२५ असोज, काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले सामान्य अवस्थाको भन्दा बढी तेल दिने भनेपछि सोमबार डेढसय भन्दा बढी नेपाली ट्यांकरहरु भारत पुगेका छन् । शनिबार लोडिङमा भएको अवरोध हट्ने जानकारी गराएको आइओसीका भारतस्थित विभिन्न डिपोमा तेल लिन ट्यांकरहरु पुगेका हुन् ।
आइओसीले प्रतिबद्धता अनुरुप लोडिङ दिएमा मंगलबार संख्या बढाएर ट्यांकर पठाउने निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए । ‘आज डेढसय भन्दा बढी ट्यांकर भारतका विभिन्न डिपोमा पुगेका छन् । कति भरिन्छन् हेर्न बाँकी छ,’ बरालले भने, ‘ट्यांकरमा लोडिङ बढाउने प्रतिवद्धता आएको छ । त्यसअनुसार लोडिङ भयो भने भोली -मंगलबार)थप ट्यांकर भारत पठाउँछौं ।’
आइओसीको रक्सौल बाहेक गोन्डा, बैतालपुर, बरौनी र सिलगुढी डिपोमा ट्यांकरहरु पुगेका हुन् । वीरगञ्ज नाकामा मधेसी मोर्चाको भारतीय पक्षको घोषित अवरोध नभएकाले त्यहाँबाट आयात-निर्यात सुचारु हुन सकेको छैन ।
आइतबार भारतको सिलगुढी र गोन्डा डिपोमा ४३ ट्यांकर तेल लोड भएका थिए । यसअघि डिपोमा पुगेका ट्यांकरमध्ये १० प्रतिशत मात्रै लोड दिने गरेकोमा आइतबार सार्वजनिक बिदा भएपनि दुई डिपोले २५ प्रतिशत ट्यांकरमा तेल लोड गरेका थिए ।
आइओसीले अघिल्ल्लो साता पनि तेल लोडिङ सामान्य बनाउने बताएपछि गएका ट्यांकर मध्ये दैनिक १० प्रतिशतलाई मात्र लोड दिएर झुक्याएको थियो । त्यस्तै हुनसक्ने भन्दै निगमले यसपाली केही ट्यांकर पठाएर पहिला प्रतिवद्धताको कार्यान्वयन हेर्न खोजेको छ ।
प्रतिक्रिया 4