नेपाली चलचित्रका अहिलेका अधिकांश गीतमा कविराज गहतराजको कोरियोग्राफी देखिन्छ । लोकपि्रय नृत्य निर्देशक कविराजले काम गरेका थुप्रै चलचित्रका गीत हिट छन् । तर, कविराज चलचित्र क्षेत्रको गतिविधीबाट सन्तुष्ट छैनन् । कलाकारमा देखिने अव्यवसायिकता, निर्माताको कञ्जुस्याँइले उनलाई दिक्क लागेको छ । उनै कविराजसँग अनलाइनखबरका लागि विजय सुवेदी ‘आवाज’ले गरेको नृत्य संवाद :
१. नेपालको चलचित्र नृत्य कुन शैलीमा ढल्केको छ ?
चलचित्रको शैली भन्ने नै होइन, गीत व्यवसायिक चलचित्रमा हुन्छ । गीतमा स्टाइल नै हुँदैन । गीत मनोरञ्जनको लागि मात्र हो ।
२. नेपालमा ‘एवीसीडी’ जस्ता चलचित्र बनाउन संभव छ कि छैन ?
यस्तो चलचित्र बनाउन कतैबाट पनि संभव देख्दिन ।
३. आखिर हामीलाई के कुराले रोक्छ ?
हामी आफैमा त्यो स्थानमा छैनौ । हामी त्यो परिवेशमा पनि हुर्किएनौ । खुट्टा तान्ने प्रवृत्ती, अरुलाई गिराउने शैलीले यो संभव छैन । यहाँ एकले अर्कालाई साथ नै दिदैनन् ।
४. हामीसँग कलाकार, डान्सर नै छैनन् हो ?
यहाँ डान्सर नै छैनन् । डान्स गर्ने कलाकार त छन्, तर उनीहरु चलचित्रमा हिट छैनन् । विश्वमै चर्चित बनेका डान्सरहरु एउटै चलचित्रमा कोरस नाच्न पनि तयार हुन्छन् । तर, नेपालमा हिरोको पछाडि नाच्दा आफू सानो भएको महशुश गर्ने डान्सर छन् ।
उसले आफूलाई विश्वकै हिरो सोच्छ । सानो कुरामा घमण्ड गर्ने धेरै छन् । यसैले नेपालमा डान्सिङ चलचित्र बनाउने संभावना नदेखिएको हो ।
५. तपाई कोरियोग्राफी गर्दा के हेर्नुहुन्छ, गीत/कलाकार वा अरु केही ?
म चलचित्रको अवस्था, गीत कुन तरिकाको हो त्यो हेर्ने गर्छु । चलचित्रको कथा अनुसार कस्तो बनाउँदा राम्रो हुन्छ, त्यसलाई हेरिन्छ । अनी कलाकारले यस्तो स्टेप गर्न सक्छन् या सक्दैनन्, त्यो हेरेर तयार पार्छु ।
६. कोरियोग्राफरले निकालेको स्टाइल गर्न सक्ने नायक छन् नेपालमा ?
जुनसुकै स्टाइल गर्ने नायक नै छैनन् । डान्समा त्यस्तो कोही पनि छैनन् ।
७. नायिकामा को देख्नुहुन्छ, नाच्न सक्ने ?
नायिकामा प्रियंका कार्की र मेनुका प्रधान देख्छु ।
८. नेपाली नायक तथा नायिकाको कमजोरी के हो ?
नेपालका कलाकार व्यवसायिक भएनन् । एउटा चलचित्र खेल्ने वित्तिकै आफूलाई स्टार सोच्ने प्रवृत्ती छ । मनले चाह्यो भने गर्न सकिन्छ, तर चलचित्रप्रतिको चासो र चिन्ता नै भएन ।
९. कलाकारले चलचित्रका लागि नृत्य गर्न नसकेको हो ?
हामी वर्कशप केही गर्दैनौ । छायांकनमा पुगेपछि मात्र काम गर्छौ । यहाँ त कलाकारलाई कुन स्टेप सजिलो छ भनेर खोज्नुपर्छ ।
अलिकती नयाँ र गाह्रो स्टेप त नेपाली कलाकारले गर्न नै सक्दैनन् । नयाँ आउनेलाई चलचित्रको भाषा थाहा नै भएन, पुरानालाई नयाँ शैली नै थाहा भएन । झन्, ग्रुप गीतमा धेरै समस्या छ । सिनियरहरुलाई म सिनियर हुँ भन्ने घमण्ड भयो, नयाँलाई मलाई सबै आउँछ भन्ने भ्रम भयो । अहिले हामीले राम्रो स्टेप भन्दा नी सजिलो स्टेप गर्नुपर्ने अवस्था छ ।
१०. निर्माताले कञ्जुस्याँई गर्छन् कि स्वतन्त्र काम गर्न दिन्छन् ?
यहाँ त्यस्ता धेरै छन्, जसले गानाको स्केच तयार गर्दा धेरै कुरा सोच्छन् । तर, जब छायांकन स्थलमा पुग्छौ, पैसा खर्च गर्ने बेलामा पुरै संझौता गरिन्छ । नेपालमा चलेका ब्यानरको पनि यही समस्या छ । गफमा बलिउड स्तरका गीतको कुरा गरिन्छ, तर बनाउने बेलामा पुरै संझौता गरेर काम गर्नुपर्छ । मुख्य चलेका ब्यानरमा नै यही समस्या छ ।
११. गीत बजारमा आउँदा, एउटा कोरियोग्राफरले सोचेको भन्दै कती कमजोर भएर आउँछ ?
एक त हामीसँग गुणस्तर धेरै कम छ । कतीपय गीतमा त लाजमर्दो नै हुने अवस्था आएका छन् । केही गीतमा ५०-६० प्रतिशत देखिन्छ, धेरैमा त म १० प्रतिशत पनि देख्दिन ।
१२. सन्तुष्टी भएका गीतहरु के-के होलान् ?
पूर्ण सन्तुष्टी त म कुनै पनि गीतबाट छैन । तर, ‘तिमीलाई हात देउ, के म तिम्रो साथी बन्न सक्छु, तिमीसँगै, घन्टी बज्यो, डोला-डोला हातमा, झुकेका नजरले’ लगायतका गीतहरु मन पर्छन् ।
चलचित्र ‘लज्जा’का सबै गीतहरु राम्रा लाग्छन् । हिन्दी चलचित्र गरे, त्यसको गीत पनि राम्रो बनेका छन् । ‘ड्रिम्स’ चलचित्रका लागि माथिल्लो मुस्ताङ, पोखरामा गरेका गीतहरु खुबै राम्रो बनेका छन् ।
१३. कुन कलाकारसँग काम गर्न सजिलो लाग्छ ?
आर्यन सिग्देल, सविन श्रेष्ठ, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी सजिला छन् ।
१४. गाह्रो कुन कलाकारसँग लाग्छ ?
यस्ता त धेरै कलाकार छन् । उहाँहरु गर्न पनि नखोज्ने, उहाँहरुको कुरा मात्र धेरै सुनिदिनुपर्ने हुन्छ । उहाँहरुले आफूलाई फरक सोच्नुहुन्छ ।
१५. कोरियोग्राफीमा व्यवसायिकता छ ? प्रतिस्पर्धा पनि होला नि ?
व्यवसायिकता त छ, तर कसरी त्यसलाई लिने भन्ने हो । हामी आफू नै व्यवसायिक नभएकाले पनि हो । प्रतिस्पर्धा त बहुतै कम छ भन्दा हुन्छ । फेरि, यो कामलाई प्रतिस्पर्धाको रुपमा भन्दा पनि काम राम्रो गर्ने भन्ने बिषयमा हेर्न जरुरी छ ।
१६. पारिश्रमिक मागे अनुसार पाउनु हुन्छ त ?
पारिश्रमिक एकदमै कम छ । झन्, मागेको भन्दा झनै कम पाइन्छ । अहिले यसैको फाइदा उठाउँदै विदेशी चलचित्र नेपालमा आएका छन् । यिनीहरुलाई पारिश्रमिक कम दिएपनि हुन्छ भन्ने सोचेर विदेशी चलचित्र नेपालमा छायांकन हुन थालेका छन् ।
१७. एउटा फरक प्रश्न, राजेश हमालले किन चलचित्रमा नृत्य गर्न सक्नुभएन होला ?
पहिलो कुरा उहाँसँग समय नै भएन । दोश्रो कुरा, सबै कलाकारलाई नाच्न नै पर्छ भन्ने छैन । राजेश हमालसँग गीतलाई आफूमा ढाल्ने शैली भने छ । उहाँलाई थाहा छ नाच्न आउदैन भन्ने, तर नाच्नुपर्छ भन्ने सोच भने छ । भूवन केसीमा एउटा अदा थियो । अहिलेका कलाकारलाई त मेलोडी गीतमा स्माइल दिन पनि आउँदैन ।
१८. कुन कलाकारलाई कोरियोग्राफी गर्न मन छ ?
निरुता सिंहलाई थियो तर काम गर्न पाइन । विपना दिदीसँग पनि काम गर्ने मन थियो ।
१९. हाम्रो मुख्य कमजोरी के रह्यो त ?
हामीसँग सोच छ, मन छ तर मुख्य कुरा भनेकै इगो समस्या हो । यहाँ घमण्ड बढी छ । समस्या अरुमा मात्र होइन, ममा पनि छ । निर्देशक प्रदिप श्रेष्ठको सोच हलिउड भन्दा कम छैन, तर यहाँको स्तरले उहाँलाई पनि हाम्रै सोचमा ढालिदिएको छ ।
पहिले पनि यही ४० लाखमा चलचित्र बन्थे, अहिले पनि यही बजेटमा चलचित्र बनिरहेका छन् । त्यतीबेला नेपाली र हिन्दी चलचित्रको स्तर एउटै थियो । तर, बलिउडले विश्वव्यापी सोच्यो, हामी गाउँबाट शहरमा सोच्दै छौ । यो बिषय सबैलाई थाहा छ, तर यहाँ कोही पनि बोल्दैनन् ।
विदेशमा पुराना भएका चलचित्र बल्ल नेपालमा चल्छन् । हलमा चलाउने चलचित्रको सानो टीभीमा हेरेर कलर करेक्शन हुन्छ । गुणस्तरिय हल छै भनेर कम क्वालिटीमा चलचित्र बनाउने नै होइन । मैले दमौलीको हलमा ‘फास्ट एन्ड फ्यूरिसियस हेर्दा जुन क्वालिटी भेटे, त्यो क्वालिटी नेपाली चलचित्रको ट्रेलर हेर्दा भेटिन । हामीले हल झुर भयो भन्दै चलचित्रको क्वालिटी नै झुर बनाएका छौ ।
प्रतिक्रिया 4