८ कात्तिक, काठमाडाैं । विश्वचर्चित बेलायती फुटबल खेलाडी डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन् । व्यावसायिक फुटबलबाट सन्यास लिएको झण्डै दुइ वर्षपछि उनी सातदिने फुटबल अभियानका क्रममा नेपाल आउने भएका हुन् ।बेलायतबाट प्रकाशित सण्डे टाइम्सले जनाएअनुसार बेकह्याम सात दिनमा सातवटा महादेशका बेग्लाबेग्लै देशमा फुटबल खेल्ने तयारीमा छन् । जसमा एउटा मुलुक नेपाल पनि हो ।
बेकह्यामले नेपालसहित पपुवान्यूगिनी, ब्युनस आयर्स, जिबुटी, मायामी र अन्टार्क्टिकामा फुटबल खेल्नेछन् । अन्तिम खेल बेलायतको ओल्ड ट्राफोर्डमा खेल्नेछन् । यो म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान हो जहाँ उनले ११ बर्षसम्म व्यावसायिक फुटबल खेलेका थिए ।
युनिसेफका सदभावदूतसमेत रहेका बेकह्यामले सात दिनमा सातवटा महादेशमा फुटबल खेलेर युनिसेफका लागि रकम जुटाउन लागेका हुन् । उनले अघिल्लो बर्ष घोषणा गरेको आफ्नै परोपकारी संस्थाको नामसमेत सेभेन हो ।
बेकह्यामसँगै एउटा चलचित्रकर्मीहरुको समूह पनि हुने छ, जसले बीबीसी विश्वसेवा र बीबीसी १ का लागि झण्डै ९० मिनेट लामो वृत्तचित्र तयार गर्ने छ ।
‘मैले खेलकुदको, खासगरि फुटबलले मानिसको जीवनमा परिवर्तनकारी असर पारेको देखेको छु’ बेकह्यामले भने- ‘यो महायात्राले मलाई यो खेलेको सकारात्मक पक्षको प्रर्दशन गर्ने अवसर दिने छ ।’
बेकह्यामको यात्रा कहिले सुरु हुने र नेपालमा कहिले खेल हुने भन्ने स्पष्ट पारिएको छैन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले यसबारेमा संघलाई केही जानकारी नभएको बताए ।
प्रतिक्रिया 4