+
+

ठीक गर्‍यौं बाबुराम !

एकजना मित्रले फोन गरेर भने-‘बाबुरामले पार्टी छोडे यार !’ सुन्नेबित्तिकै यति खुशी लाग्यो कि कुनै आत्मिय मित्र जेलबाट निस्केको खबर सुन्दाजस्तो ! मनमनै सलाम अर्पण गरेँ बाबुरामलाई । लाग्यो-ठीक गरे ! गोरुझैँ जोतिनपर्ने र बन्दीझैँ अपमान खेप्नुपर्ने ठाउँबाट मुक्त भएछन् !

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ११ गते १७:२५

नबराज बराल
एकजना मित्रले फोन गरेर भने-‘बाबुरामले पार्टी छोडे यार !’ सुन्नेबित्तिकै यति खुशी लाग्यो कि कुनै आत्मिय मित्र जेलबाट निस्केको खबर सुन्दाजस्तो ! मनमनै सलाम अर्पण गरेँ बाबुरामलाई । लाग्यो-ठीक गरे ! गोरुझैँ जोतिनपर्ने र बन्दीझैँ अपमान खेप्नुपर्ने ठाउँबाट मुक्त भएछन् !

Nabaraj-Baralपत्रकार सम्मेलनमा उनले के भने ? नेटमा खोजेर सुनेँ । उनले भनेका कुरा असाध्यै मार्मिक थिए । उनले धेरै विषयको खुलासा पनि गरेका रैछन् । पार्टी मात्र होइन, सांसदबाट पनि राजीनामा दिने निर्णय गरेछन् । उनले एमाओवादी पार्टीको औचित्य सकिएको घोषणा नै गरेका रैछन् । तर, त्यो आवश्यक भने थिएन । किनकि, राजनीतिक पार्टीमा विचार भनेको ‘प्राण’ हो र संगठन भनेको शरीर । विचारका निर्माता आफैँले पार्टी छोडेपछि माओवादी प्राणहिन बन्ने र केही समयमै दुर्गन्धित भएर सिद्धिने कुरा उनले भनिराख्नु जरुरी थिएन ।

संविधानसभालाई प्रचण्डले नरुचाउने नयाँ कुरा खुलादिएछन् बाबुरामले । जनताका छोराछोरीलाई प्रयोग गरी आफू शक्तिमा पुगेर योद्धालाई बेहाल अवस्थामा छोड्ने र पछिल्लो समयसम्म आउँदा पार्टी विघटन नै भइसके पनि प्रचण्डै ठीक हुन् भनेर ‘किर्तन’ गाउँदै हिँड्ने कार्यकर्तालाई पनि यो नयाँ विषय हो । तर, बाबुरामले नै जनयुद्ध शुरु गर्नुपूर्व ४० बुँदे माग राखेको भने सबैलाई थाहा थियो र प्रचण्डले ‘पाधे पनि बसायो’ भन्ने अवसरवादी खेमाले पनि स्वीकार्दै आएको हो ।

जसले जतिसुकै आरोप लगाओस् ! तर, मधेस आन्दोलनप्रति गम्भीर हुनुपर्छ भन्ने बाबुरामको धारणा भारतपरस्त होइन, राष्ट्रवादी नै हो । उत्पीडनको अन्त्य गर्नुपर्छ भनेर जनताका छोराछोरीलाई युद्धमा हिँडाउने अनि, आफू सत्तामा पुगेर सम्पत्ति जोडेपछि प्रतिवद्धता बिर्सने राष्ट्रवादी हुने र उत्पीडित जनसमुदायको मागलाई सम्बोधन गर्नुपर्छ भन्ने राष्ट्रघाती र गद्दार हुने भन्ने हुँदैहुँदैन ।

आˆनो मोटोपन र सुगर घटाउन साइकल चढ्छु भन्नेलाई राष्ट्रवादी देख्ने अन्ध राष्ट्रवाद र अन्धभक्तिबाहेक अरु केही होइन । एउटा मुलुकले हस्तक्षेप गर्‍यो भनेर अर्को मुलुकलाई गुहार्नेहरु कसरी राष्ट्रवादी हुन सक्छन् ? छिमेकमा ‘मोरु’ परेपछि अर्को छिमेकीले चासो दिने विषय व्यवहारिक रुपमा पनि जायज नै हो । मधेसमा आन्दोलन चर्केर सयौँ जनता मरिरहँदा यी भारतीय हुन् भनेर निर्मम बन्नु राष्ट्रवाद होइन । यसमा त झन् देश टुक्र्याउने षड्यन्त्र अन्तरनिहीत देखिन्छ ।

नेपालका पाखण्डी कम्युनिष्टहरु राष्ट्रवादको वकालत गर्दै देशमा बिखण्डन ल्याउने वातावरण बनाउँदैछन् । कतै, यो छिमेकी मुलुककै इशारामा गरिएको छद्म भूमिका त होइन ?

जसरी अमेरिकामा काला जातिमाथि गोरा जातिले अपमान र घृणा गर्थे, त्यसरी नै नेपालमा पनि मधेसी र थारुलाई अपमान मात्र होइन, घृणा गर्ने गरिएको छ । यो मानसिकता अत्यन्तै सामन्ती र आत्मघाती पनि हो । भलै केही नेताहरु होलान्, जो छिमेकी मुलुकको इशारामा काम गरेका । तर, केही फटाहा शासककै रुपमा सबै मधेसीलाई हेरिनु हुँदैन ।

अन्धराष्ट्रवादको नौटंकी देखाएर मधेसी जनसमुदायलाई अपमान गर्ने हो भने उनीहरुमा राष्ट्रप्रतिको अपनत्व रहनेछैन । त्यतिबेला कथित राष्ट्रवादीले जति कदम चाले पनि उनीहरुले स्वतन्त्रताको आन्दोलन चलाउनेछन् । जस पश्चात्, मधेस अर्को सिक्किम र दार्जीलिङ बन्ने खतरा हुन्छ । नेपाली नागरिकता दिनु तर, नेपालीको दर्जा नदिनु गलत हो ।

मधेसी नेताको होइन, जनताको आवाज बुझ्नुपर्छ र तिनका जायज मागलाई सम्बोधन गर्नैपर्छ । त्यसैले, बाबुरामको मधेसप्रतिको धारणामा कुनै पनि खोट देखिँदैन । यसमा त बुर्जुवाको नारा बोकेर हिँड्ने कथित राष्ट्रवादी कम्युनिष्टहरुकै कमजोरी छ । राष्ट्रियता कम्युनिष्टको नारा होइन । सैद्धान्तिक रुपमा त कम्युनिष्टहरुले विश्वभरकै जनतामा परेको दमन र उत्पीडनको विरुद्ध बोल्नुपर्छ, संघर्ष गर्नुपर्छ । तर, नेपालका पाखण्डी कम्युनिष्टहरु राष्ट्रवादको वकालत गर्दै देशमा बिखण्डन ल्याउने वातावरण बनाउँदैछन् । कतै, यो छिमेकी मुलुककै इशारामा गरिएको छद्म भूमिका त होइन ?

बाबुरामले पत्रकार सम्मेलनमा खुलाएझैँ, चुनावको बेला रकम लिन बिदेशी दुताबास धाउने र खुलामञ्चमा सोझा जनतालाई जम्मा गरेर फेरी, राष्ट्रियताको नारा लगाउने फटाहा शासकहरुप्रति धिक्कार छ !

यसको मतलब, भारतको विरुद्ध बोल्न हुन्न भन्ने होइन । भारतको हस्तक्षेपको पक्षमा कोही पनि नेपाली छैन । भारतलाई गाली गरेर मात्र नेपाल सम्पन्न र आत्मनिर्भर राष्ट्र बन्दैन भन्ने बुझ्नुपर्छ भन्ने मात्र हो । नेपाललाई भारतमाथि निर्भर बनाउने नेतृत्व पनि यही नक्कली राष्ट्रवादी नेतृत्व हो, अरुले बनाएका होइनन् । नेपाललाई आत्मनिर्भर बनाउन कुन नेताले के गरे ? भन्नेतर्फ पनि सोचौँ न !

बाबुराम स्वतन्त्र रहन सक्दैनन् र मिल्दैन पनि । पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीसमेत भइसकेका अन्तराष्ट्रिय रुपमा समेत स्थापित नेता बाबुराम व्यक्ति होइन, संस्था हो

हाम्रो मुलुकलाई परनिर्भर बनाउने असमान सन्धि-सम्झौता अलौकिक शक्तिले गरेर दिएको होइन, यिनैले गरेका हुन् । यस्ता नेताहरु एकाएक कसरी राष्ट्रवादी बने ? यो नै अचम्मको विषय हो ।

खाडी मुलुकमा पसिना बगाएर कमाएको रेमिट्यान्स नेपालमा बसेर भ्रष्टाचार गर्ने पनि यिनै नेता हुन् । दक्ष जनशक्ति यिनैको कारण विदेशमा पलाएन हुन वाध्य भएका हुन् । देशलाई समृद्ध बनाउन यिनले के गरे ? यिनको राष्ट्रियताको धोती छिट्टै दिल्ली पुगेर फुस्कने दिन नआओस् भन्ने नै नेपालीको कामना हो ।

आन्तरिक समस्या हल गर्न नसक्ने अनि, हस्तक्षेप गरे भनेर छिमेकीलाई चिढ्याएर जनतालाई दुःख दिने पनि काठमाडौँका शासकको अपराधिक मानसिकता मात्र हो । काठमाडौँका शासकलाई त जुन मुलुकको गुलामी गरे पनि भयो तर, खोक्रो राष्ट्रवादले जनताको दिनचर्या कष्टकर बन्दै गएको ती सामन्ती शासकलाई के थाहा !

माओवादीलाई यो स्थानमा ल्याइदिएर आज छोड्नपर्‍यो भनेर बेखुशी त लागेकै होला बाबुरामलाई । तर, जे गरे, एकदम ठीक गरे उनले । अझ, ढीला गरे । किनकि, माओवादी आन्दोलनको सबैभन्दा अवसरवादी खेमा (प्रचण्ड गुट)सँग वैद्यले भन्दा बाबुरामले नै पहिले विद्रोह गर्नुपर्थ्यो । त्यति लामो समय सहकार्य गर्दा पनि भ्रष्ट र सामन्ती नेतृत्वसँग सम्बन्ध विच्छेद गर्न नसक्नु नै उनको कमजोरी थियो ।

बाबुरामले माओवादी छोड्न सक्दैन, माओवादीमै बसेर गन्गन् गरिरहने हो भन्ने गर्थे मान्छेहरुले ! हुन त, उनीमाथि दर्जनौँ आरोप लागे र समयसँगै आफैँ खण्डन पनि हुँदै आए । तर, उनलाई पछिल्लो समय भारतपरस्त नेताको रुपमा चित्रित गर्न खोजेका छन् । यद्यपि, त्यो समयले नै बताउला ।

अब रहृयो अन्तिम र महत्वपूर्ण कुरा । त्यो हो-नयाँ शक्ति निर्माण । पत्रकार सम्मेलनमा भनेझैँ उनले अब नयाँ शिराबाट नयाँ शक्ति निर्माण गर्नुपर्छ । बाबुराम स्वतन्त्र रहन सक्दैनन् र मिल्दैन पनि । पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीसमेत भइसकेका अन्तराष्ट्रिय रुपमा समेत स्थापित नेता बाबुराम व्यक्ति होइन, संस्था हो ।

उनले पार्टी छोडेर सामान्य नागरिकका रुपमा मात्र बस्न हुँदैन र मिल्दैन । दीर्घकालीन योजना निर्माण र कार्यान्वयनको क्षमता राख्ने बाबुरामले अब नेपालजस्तो गरीब मुलुकलाई सम्पन्न र आत्मनिर्भर बनाउन सक्ने विचार र सोको कार्यान्वयन गर्न सक्ने नयाँ पार्टी निर्माण गर्नुपर्दछ । जसले, सिद्धान्त एउटा र व्यवहार एउटा नगरोस् ।

विचारको रटान लगाएर देशलाई कंगाल बनाउनेलाई सबक सिकाउँदै सबै जनतालाई गोलवद्ध गर्दै उनी छिट्टै अगाडि बढ्ने विश्वाससहित, शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?