४ कात्तिक, काठमाडौं । मुख्य पर्यटकीय सिजनमा रेष्टुरेन्टहरुले आफ्नो मेनुमा ५० प्रतिशत बढी कटौती गरेका छन् । भारतीय नाकाबन्दीका कारण ग्याँसको अभाव भएपछि रेष्टुरेन्टहरु सिजनमै मेनुमा कटौती गर्न बाध्य भएका हुन् ।
नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले संशोधनका लागि दबाव दिन अघोषित नाकाबन्दी गरेको छ । भारतले अत्यावश्यक वस्तु पेट्रोलियम पदार्थको आपूर्ति राकेर नेपालमा चरम अभाव सिर्जना गरिदिएको छ ।
महिना दिनदेखि ग्याँसको आपूर्ति ठप्प भएपछि कतिपय रेष्टुरेन्ट बन्द भइसकेका छन भने कतिपय रेष्टुरेन्टले मेनुमा व्यापक कटौती गरेका छन् । मेनुमा कटौती नगर्ने रेष्टुरेन्टहरुले मूल्य बढाएको देखिन्छ । यो क्रम बढ्दो अवस्थामा रहेको रेष्टुरेन्ट एन्ड बार एशोसियसन अफ नेपाल (रेवान)का अध्यक्ष प्रमोद जैसवाल बताउँछन् ।
ग्याँसको अभावले होटल तथा रेष्टुरेन्ट मात्र होइन, सर्वसाधरणको भान्छा समेत निभिसकेको छ । अहिले राजधानीका धेरै परिवारले हिटरमा खाना पकाउन सुरु गरिसकेका छन् । ग्याँस सकिएर दैनिक सयौं परिवारको चुल्हो निभ्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रमलाल महर्जनको अनुमान छ ।
केही होटल तथा रेष्टुरेन्टहरुले ग्याँसको विकल्पमा दाउरा प्रयोग गरिरहे पनि त्यो दीर्घकालिन हुने देखिदैन । राजधानीमा सामान्य उपभोक्ताले खाजा खाने ६० प्रतिशत भन्दा बढी खाजाघर बन्द भइसकेका छन् ।
सञ्चालनमा रहेका अधिकांश रेष्टुरेन्टले विहानको ब्रेकफाष्ट खुवाउन छाडिसकेका छन् । बेलुका पनि सबेरै रेष्टुरेन्ट बन्द गरेर व्यवसायीहरु घरतिर लाग्न थालेका छन् । रेष्टुरेन्टले खानका भेराइटी पनि धेरै घटाइसकेका छन् ।
‘अहिले रेष्टुरेन्टमा पुगेका ग्राहकले आफुले चाहेको खान पाउने अवस्था छैन’ ठमेलका एक रेष्टुरेन्ट व्यवसायीले भने- ‘अहिले हामीले मेनु ग्राहकको रोजाई अनुसार होइन, आफ्नो अनुकुल पस्किरहेका छौं ।’
राजधानीको पर्यटकीय गन्तव्य ठमेलमा सञ्चालित नाम चलेका रेष्टुरेन्टहरु समेत बन्द भइसकेको रेवान अध्यक्ष जैसवाल बताउँछन् । सञ्चालनमा रहेको केही होटल पनि ग्याँसको अभाव यथावत रहिरहेमा चाँडै नै बन्द हुने अवस्थामा पुगेको उनको भनाई छ ।
रेवान अध्यक्ष जैसवालले आफ्नो मेला रेष्टुरेन्ट पनि ग्याँसको अभावले बन्द हुने अवस्थामा पुगिसकेको गुनासो गरे । मेनुमा कटौती गरि दशैंसम्म जसोतसो रेष्टुरेन्ट चलाउने उनको योजना रहेको छ ।
ग्याँसको अभावले राती अवेरसम्म खुल्ने रेष्टुरेन्टहरु पनि चाँडै बन्द हुन थालेका छन् । यसले नेपाल भ्रमणमा आएका पर्यटकलाई समस्या परेको रेवान अध्यक्ष जैसवालले बताए । त्यसो त रेष्टुरेन्टमा खाना खाने नेपालीहरु समेत मारमा परेका छन् ।
साना ख्ााजा घरदेखि ठूला रेष्टुरेन्टसम्मले चिया तथा कफी पकाउन छाडिसकेका छन् । चियाको सट्टा कोल्ड डि्रंक्स पिउन रेष्टुरेन्ट सञ्चालक सिफारिस गर्न थालेका छन् । कतिपय रेष्टुरेन्टले चिया कफी पकाए पनि ग्राहकको मागअनुसार धेरै भैराइटी पकाउन नसकिने बताउँछन् ।
प्रतिक्रिया 4