बार्सिलोना । गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आफ्नै कार्यालय स्थापना गरेको छ। स्पेनबासी नेपालीहरुको समस्यालाई सहज ढंगले समाधान गर्न संघले आफ्नै कार्यालय स्थापना गरेको हो। स्थापनाकालदेखि नै करिब ८ बर्ष लामो प्रयास पछि संघले बार्सिलोनाबाट कार्यालय संचालन गर्न सफल भएको छ। कार्यालय खोलेर यसलाई निरन्तरता दिन, निकै चुनौतीपूर्ण रहेकाले बिगतमा थुप्रै प्रयासहरु हुँदै आए पनि संचालन आउन भने सकेको थिएन।
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रका संयोजक कुल आचार्यले प्रमुख अतिथिको रुपमा सोमबार एक औपचारिक कार्यक्रम बीच कार्यालयको उदघाटन गरेका छन् । आफू युरोप संयोजक बनेलगत्तै, राष्ट्रिय समन्वय परिषद स्पेनको कार्यालय उदघाटन गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आचार्यले स्पेनमा दुतावास स्थापना हुनुपर्नेमा जोड दिए।
भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने तयारी
आचार्यले भने, ‘स्पेनमा नेपाली दुताबास अपरिहार्य छ,म तपाईहरुलाई वचन दिन्छु, मेरो बलबुताले भ्याएसम्म पहल गरिरहने छु।’ उनले दुतबासकै लागि संघको सातौ अधिबेशन काठमाडौमा चलिरहँदा परराष्ट्र सचिव र सहसचिवसँगको भेटवार्ताबारे पनि जानकारी गराएका थिए।
सहभागी धेरै बक्ताहरुले भारतको अघोषित नाकाबन्दीले देशमा ठूलो संकट परिरहेकाबेला एनआरएन मौन बसिरहेको भनी प्रश्न उठाएका थिए । तर, संयोजक आचार्यले भने, ‘यसको तयारी भईरहेको छ, हामी ७१ बटा मुलुकहरुवाट नै भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छौ ।’

कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै गैरआबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य एकराज गिरीले एनआरएनको कार्यालय स्थापनाले स्पेनबासी नेपालीहरु सबैलाई खुसी बनाएको बताए । संघका अध्यक्ष मुक्तबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्पेनस्थित संघ सस्थाका प्रतिनिधिहरुले बोलेका थिए।
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले स्पेनमा कार्यालय स्थापनाको लागि १ हजार ५ सय युरो, उपाध्यक्ष कुमार पन्तले १ हजार ५० युरो, सचिव अर्जुनकुमार श्रेष्ठले ९ सय ९९ युरो, युरोप संयोजक कुल आचार्यले १ हजार ५ युरो सहयोग गरेका छन् । कार्यालय संचालनका लागि हालसम्म ११ हजार १ सय ९९ युरो संकलन गरेको छ । स्पेनस्थित संघ संस्था र यहाँको नेपाली समुदायको सहयोगमा रकम संकलन भएको हो।
कार्यालय बनेपछि कस्तो फाइदा लिन सकिएला ?
एनआरएनको कार्यालयलाई ब्यबस्थितरुपमा संचालन गर्न सके एमआरपी राहादानी फारम भर्न, जानकारी दिन, आवश्यक कागज पत्रबारे परामर्श लिन सजिलो हुनेछ । कम्तिमा ६/६ महिनामा नेपाली दुतावासबाट घुम्ती टोली आउँदा समेत कार्यलयबाट नै काम अगाडि बढाउन सम्भव देखिन्छ।
नेपालबाट भर्खर स्पेन आएका नेपाली बालबालिकाहरुले स्पेनिस भाषा बोल्न नजान्ने, फेरि यतै जन्मेका नेपाली बालबालिकाहरुले नेपाली भाषा लेख्न र पढ्न नजान्ने हुँदा, नेपाली पाठशालालाई ब्यवस्थित गर्न कार्यालयले सजिलो बनाउने छ। यस्तै भर्खर स्पेन आएका नेपालीहरुलाई स्पेनिस भाषा सिक्ने थुप्रै ठाउँहरु भएपनि, नेपालीहरुबाट नै सिकाउने ब्यबस्था गर्न सके कार्यलय अझ प्रभाबकारी बन्न सक्छ।

एनआरएन बारेको अभियान प्रत्येकको घर घरमा पुर्याउन, पंजीकृत सदस्य बिस्तार गर्न, स्पेनमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्ने जस्ता कार्यलाई शुरु गर्न कार्यालयबाट काम गर्न सजिलो हुनेछ। यस्तै दुतावाससँग सम्पर्क गरी आईपरेका समस्याहरुको समाधान गर्न, स्थानीय कलाकारहरुबाट संगीतबारे बालबालिकाहरुलाई प्रशिक्षण दिन पनि सहज हुने अनुमान छ।
सन् २००७ मा संघको स्थापना भएपनि संघको आफ्नो कार्यालय नहुँदा रेष्टुरेन्ट, बारहरुमा बैठक, छलफल हुँदै आएको छ।



प्रतिक्रिया 4