा दाताहरुलाई स्थलगत अवलोकन गराउने निर्णय भएको छ’ शर्माले भने- ‘सुरक्षाका दृष्टिकोणले कहाँ संभव छ, कहाँ संभव छैन भनेर गृहमन्त्रालयले अध्ययन गरिरहेको छ ।’ 

सम्मेलनमा सहभागी हुन आउने दाताहरुलाई भूकम्पले पुर्‍याएको क्षतिको प्रत्यक्ष जानकारी गराउने उद्देश्यले फिल्ड भिजिट गराउन लागिएको उनले जानकारी दिए ।

भूकम्पले धरहरा भत्काएपछि ...
भूकम्पले धरहरा भत्काएपछि …

उपत्यका बाहिरका अतिप्रभावित जिल्लाहरुमा भने सुरक्षालाई मध्यनजर गरी स्थलगत अवलोकन गराउन नसकिने सचिव शर्माले जानकारी दिए ।  ‘ठूलो संख्यामा काठमाडौं आउने दाताहरुलाई उपत्यका बाहिर स्थलगत अवलोकन गराउन सुरक्षाका दृष्टिकोणले सम्भव छैन’ उनले भने ।

दाता सम्मेलनमा सहभागी बन्न सरकारले विभिन्न देश तथा दातृ निकाय गरी ७० वटा दातृ निकाय एवं मित्रराष्ट्रका प्रतिनिधिहरुलाई निम्ता गरेको ।

‘सोमबार दिउँसोसम्म ४५ दातृ निकायका प्रतिनिधि सम्मेलनमा सहभागी हुने उत्तर दिइसकेका छन्’ शर्माले अनलाइनखबरसँग भने- ‘मंगलबार दिनभरमा बाँकी २५ सहभागीले सकारात्मक जवाफ दिन्छन् भन्ने हाम्रो अपेक्षा छ ।’

भूकम्पले पुर्‍याएको क्षतिको पुननिर्माणका लागि ६ खर्ब ६६ अर्ब रुपैयाँ आवश्यक रहेको राष्ट्रिय योजना आयोगले तयार पारेको पोष्ट डिजास्टर निड्स एसिस्टेन्स (पीडिएनए)मा उल्लेख छ । यसका लागि रकम जुटाउन सरकारले बुधबार दाता सम्मेलन गर्न लागेको छ । सम्मेलनमा दाताहरुले करिब ३ खर्ब रुपैयाँ बराबरको सहयोगको घोषणा गर्न सक्ने सरकारी अधिकारीहरुको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment